+
+

भूकम्प प्रभावित क्षेत्रमा मंसिरभित्र ६० हजार अस्थायी आवास बनाउनुपर्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १५:२६

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा मंसिरभित्र ५०–६० हजार अस्थायी आवास बनाउनुपर्ने बताएका छन् ।

कांग्रेस महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले जाजरकोट र रुकुम पश्चिमको भ्रमणपछि शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जसमा जाडो सुरु हुनुअघि नै भूकम्प पीडितलाई जाडो छेक्ने अस्थायी आवासमा राख्नुपर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री भेटेपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले मंसिर महिनाभित्र ५०–६० हजार अस्थायी आवास बनाउन नसके त्रिपालले मात्र पुसको जाडो छेक्न नसक्ने बताए ।

‘त्यो अस्थायी टहरा बनाउने काम हामीले मंसिरको महिनाभित्र यदि सम्पन्न गर्न सकेनौँ भने पुसको जाडो यो त्रिपालले थेग्नै सक्दैन । र, यसले यति ठूलो भयावह स्थितिको सिर्जना गर्छ’, उनले भने ।

भत्केकै घरको धेरैजसो सामान प्रयोग गरेर र केही सामान बजारमा किनेर ३५ हजार रुपैयाँसम्ममा जाडो छेक्ने अस्थायी आवास बनाउन सकिने आफूहरुले जाजरकोटको नलगाड र खलंगामा गरेको प्रयोगले देखाएको पनि थापाले बताए ।

‘बजारबाट किनेको सामग्री र मिस्त्रीलाई दिने श्रमको रुपैयाँ जोड्दै गर्दाखेरी करिवकरिव ३४/३५ हजार रुपैयाँको सेरोफेरोमा ६ घण्टा भित्रमा एउटा अस्थायी २ कोठे टहरा बनाउन सकिने रहेछ । जुन टहराले कम्तीमा यो हिउँद त थेग्छ, थेग्छ । त्यस्तै पर्दाखेरि वर्षा पनि थेग्न सक्छ । यो अहिले बनाइएन भने त्यसपछि यसलाई कसैले पनि थेग्न सक्दैन’, महामन्त्री थापाले भने ।

उनले तिहारकै बीचमा मन्त्रिपरिषदबाट भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरिएको बताए ।

त्यसका लागि भूकम्प पीडित परिवारलाई सिधै रकम दिने र बजारमा जस्तापाता जस्ता अत्यावश्यक सामग्रीको अभाव नहुने सुनिश्चित गर्नुपर्ने थापाको भनाइ छ ।

भूकम्प प्रभावित क्षेत्रमा नेपाली कांग्रेसले एक हजार अस्थायी टहर बनाउने पनि उनले बताए । घर बनाउन दक्ष र अर्धदक्ष जनशक्तिसहित पार्टीको टोली मंसिर पहिलो साता त्यसतर्फ जाने उनले जानकारी दिए । ‘मंसिर पहिलो साता नै हजार घर बनाउनका लागि पार्टीका साथीहरु यहाँबाट खटिएर जानुहुन्छ’, महामन्त्री थापाले भने ।

महामन्त्री थापाले भत्किएका विद्यालयमा मंसिरभित्रै अस्थायी सिकाइ केन्द्रहरु बनाउनुपर्ने पनि बताए । ‘हामीले मंसिरभित्र बनाएर तुरुन्त पढाइ सञ्चालन गर्‍यौं भने केटाकेटीहरुको अवस्था पनि सामान्य अवस्थामा फर्किन सक्छ’, उनले भने, ‘स्वास्थ्य संस्थाहरु बनाउने कुरामा पनि तत्काल काम होस् भन्ने कुरा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?