+
+
कृषिमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम :

प्रशिक्षार्थी कामदार दक्षिण कोरिया पठाउने ढोका खुल्दै

नवीन ढुंगाना नवीन ढुंगाना
२०८० कात्तिक २१ गते १५:२३

२१ कात्तिक, काठमाडौं । सरकारले दक्षिण कारियामा कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थी पठाउने भएको छ ।

१६ कात्तिकमा नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र विद्यार्थी पठाउने विषय समेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

हाल इजरायलमा कृषि स्नातक विद्यार्थी जाने गरेका थिए । सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी गत महिना हमास विद्रोहीको निशानामा परी ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् ।

इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको हो ।

‘कृषि विषयमा स्नातक सकेका नेपाली विद्यार्थी र युवा कृषि उद्यमीलाई बढीमा २ वर्षसम्मका लागि कृषिमै सिक्दै र कमाउँदै कार्यक्रममा लैजान सक्ने विषय दुई देश बीच भएको १६ कात्तिकको समझदारीमा समेटिएको छ,’ समझदारीको खाका बनाएका मन्त्रालयका उपसचिव डालप्रसाद पुडासैनीले भने, ‘इजरायलमा यस्तो कार्यक्रम प्रभावित भएपछि नयाँ विकल्पको रुपमा दक्षिण कोरियालाई लिइएको हो । समझदारीको कार्यान्वयन सुरु भएपछि नेपालीहरु दक्षिण कोरिया जान सक्छन ।’

मन्त्रालयकाअनुसार दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा दुई प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ ।

जसमा नेपालमा नयाँ ढंगबाट कृषि उद्यममा काम गरिहेका युवा कृषि उद्योगी र कृषिमा स्नातक पढेका विद्यार्थी रहेको मन्त्रालयले जनाएको छ ।

कृषिमा दक्षिण कोरियाले गरेको विकासबाट सिकेर नेपालमा यसको प्रयोगका लागि यस्तो कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।

प्रारम्भिक सहमतिमा समझदारी गरेको दक्षिण कोरियाले यसको विस्तृत सम्झौता भने केही समय पछि गर्नेछ ।

कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि जानेहरुको प्रक्रिया यसअघि कोरियाले लैजाने गरेको ईपीएस प्रणाली भन्दा फरक हुने मन्त्रालयले जनाएको छ ।

‘नेपालले प्रस्ताव गरेको खाकामा दक्षिण कोरियाका कृषि, खाद्य तथा ग्रामीण मामला मन्त्री चुङ्ग व्हाङ्गक्वुन सहमत भएपछि दुई देश बीच सहमति भएको हो,’ उपसचिव पुडासैनीले भने, ‘विस्तृत खाका र थप स्पष्टीकरण बिस्तारै हुनेछ ।’

१ कात्तिकमा कृषिमन्त्रि डा. वेदुराम भुसालले दक्षिण कोरियाका समकक्षीसँग मन्त्रालयमा दुई देशबीचको समझदारीको ८ वटा बुँदामा सम्भौता भएको थियो ।

जसअनुसार कृषि तथा पशुपन्छी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोगलाई सुदृढ ढंगले अगाडि बढाउने र कृषि तथा पशुपन्छी क्षेत्रको अध्ययन, अनुसन्धान तथा विकास, पूर्वाधार विकास र क्षमता अभिवृद्धिमा दुई देश बीचको सहयोग र सहकार्यका विषय छन् ।

नेपाल कृषि अनुसन्धान परिषद् र कोरियाको कृषि अनुसन्धान परिषद् बीचको सहकार्यमा कृषिक्षेत्रको अनुसन्धानका कार्यहरु अगाडि बढाउने अवसर सृजना गरिने, २ दुई देशका कृषि विश्वविद्यालयहरुको सहकार्यमा कृषि अनुसन्धान तथा अध्ययनका कार्यहरु अगाडि बढाउने उल्लेख छ ।

दुई देश बीचको सहयोग र सहकार्यमा कृषि तथा पशुपन्छी विकासको क्षेत्रमा विषेश गरी संरक्षित कृषि, उच्च मूल्य जाने कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरण, दुग्ध व्यवसाय लगायतका क्षेत्रमा थप कार्य गर्न सकिने समझदारीमा भनिएको छ ।

कृषि पूर्वाधारहरुको विकास, तालिम केन्द्र निर्माण, कृषि बजार विकासमा सहकार्य गर्न सकिनेछ ।

कृषि क्षेत्रसँग सम्बन्धित प्राविधिक मानव संशाधन, युवा उद्यमीहरुको क्षमता अभिवृद्धि गर्ने, नेपाली कृषि स्नातक विद्यार्थाी तथा युवा कृषकहरुको कोरिया राम्रो गन्तव्य बनाउने, नेपालमा विशेषगरी कृषि र पर्यटनको विशेषज्ञता तथा सहयोग समझादारीमा उल्लेख छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?