+
+

गुल्सन झा : पर्फेक्ट अलराउण्डर

‘म त्यो वर्ड (अलराउण्डर)का लागि मिहिनेत गरिरहेको छु । देशका लागि अझै धेरै म्याचहरु सिंगल ह्यान्डल्ली जिताउनु छ ।’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०८० कात्तिक २६ गते ७:००

२६ कात्तिक, काठमाडौं । नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा गुल्सन झा ‘बेस्ट नेपाली प्लेअर’ बने । घरेलु मैदानमा भएको एसिया छनोटमा यूएईलाई हराएर फाइनलमा पुगेसँगै नेपालले विश्वकपमा स्थान बनाएको थियो । फाइनलमा भने समूह चरणमा हराउन नसकेको ओमानसँगै पराजित हुन पुग्यो ।

प्रतियोगितामा अलराउण्ड प्रदर्शन गरेका गुल्सन नेपाली खेलाडीहरुमाझ उत्कृष्ट घोषित भए । मिडल ओभरमा कसिलो बलिङ गर्दै विकेट लिने, अनि टिमलाई चाहिएको बेला जुनसुकै पोजिसनमा गएर ब्याटिङ गर्ने उनले आफू पर्फेक्ट अलराउण्डको छनक दिइसकेका छन् । जबकी उनको करियर अर्ली स्टेजमै छ ।

१७ वर्षका गुल्सनले पहिलो पटक २०७७ मा भएको मेयर्स कपमा सबैको ध्यान तानेका थिए । नेपाल पुलिस क्लबबाट खेलेका उनले फाइनलमा सशस्त्र प्रहरीविरुद्ध लोभलाग्दो बलिङ गर्दै नेपालका तत्कालीन प्रशिक्षकको ध्यान आफूतिर ताने ।

राष्ट्रिय टिममा परेपछि पछाडि फर्किएर हेर्नु परेको छैन । नेपाली टोलीले पछिल्लो एक वर्षमा पाएको अभूतपूर्व सफलतामा अभिन्न अंग बने । लिग टुमा पछिल्ला १२ मध्ये ११ खेलमा जित, एसिया कपमा भारत र पाकिस्तान जस्ता बलिया टोलीसँग सम्मानजनक प्रदर्शनमा उनले पनि योगदान दिए ।

एकदिवसीय क्रिकेटका थोरै खेलमा पनि महत्वपूर्ण इनिङ्सहरु खेलेर अलराउण्डर भएको प्रमाणित गरेका उनले टी–२० त्यति पनि अवसर पाएका थिएनन् । घरेलु मैदान, काठमाडौंमा भएको त्रिकोणात्मक सिरिज र  एसिया छनोट फाइनलमा उनले आफूलाई टी–२० मा राम्रो अलराउण्डर भएको प्रमाणित गरे ।

एसिया कप २०२३ ओडीआई अन्तर्राष्ट्रिय क्रिकेटमा भारतविरूद्ध ब्याटिङ गर्दै गुल्शन झा । फोटो : एएफपी

एसिया छनोटमा नेपालको पाँच वटै खेल खेलेका गुल्सनले अर्धशतकसहित ७९ रन बनाए । तर उनले सेमिफाइनल र फाइनलसहित तीन इनिङ्समा मात्र ब्याटिङ गर्ने अवसर पाएका थिए । फाइनलमा ओमानविरुद्ध अर्धशतक बनाएका थिए ।

पाँचवटै खेलमा बलिङ गरेका उनले चार खेलमा विकेट लिँदै कुल ५ विकेट लिए । मिडल ओभरको बलिङ गर्ने उनले चाहिएको बेला टिमलाई विकेट दिलाउने गरेका छन् । ‘प्रतियोगितामा बेस्ट नेपाली प्लेअर बन्दा एकदमै खुशी छु,’ नेपाललाई फेरि विश्वकपमा पुर्याउने टिमको सदस्य हुन पाएकोमा आफूलाई भाग्यमानी ठान्ने गुल्सनले अनलाइनखबरसँग भने, ‘व्यक्तिगत रुपमा भन्दा पनि टिमले त्यो लक्ष्य हासिल गरेका हो, त्यसमा मैले आफ्नो रोल मात्र निभाइरहेको छु ।’

