+
+

‘पिलरले बनेका बाहेकका घर ध्वस्त भए, पीडितहरु निकै कठिन अवस्थामा छन्’

सत्य बटाला, पत्रकार, आठविसकोट सत्य बटाला, पत्रकार, आठविसकोट
२०८० कात्तिक १८ गते १८:५८

शुक्रबार रातिको भूकम्पका कारण रुकुमपश्चिमको आठविसकोट नगरपालिकामा मात्रै ४३ जनाको मृत्यु भएको छ । अहिलेसम्म ६३ जना घाइते भएको खबर आएको छ, तीमध्ये ३ जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । केही घण्टा अघि प्रधानमन्त्री प्रचण्ड चढेर आएको हेलिकप्टरले थप २ जना घाइतेलाई उपचारका लागि लिएर गएको छ ।

नगरपालिकाका वडा नं. १४, १३ १२ र ११मा बढी क्षति पुगेको छ । यी ठाउँमा आधाभन्दा बढी घर पुरै क्षतिग्रस्त भएका छन् । केही घर चर्किएका मात्रै छन्, तर ती घरमा पनि जानसक्ने र बस्नसक्ने अवस्था छैन । पिलरयुक्त घरबाहेक अरु घरहरु काम नलाग्ने अवस्थामा पुगेको जस्तो देखिन्छ ।

भूकम्पपछि मानिसहरु उद्धारमा खटिए, पुरिएका मानिसहरुलाई निकाले । घाइतेलाई अस्पताल पुर्याए । बिहान भएपछि फेरि खोजतलास भयो । त्यसपछि शव संकलन गरेर राख्ने काम भयो । आठविसकोट नगर अस्पतालमा ४३ जनाको पोष्टमार्टमको काम भइरहेको छ ।

वडा-वडाबाट भत्किएका घरहरुको विवरण आउने क्रम छ । पुरानो ढुंगामाटोले बनेका घरहरु त बस्नसक्ने स्थितिमै देखिँदैन । पक्की घरहरु केही सग्ला देखिन्छन्, तीमध्ये पनि धेरै केही चर्किएका छन् ।

भत्किएका घरमा पुगेकाहरुको खोजतलास लगभग सकिएको छ, अब पुरिएकाहरुलाई निकाल्नुपर्नेहरुको संख्या करिव-करिव यस्तै होला । गम्भिर घाइतेहरुलाई सकेसम्म सुविधायुक्त अस्पतालमा लैजान पाए हुन्थ्यो भन्ने छ ।

भूकम्पबाट प्रभावितहरु निकै अन्यौल र कठिन अवस्थामा छन् । आफन्त गुमाएकाहरु अस्पताल पुगेका छन् । घाइतेका आफन्तहरु पनि त्यतै जाने भए । कैयौं पीडितहरु घर बाहिर खुला ठाउँमा बसेका छन् । उनीहरुले त्रिपाल खोजिरहेका छन् । राति भूकम्प आएकाले कुन सामान कता छन् थाहा छैन । खाने बन्दोबस्त कसरी गर्ने हो भन्ने थाहा छैन । बालबालिका, वृद्धवद्धा, सुत्केरी र गर्भवतीहरुलाई राति कसरी राख्ने भन्ने चिन्ता छ ।

जाजरकोट हुँदै आठविसकोटतर्फ आउने भेरी नदी करिडोर अन्तर्गतको रिग्मा भन्ने ठाउँमा पुल छ । भूकम्पले पुलमा धेरै नै क्षति पुर्‍याएको आशंकामा सुरक्षाकर्मीहरुले साना र हलुका सवारीसाधनहरु मात्रै ओहोरदोहोर गर्न दिएका छन् । ठूला गाडीहरु रोकिएका छन् । दाङ, सल्यान, कपुरकोट, रुकुम खलंगा हुँदै आउने बाटो भने अवरुद्ध छैन ।

अस्पतालमा स्वास्थ्यकर्मीहरुलाई भ्याइनभ्याइ छ । अरु जिल्लाहरुबाट थप स्वास्थ्यकर्मी झिकाउने कुरा आएको छ । घाइतेको संख्या बढ्ने भएकाले स्वास्थ्य सामग्री अभाव नहुन ध्यान दिनुपर्ने देखिन्छ ।

भोलि (आइतबार) नगरपालिकाले आकस्मिक बैठक डाकेको छ । संघसंस्थाहरु पनि राहत र सहयोगमा जुट्न थालेका छन् ।

(आठविसकोट नगरपालिकाका पत्रकार बटालासँगको कुराकानीमा आधारित)

फोटो सौजन्य- सत्य बटाला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?