+
+

विज्ञान प्रविधिको विकासमा सहयोग गर्न उत्सुक छु : प्रधानमन्त्री प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २३ गते ११:१८

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान -नाष्ट)को ४६ औं प्राज्ञसभाको बैठकलाई आज सम्बोधन गर्दै सो धारणा राखेका हुन् ।

आजको युग विज्ञान, प्रविधि र नवप्रवर्तनको युग भएकाले देशलाई समुन्नत बनाउन, आर्थिक विकास निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहन्छ भन्ने कसैको विमति नरहने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नाष्ट स्थापनाको ४० वर्षमा जम्माजम्मी ४ अरबको बजेटबाट गरिएका विज्ञान, प्रबिधि र प्रवर्धनात्मक कार्यहरू प्रशंसनीय भएको भन्दै उनले तर पर्याप्त नभएको बताए । राज्यको ध्यान अझै विज्ञान र प्रविधिमा केन्दि्रत हुन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्राज्ञिकहरूको सुझाव र सल्लाह एवं बन्दै गरेको विज्ञान, प्रविधि र नवप्रवर्तन सम्बन्धी विधेयकअनुसार देशको रूपान्तरका लागि हातेमालो गर्दै काम गर्दै जान निर्देशित गर्दछु । देशमा विज्ञान तथा प्रविधिको विकासका लागि हरतरहले सहयोग गर्न उत्सुक रहेको पनि यहाँहरूलाई जानकारी गराउँछु ।’

नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकषिर्त गर्न नाष्टले गरेको सत्प्रयासको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गरे । ‘विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्धन गर्दै जे-जति गर्नुभएको छ, नास्ट र यसका सहयात्री संस्थाहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने देखिएकोले त्यसतर्फ सचेत भई अगाडि बढ्न पनि ध्यानाकर्षण गराए ।

नाष्ट स्थापनाको चालिस वर्ष भइसकेको भन्दै उनले योजनावद्धरूपमा अवधिलक्षित कार्यक्रम तर्जुमा गरी कार्यान्वयनतर्फ अगाडि बढ्न पनि उनले सुझाव दिए । प्रधानमन्त्री प्रचण्डले भने, ‘वैज्ञानिकहरूको मनोबल र क्षमता बढाउँदै युवा वैज्ञानिकहरूलाई काम गर्ने स्थलमा उत्प्रेरणा थप्दै नास्ट स्थापनाको ४० वर्ष पार गरिसकेको छ । यस अवधिमा देशमा विज्ञान तथा प्रविधिको विकास गर्नमा के-कति योगदान नास्टले दियो । अब कुन-कुन क्षेत्रमा केन्दि्रत भई योजनावद्धरूपमा अवधिलक्षित कार्यक्रमका तर्जुमा गरी कार्यान्वयनतर्फ पनि तपाईंहरूको ध्यान जानेछ भन्ने विश्वास लिएको छु ।’

नेपाल अन्तरीक्ष युगमा प्रवेश गर्नुपर्ने आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाल सरकारले नास्टमार्फत नानो स्याटेलाइट प्रक्षेपण गरिसकेको र भारतीय अन्तरीक्ष अनुसन्धान संस्था -इस्रो) को सहकार्यमा मुनाल स्याटेलाइट प्रक्षेपण गर्ने तयारीमा युवा वैज्ञानिकहरूलाई समेट्दै अन्य संघ/संस्थासँग सहकार्य गर्दै वैज्ञानिकहरू जुटेको थाहा पाउँदा खुसी लागेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?