+
+

रुविनाको अधुरो सपना

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक २४ गते ९:१८
रुविना क्षेत्री

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय महिला क्रिकेट टिमकी पूर्व कप्तान रुविना क्षेत्री बेलबासे भन्ने गर्थिन् ‘आफ्नै कप्तानीमा नेपाललाई विश्वकपमा पुर्‍याउन मन छ ।’

नेपाली महिला क्रिकेटको सुरुवात जसरी भएको थियो त्यसरी नै विकास हुँदै गएको भए सायद रुविनाको सपना पनि पूरा हुन्थ्यो । तर अब उनको त्यो सपना भने अधुरै रहेको छ । एक दशक भन्दा बढी समय नेपाली महिला टिमको नेतृत्व गरेकी रुविनाको स्थानमा नेपाल क्रिकेट संघ क्यानले बिहीबार इन्दु बर्मालाई नयाँ कप्तान बनाएको छ । कम्तीमा उनले खेलाडीको रुपमा भने विश्वकप पुग्ने मौका बाँकी नै छ ।

रुविना र इन्दु दुवै अलराउण्डर भूमिकामा खेल्छन् । दुवैले राष्ट्रिय टिममा धेरै वर्ष सँगै खेलेका छन् । यस्तै घरेलु क्रिकेटमा पनि यी दुईले सँगै खेलेका छन् ।

तर अहिले २६ वर्षीया इन्दुले ३० वर्षीया रुविनालाई कप्तानी पदमा ‘रिप्लेस’ गरेकी छन् । हङकङमा यही नोभेम्बर १५ देखि सुरु हुने चार देशीय महिला टी-२० आई सिरिज अघि क्यानले कप्तान परिवर्तन गरेको हो । ‘नेपाली महिला टिमको नयाँ नियुक्त भएकी कप्तान इन्दु बर्मालाई बधाई छ । तपाईंको नेतृत्वमा टिमले राम्रो प्रदर्शन गर्ने क्यानको विश्वास छ,’ क्यानले बिहीबार इन्दु बर्मालाई नयाँ कप्तानको रुपमा सामाजिक सञ्जालमा लेखेको छ ।

यस्तै ११ वर्ष कप्तानी गरेकी रुविनाको योगदानलाई कदर गर्दै क्यानले धन्यवाद पनि भनेको छ । ‘नेपाली राष्ट्रिय महिला टोलीको ११ वर्ष लामो नेतृत्व गरेकोमा पूर्व कप्तान रुविना क्षेत्रीप्रति हामी आभार व्यक्त गर्दछौं । नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको वरिष्ठ सदस्यको हैसियतमा तपाईंले समान योगदान दिनुहुनेछ भन्ने अपेक्षा राख्दछौं,’ क्यानले सामाजिक सञ्जालमै लेखेको छ ।

इन्दु बर्मा

रुविना सन् २०१२ मा नेरी थापालाई रिप्लेस गर्दै राष्ट्रिय टिमको कप्तान बनेकी थिइन् । तर उनलाई इन्दुले रिप्लेस गर्दा भने उनी अल स्टार्स टी-२० सिरिज खेल्न अर्की अलराउण्डर सीता राना मगरसँगै बिहीबार बिहान हङकङ प्रस्थान गरेकी थिइन् ।

मेरो योगदान टिमलाई निरन्तर रहनेछ : रूविना

कप्तान परिवर्तन भएपछि रुविनाले शुक्रबार बिहान फेसबुकको स्टोरीमा आफ्नो भनाइ सार्वजनिक गरेकी छन् । ‘विगत ११ वर्षदेखि अनवरत रुपमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको नेतृत्व गर्ने अवसर प्रदान गर्नुहुने नेपाल क्रिकेट संघ, यो यात्रामा साथ दिनुहुने सम्पूर्ण महिला क्रिकेट खेलाडीहरु, समर्थक, मिडियाकर्मी, शुभचिन्तकप्रति म हार्दिक आधार व्यक्त गर्दछ’, उनले लेखेकी छन्, ‘मेरो हौसलामा कमी आउन नदिन लगातार फोन, म्यासेज गर्नु हुने परिवार, साथीभाइ र शुभचिन्तकप्रति कृतज्ञ छु । तपाईं सम्पूर्णको साथ सहयोग आगामी दिनमा समेत निरन्तर प्राप्त गर्नेछु भन्नेमा विश्वस्त छु ।’

साथै उनले सिनियर खेलाडीको रुपमा टिममा योगदान गरिरहने भन्दै नयाँ कप्तान र उपक्तानलाई बधाई समेत दिएकी छन् । ‘राष्ट्रिय महिला क्रिकेट टिमको सिनियर खेलाडीको रुपमा मेरो योगदान टिमलाई निरन्तर रहनेछ । नवनियुक्त राष्ट्रिय मिहला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा र उपकप्तान बिन्दु रावललाई हार्दिक बधाई व्यक्त गर्दछु ।’

सायद रुविनालाई आफू कप्तानबाट हट्दैछु भन्ने पहिल्यै थाहा थियो होला । त्यसैले क्यानले चारदेशीय सिरिजका लागि २२ खेलाडीलाई प्रशिक्षणमा बोलाउँदा कप्तान तोकेको थिएन ।