नेपालले पहिलो पटक सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । त्यो विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकरहरुको प्रदर्शन देखेर–सुनेर नै आफू यहाँसम्म आइपुगेको उनले बताए । ‘दाइहरुको खेल हेरेरै क्रिकेटमा लागेको थिएँ, अब आफैं खेल्न पाइयो झन् खुशी लाग्छ,’ उनले भने, ‘राम्रो प्रदर्शन गरेर सबैलाई खुशी बनाउने लक्ष्य छ ।’

पक्का अलराउण्डर

गत असारमा जिम्बाव्वेमा भएको एकदिवसीय विश्वकप छनोटमा ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै गुल्सनले ५० ओभरको खेलमा अलराउण्डरको संकेत देखाइसकेका थिए । अहिले टी–२० विश्वकप छनोटमा उस्तै खालको प्रदर्शन गरेपछि गुल्सनले आफू पर्फेक्ट अलराउण्डर बन्दै गएका देखाएका छन् ।

‘गुल्सन स्पेशल ट्यालेन्ट हुन् । करियरको सुरुवाती समयमै ओडीआई र टी–२० आई दुवैमा महत्वपूर्ण इनिङ्सहरु खेलेका छन्,’ क्रिकेट एक्सपर्ट शरद भेषावकर भन्छन्, ‘अहिले नेपालको टिम म्यानेजमेन्ट राम्रो छ र उनी आगामी दिनमा अझ राम्रो हुन्छन् । मेरो विचारमा नेपालकै एक टप अलराउण्डर हुनसक्छन् ।’

एक समय तत्कालीन कप्तान पारस खड्का नेपाल टिमका पर्फेक्ट अलराउण्डर थिए । हाल क्रिकेट संघका सचिव समेत रहेका खड्कालाई गुल्सन लेजेण्ड मान्छन् । ‘उहाँले नेपाली क्रिकेटका लागि जति गर्नुभयो, त्यो एकदमै धेरै छ । नेपाली टिम र क्रिकेटका लागि उहाँको योगदान अनम्याचेबल छ’ गुल्सन निकै विनम्र सुनिए, ‘मैले उहाँसँग कहिले म्याचिङ गर्न सक्दिनँ ।’

मैदानमा उत्रिएपछि ब्याटिङ, बलिङ र फिल्डिङ सबैमा रमाउने र अहिले टिम प्रशिक्षकले दिएको जिम्मेवारीलाई शतप्रतिशत निभाउन प्रयास गर्ने उनले बताए । ‘कोच र कप्तानले जुन रोल दिनुहन्छ, त्यो पूरा गर्ने ट्राई मात्र गरिराछु । ब्याटिङ र बलिङमा इम्प्रुच गरिरहेको छु,’ सम्वादका क्रममा गुल्सनले आफ्नो लक्ष्य पनि सुनाए, ‘म त्यो वर्ड (अलराउण्डर)का लागि मिहिनेत गरिरहेको छु । देशका लागि अझै धेरै म्याचहरु सिंगल ह्यान्डल्ली जिताउनु छ ।’

 विग म्याच प्लेअर

गुल्सनले बनाएको अर्को छवि हो, विग म्याच प्लेअर । उनले एकदिवसीय र टी–२० दुबै फर्म्याटमा महत्वपूर्ण वा फाइनल खेलमा अलराउण्ड प्रदर्शन गर्ने गरेका छन् ।

लिग टुको अन्तिम सिरिजको अन्तिम खेलमा गुल्सनले युएईविरुद्ध अविजित ५० रन बनाएका थिए भने एसीसी प्रिमियर कप फाइनलमा यूएईविरुद्ध अविजित ६७ रन बनाएका थिए । जिम्बाव्वेमा भएको वान डे विश्वकप छनोटको अन्तिम खेलमा पनि आयरल्याण्डविरुद्ध अविजित ५७ रन बनाएका थिए ।

टी–२० मा पनि त्यो लयलाई कायम नै राखे । टी–२० विश्वकप एसिया छनोटको फाइनलमा ओमानविरुद्ध गुल्सनले आफूलाई ब्याटिङमा पनि प्रमाणित गरे । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दा गुल्सनकै आक्रामक ब्याटिङमा नेपालले १८४ रन बनाएको थियो ।

