+
+

झलनाथलाई प्रचण्डको आश्वासन- सुदूरपश्चिमको विवाद आज साँझसम्म मिलाउन कोसिस गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते ९:५९

४ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सुदूरपश्चिमको मुख्यमन्त्री पहिलो चरणमै आफूहरुलाई नदिए सत्ता गठबन्धनमा संकट आउने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर खनालले उक्त चेतावनी दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने आज साँझसम्म ‘मिलाउने’ आश्वासन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेता खनाल आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले सत्ता गठबन्धनमा भएको सहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउनुपर्ने बताएका थिए । गठबन्धनको सँस्कृति र मर्मअनुसार अघि बढ्न आग्रह गर्दै झलनाथले ‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने कुराले हेपिएको महसुस भएको बताएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टीभित्रको विवादले समस्या सिर्जना गरेको भन्दै एकीकृत समाजवादीलाई चिढ्याउने मनसाय नभएको बताएका थिए । उनले समस्या समाधानका लागि आफू क्रियाशील रहेको बताएका थिए । ‘सुदूरपश्चिमको विवाद आज बेलुकासम्म मिलाउने कोसिस गर्छु, तपाईंले पनि आफ्नो पार्टीभित्र मिलाउन पहल गर्नुस्,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

केन्द्रमा एमाले–माओवादीसहितको सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशमा भने नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षसँग सहकार्यको हात फैलाएपछि सत्ता गठबन्धनभित्र तरंग सिर्जना भएको छ ।

एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीले नाउपाको रेशम पक्षका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति गरेका छन् । सो सहमति अनुसार लक्ष्मणकिशोरले आइतबार नाउपाका ७ जना, कांग्रेसका १८ जना र एकीकृत समाजवादीका ४ जना गरेर २९ जना प्रदेश सभा सदस्यको समर्थन आफूलाई भएको भनेर मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

यसैगरी नाउपाकै रञ्जिता श्रेष्ठ चौधरी पक्षका अर्का प्रदेश सभा सदस्य कैलाश चौधरीले पनि नाउपाका ७, एमालेका १०, माओवादी केन्द्रका १० र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी गरी २८ जनाको समर्थन आफूलाई भएको भन्दै आइतबार नै मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

नाउपाबाटै दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखले परामर्श गर्ने भन्दै निर्णय लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?