+
+

३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २० पुसदेखि सुर्खेतमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १८ गते १७:०८

१८ कात्तिक, काठमाडौं । ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आगामी २० पुसदेखि सुर्खेतमा हुने भएको छ ।

नेपाल भलिबल संघले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस २० देखि २५ गतेसम्म सुर्खेतमा हुने जानकारी गराएको छ ।

सुर्खेतमा बन्दै गरेको कभर्ड हल तयार नभएकाले आउटडोरमै प्रतियोगिता गरिने संघले जनाएको छ ।

कर्णालीमा २५ वर्षपछि राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो । यसअघि चौथो राष्ट्रिय खेलकुद अन्तर्गत भलिबल प्रतियोगिता २०५५ सालमा सुर्खेतमा भएको थियो ।

नेपालको विभिन्न जिल्ला र प्रदेशस्तरमा रहेका नवप्रतिभावान खेलाडीहरुको पहिचान गरी राष्ट्रिय टिम निर्माण गर्ने उद्देश्य रहेको संघले जनाएको छ ।

नेपाल भलिबल संघको आयोजना तथा कर्णाली प्रदेश भलिवल संघको व्यवस्थापनमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमको सहभागिता छ ।

प्रतियोगितामा खेलाडी र अफिसियलको सबै खर्च कर्णाली प्रदेश भलिबल संघले व्यवस्थापन गर्ने संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।

नेपाल भलिबल संघले उक्त प्रतियोगिता सञ्चालन गर्न बल, नेट र नगद दुई लाख रुपैयाँ कर्णाली प्रदेश भलिबल संघलाई सहयोग गर्ने संघले जनाएको छ । यस प्रतियोगिताका लागि कर्णाली प्रदेश सरकारले ४४ लाख ५६० र कर्णाली प्रदेश खेलकुद परिषदले ५ लाख रुपैयाँ सहयोग गर्ने कर्णाली प्रदेश भलिबल संघका उपाध्यक्ष ईश्वर शाहीले जानकारी दिए ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पाउनेछन् । विधागततर्फ उत्कृष्टलाई ५/५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।

यस प्रतियोगिताबाट उत्कृष्ट २५ खेलाडी छनौट गरी नयाँ राष्ट्रिय टिम निर्माण गरिने भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

राष्ट्रिय महिला भलिबल प्रतियोगिता पनि कुनै अर्को प्रदेशमा गर्न छलफल भईरहेको संघका सचिव रोशन श्रेष्ठले बताए ।

भूकम्प प्रभावितलाई ५० हजार सहयोग

नेपाल भलिबल संघले शुक्रबार राति गएको जाजरकोट भूकम्पका प्रभावितका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

संघका महासचिव रोशन श्रेष्ठले भूकम्प पीडितका लागि मुख्य राहत कोषमा ५० हजार प्रदान गर्ने बताए । यसअघि बझाङमा भूकम्प जाँदा पनि २५ हजार संघले सहयोग गरेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?