रुविनाले सन् २०१९ मा चीन विरुद्ध टी-२० आईमा डेब्यु गरेयता नेपालले खेलेको सबै ४६ टी-२० आई खेल खेलेकी छन् । जसमा उनले ३८ इनिङ्स ब्याटिङ गर्दा एक अर्धशतकसहित ५०२ रन बनाएकी छन् । उनले २०२१ मा कतार विरुद्ध ५० रन बनाएकी थिइन । जुन उनको उच्च स्कोर हो ।

यस्तै बलिङमा उनले ३३ विकेट लिएकी छन् । सन् २०१९ मा इन्डोनेसिया विरुद्ध ३.१ ओभरमा २ मेडन राख्दै २ रन मात्र खर्चेर ४ विकेट उनको उत्कृष्ट बलिङ प्रदर्शन हो ।

रुविनाको कप्तानीमा नेपालले एसिया कप क्रिकेटदेखि वानडे र टी-२० दुवै फर्म्याटको विश्वकप छनोट खेलेको थियो । तर उनकै कप्तानीमा नेपाल विश्वकप भने पुग्न सकेन । नेपालले एसिया छनोट नै पार गर्न सकेको छैन ।

चमत्कारी ह्याट्रिक

रुविनाले सन् २००९ को एसीसी महिला टी-२० च्याम्पियन्सिपबाट नेपालको सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् । १६ वर्षको उमेरमै डेब्यु गर्ने क्रममा उनले अदभूत बलिङ गर्दै नेपाललाई जित दिलाइन् ।

त्यस खेलमामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुर विरुद्ध २० ओभरमा ९ विकेट गुमाएर ७९ रन बनाएको थियो ।

जवाफमा सिंगापुरलाई जितका लागि अन्तिम ओभरमा २ रन आवश्यक थियो र ५ विकेट हातमा थियो । यस्तो अवस्थामा कसलाई बलिङ गर्न दिने भनेर कप्तानलाई चिन्ता पर्छ । तात्कालीन कप्तान नेरी थापाले उनै युवा रुविनालाई बल थमाइन् ।

सुरुमा त के गर्ने रुविनालाई थाहा थिएन । त्यही एक ओभरले रुविनाको खेल जीवन नै परिवर्तन गरिदियो भने उनैले खेलको नतिजालाई पनि टर्न गराइन् ।

बलिङ गर्दै रुविना क्षेत्री

रुविनाले उक्त ओभरमा ह्याट्रिकसहित लगातार ५ विकेट लिइन् । उनले दिएको एक वाइड रनले मात्र स्कोर टाई भएको थियो । तर पछि बल आउटका आधारमा नेपालले खेल जित्यो ।

रुविना नेपाली क्रिकेट इतिहासमै ह्याट्रिक विकेट लिने पहिलो खेलाडी समेत बनिन् । त्यो क्षण सम्झँदा रुविना अहिले पनि रोमाञ्चित हुन्छिन् । ‘डेब्यु खेल त्यसमा पनि त्यस्तो खालको प्रदर्शन । त्यो क्षण म कहिल्यै बिर्सन्नँ । कप्तानले बल हातमा थमाउँदा के गर्ने पत्तो थिएन,’ उनले भनिन् ।

तर जसै उनले सिंगापुरका ब्याटरको खुट्टामा हेरिन त्यतिबेला खुट्टा काँपेको देखिन् । त्यसैले रुविनामा विश्वास जाग्यो । त्यही नर्भस भएको मौकामा रुविनालाई पनि विकेट लिन सके केही गर्न सकिन्छ भन्ने लाग्यो । अनि कप्तानसँग छलफल गरेर क्लोज फिल्ड लगाइन् । आफ्नो रणनीतिमा रुविना सफल भइन् ।

पहिलो बल उनले डट फालिन् । दोस्रो र तेस्रो बलमा लगातार विकेट लिइन् । चौथो बलमा उनले वाइड फालेपछि खेल बराबरी भयो । तर फेरि बलिङ गर्दा चौथो बलमा विकेट लिइन् । अनि त्यसपछिका दुई बलमा पनि लगातार विकेट लिएर उनले डेब्यु खेलमै ५ बलमा ह्याट्रिकसहित ५ विकेट नै लिने दुर्लभ कीर्तिमान रचिन् ।

पहिलो खेलमा कीर्तिमान रचेकी रुविनाको लागि नेपालको जर्सीमा अन्तिम खेल कहिले हुन्छ थाहा छैन । तर उनी हङकङमा चार देशीय टी-२० सिरिज खेल्ने टोलीमा भने छिन् ।

केही महिनाअघि रुविनाले टी-२० विश्वकप एसिया क्षेत्रको छनोट खेल्न जानुअघि पनि सन्यासको संकेत गरेकी थिइन् । उनले डेढ दशक क्रिकेट खेलिसकेको परिवारको बारेमा सोच्ने बेला भएको र आफूले सक्नेजति प्रदर्शन गर्ने बताएकी थिइन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?