कमजोर सुरुवात गरेको नेपालले १० ओभरमा ६० रन हुँदा चार विकेट गुमाइसकेको थियो । त्यहाँबाट नेपालको स्कोर १४०–१५० पुग्न पनि शंका थियो । तर छैटौं नम्बरमा क्रिजमा पुगेका गुल्सनले यसरी ब्याटिङ गरे कि नेपालको रनको गति बढ्दै गयो । उनले कप्तान रोहित पौडेलसँग पाँचौ विकेटका लागि ४२ बलमै ७८ रनको महत्वपूर्ण साझेदारी गरे । टी–२० आईमा पहिलो अर्धशतक बनाउने क्रममा गुल्सनले २५ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५४ रन बनाए । रोहितले अविजित ५२ रन योगदान गरेका थिए ।’

‘फाइनलमा क्राउड धेरै हुन्छ, खेल हेर्नका लागि सबै आउनुहुन्छ’ सुपर ओभरमा नेपालले हारेको त्यो खेलबारे गुल्सन भन्छन्, ‘त्यसमा मैले आफू इन्जोए गर्ने हो ।’

त्यो खेलका क्रममा क्रिकेट एक्सपर्ट शरद भेषावकरले गुल्शनलाई ‘ही इज दी म्यान फर फाइनल’ भनेका थिए । ‘यो छनोटबाट गुल्सनले टी–२० फर्म्याटमा पनि खेल्न सक्छु भनेर प्रमाणित गरे । उनले टी–२० मुस्किलले १२–१५ म्याच खेले होलान्, तर आफ्नो विशेष क्षमता देखाइरहेका छन्,’ गुल्सनको फाइनल खेलको ब्याटिङ र बलिङपछि शरदले भनेका थिए, ‘गुल्सनले फाइनलमा चाहिने बेला एकदमै राम्रो खेलेर क्लिक गरिरहेका छन् । हामीले एउटा हिरा पाएकाछौं, अब इन्जुरी फ्री राखेर कसरी राम्रो प्लेअर बनाउने भन्ने हो ।’

त्यो फाइनलअघि १३ टी–२० खेलमा ८ इनिङ्स ब्याटिङ गर्दै जम्मा ८७ रन बनाएका थिए । त्यसमा नेपाललाई विश्वकपमा स्थान बनाउन जित्नैपर्ने युएई विरुद्धको सेमिफाइनलमा २२ रन योगदान गरेका थिए । वान डेमा जस्तै गुल्सनले टी–२० विश्वकप छनोटमा पनि वान डाउनमा ब्याटिङ गरे । उनले सेमिफाइनलमा कुशल भुर्तेल आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । त्यस खेलमा आसिफ शेखसँग उनले ३७ रनको साझेदारी गरे ।

विश्वकपमा खेल जित्ने लक्ष्य

सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा नेपालले पहिलो चरणमा तीन खेल खेल्दा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो ।

त्यसबेला पहिलो चरणमा दुई समूह थिए र दुवै समूहबाट शीर्ष एक–एक टोली मात्र दोस्रो चरणमा प्रवेश गरेको थियो । २०२४ जुनमा हुने टी–२० विश्वकपमा २० टिम सहभागी हुनेछन् र सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । अर्थात नेपालले समूह चरणमा चार खेल खेल्न पाउनेछ ।

विश्वकपमा नेपालको लक्ष्य खेल्ने मात्र नभएर खेल जित्ने पनि रहेको गुल्सनले सुनाए । ‘छनोट प्रतियोगिता अघि नै हाम्रो लक्ष्य क्लियर थियो कि विश्वकप पुग्न मात्र क्वालिफायर खेलिरहेका छैनौं । विश्वकप पुगेर त्यहाँ पनि राम्रो प्रदर्शन गर्ने लक्ष्य बनाएका थियौँ,’ गुल्सनले आगामी लक्ष्यबारे भने, ‘त्यहाँ म्याचहरु जित्नका लागि पनि मिहिनेत गरिररहेका छौं । त्यहाँ गएर खेल्ने मात्र होइन ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?