+
+

अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते ९:४०

१९ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छ ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि तथा घरजग्गा कारोबार पनि लयमा फर्कंदै गरेको बताए ।

अर्थमन्त्री महतका अनुसार प्राकृतिक प्रकोप, महामारीलगायतका समस्या बेलाबेलामा आएपनि तिनलाई सम्बोधन गर्दै आर्थिक वृद्धिदर बढाउनु पर्ने बताए ।

उनले नेपालको अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौंदेखि समस्या थपिंदै जाँदा थप समस्या भएको दाबी गरे ।

‘पर्यटक आगमन र रेमिट्यान्स बढेको छ । घरजग्गामा एकैपटक धेरै लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने, ‘त्यसपछि लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो । अहिले समाधान भैसकेको छ ।’

महतले बैंकहरुको ब्याजदर घट्दै गएको पनि बताए । ‘बैंकहरुको ब्याजदर क्रमशः घट्दै गएको छ,’ उनले भने ।

अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनु पर्ने महतको भनाइ छ ।

अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक प्रक्षेपणले पनि नेपालले ४ प्रतिशत बढी आर्थिक वृद्धि हासिल हुने देखाएको बताए ।

‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो छ,’ अर्थमन्त्री महतले भने, ‘विश्व बैंक, एडीबीसहित बेलायत लगायत देशका निजी क्षेत्र नेपालप्रति सकारात्मक छन् ।’

उनले आगामी फागुन–चैतमा वैदेशिक लगानी ल्याउन लगानी सम्मेलन गर्ने बताए । निजी क्षेत्र, गैरआवासीय नेपाली संघसँग समन्वय गरी विदेशी लगानी ल्याउने गरी सम्मेलन गर्ने उनको दाबी छ ।

महतका अनुसार नेपालका मुख्य ४ वटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छन् । ‘२–३ मेगावाटबाट सुरु भएको जलविद्युत् क्षेत्रमा अहिले निजी क्षेत्र एक्लै २–३ सय मेगावाटसम्म बनाउन सक्ने बनिसकेको छ,’ उनले भने ।

अर्थमन्त्री महतका अनुसार जलविद्युतमा एक प्रकारको इकोसिस्टम बनिसकेको छ र १.७ अर्ब रुपैयाँ लागत भएको अपर अरुण जलविद्युत् आयोजना अघि बनाउन विश्व बैंकले तत्परता देखाएको छ ।

‘सूचना प्रविधिको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ,’ उनले भने, ‘आईटी क्षेत्रलाई प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा सेन्टर खोलोस् भन्ने सरकारको चाहना छ ।’

नेपालको लगानी र आर्थिक विकासको लागि पर्यटन क्षेत्र अर्को विकल्प रहेको महतको भनाइ छ ।

‘अर्थचित्र’ जर्नल विमोचन

१५ औं वार्षिकोत्सवको अवसरमा नाफिजको वार्षिक प्रकाशन ‘अर्थचित्र’ जर्नल विमोचन भएको छ । वार्षिकोत्सवको अवसरमा ‘प्लानिङ २.०’ थिममा प्रकाशित वार्षिक जर्नल विमोचन भएको हो ।

जर्नलको विमोचन अर्थमन्त्री महत, नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसहित निजी क्षेत्रका छाता संगठन नेतृत्वले संयुक्त रुपमा गरे ।

जर्नलमा ३० भन्दा बढी अनुसन्धान र विश्लेषणात्मक लेख समावेश गरिएको छ । नाफिज जर्नलको यो तेस्रो संस्करण हो ।

योजना निर्माण कसरी गर्ने भन्ने सुझावसमेत समेटिएको जर्नलले नेपालको योजनामा पुनरवलोकन र क्रान्तिकारी परिवर्तन आवश्यक रहेको औंल्याएको नाफिज अध्यक्ष मोदनाथ ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?