+
+
विचार :

नेपालमा दलित आन्दोलनको धरातल

लोकतन्त्रमा विरोध गरेर मात्रै पुग्दैन, आफैं संगठित हुने, संविधान बमोजिम राज्यसत्ता सञ्चालनको हिस्सा लिने आँट गर्न सक्नुपर्दछ । दलित समुदायले आफ्नो मुक्ति संघर्ष अघि बढाउने सवालमा आफ्नै धरातल बुझ्न आवश्यक छ ।

मेखराज उदय मेखराज उदय
२०८० कात्तिक २७ गते १५:०४

विश्व साहित्यका महान् मानिएका साहित्यकार भोल्टेयरको कथन छ- ‘ती बेवकुफहरूलाई आजाद (स्वतन्त्र) गराउन कठिन छ, जो आफ्नो जंजिरको स्वयं इज्जत गर्छन् ।’ निःसन्देह नेपाली समाजमा व्यापक विभेद, असमानता, छुवाछूत, अन्याय, दमन, मतभेद र विविधता छन् ।

नेपाली समाजको बनोट, चरित्र र मान्यता विचित्र एवं अनौठो खालको छ । समाजमा मात्रै होइन, राज्यसत्ता समेत विभेदी छ । समाजमा एक समूह वा जाति मात्रै शासक र अर्को वा अन्य समूह मात्रै शासित छैन । एक जातिले अर्कोमाथि, फेरि अर्काले अन्यलाई श्रेणीबद्ध विभेद र दमन गर्छ । जस्तैः आर्य समाजभित्र उपाध्याय ब्राह्मणले अन्य बाहुन लगायत सबैमाथि विभेद गर्छ । बाहुनले खस, क्षत्री र अन्य समुदायमाथि विभेद गर्छ ।

आदिवासी जनजातिले आफैंभित्र र दलित समुदायमाथि विभेद गर्छ । दलितभित्र समेत श्रेणी छन्, र ती श्रेणी बमोजिम माथिदेखि तलसम्म विभेद, छुवाछूत गर्छन् ।

एक दलितले अर्को दलितसँग विवाह सम्बन्ध जोड्न अस्वीकार गर्छन् । कतिपय दलित अधिकारकर्मी, राजनीतिज्ञहरूले नै आफ्ना सन्तान अर्को दलित युवासँग गरिएका प्रेम सम्बन्ध, विवाह अस्वीकार गरिएका मात्रै होइन, त्यो विवाह छुटाउन सत्ता र शक्तिको दुरुपयोग गरेका थुप्रै उदाहरण छन् । त्यस्तै उपाध्याय बाहुनले आफू बाहेक अन्य सबै जाति–समुदायमाथि विभेद, छुवाछूत र दमन गर्छ ।

स्मरणरहोस्, उपाध्याय ब्राह्मणले अन्य बाहुनले पकाएको खाना नखानु, बाहुनकै छोरी चेली बिहे गरी ल्याएर पनि उनीबाट जन्मिने सन्तानलाई उपाध्याय थर नदिएर आफूभन्दा तल्लो दर्जाको जात निर्धारण गर्नु विभेद नै हो । त्यस्तो प्रकृतिको सन्तानलाई आफ्नो मृत्युपश्चात् श्राद्धको पिण्ड चढाउँदा समेत विभेद गरिने प्रचलन स्थापित छ ।

जातीय व्यवस्था के हो ?

जातीय व्यवस्थाको इतिहास भारत वर्षमा ३ हजारदेखि ३ हजार ५०० वर्ष पुरानो मानिन्छ । किनभने आर्यहरू करिब ४ हजार ५०० देखि ५ हजार वर्षअघि आर्याक, इराक, इरान आदि मुलुक हुँदै भारत वर्षमा प्रवेश गरेको प्रामाणिक इतिहास छ ।

उनीहरू भारत वर्षमा आएपछि मात्रै वेद, उपनिषद्, मनु आदि स्मृति; महाभारत, रामायण आदि ग्रन्थ र ऋचाहरू रचना गरिएका तथा लेखिएका हुन् । हिन्दु धर्मको प्राचीन नाम ब्राह्मण धर्म हो ।

आर्यहरूको पहिलो संगठन ‘आर्य समाज’ का संस्थापक दयानन्द सरस्वती (मूलशंकर तिवारी) ले हिन्दु शब्दकै विरोध गरेका थिए । उनले सन् १८७५ मा आर्य समाजको स्थापना गरेका हुन् । सरस्वतीले सन् १८७६ मा सबैभन्दा पहिले स्वराज्यको नारा समेत दिएका थिए । पछि गान्धी उक्त स्वराज्य अवधारणाको पक्षधर बने ।

नेपालमा जातीय व्यवस्थाको इतिहास केवल केही सय वर्ष मात्रै पुरानो रहेको मान्न सकिन्छ । करिब ४०० देखि ५०० वर्षअघि मात्रै नेपालमा जातीय व्यवस्था भित्रियो । हालको नेपाल कम्तीमा ४ देखि ५ महासभ्यताहरू सम्मिलन भई बनेको हो ।

नेपाल बन्दा ती राज्यहरूका भूगोल र जनता मात्रै गाभिएनन्, बरु सभ्यता र तिनका धर्म, मान्यता, भाषा, संस्कृति, अर्थ व्यवस्था, परम्परा आदि समेत सँगै जोडिएर आए । ती महासभ्यताहरूमा फरक-फरक समयमा जातीय व्यवस्था लागू गरिएका हुन् । नेपालका विभिन्न भूभागमा गरिने जातीय विभेदका पृथक् प्रकृति र मात्रामा भिन्नता हुनु त्यसको ज्वलन्त उदाहरण हुन् ।

उदाहरणका निम्ति तुलनात्मक हिसाबले पश्चिम नेपालमा भन्दा पूर्वी नेपालमा जातीय विभेद र महिलाको महिनावारी सम्बन्धी प्रावधानमा केही खुलापन छन् । पश्चिम र कर्णाली प्रदेशमा रहेको कुरीति छाउपडी लगायत महिलामाथि हुने विभेद पूर्वमा भेटिंदैन वा धेरै कम छ ।

दलितमाथि हुने छुवाछूत, विभेद र हिंसा समेत तुलनात्मक रूपमा पश्चिममा बढी र पूर्वमा न्यून देखिन्छ । हिन्दुहरूमा पनि शैव धर्मावलम्बीहरू छुवाछूतमा केही उदार र वैष्णव सम्प्रदाय कठोर भेटिन्छन् ।

कारण शिव हिन्दुहरूको ३ प्रमुख भगवानहरूमध्ये एक भए तापनि उनी मूलवासी समुदायका थिए । देवहरूको पनि देव महादेव भनिन्छ । भागवत गीताका अनुसार देव (ता) को अर्थ हुन्छ, आर्य । शिव अनार्य समुदायका भए पनि ब्राह्मण धर्ममा प्रमुख भगवान्का रूपमा किन समावेश गरियो भन्ने बेग्लै प्रसंग छ, र त्यस सम्बन्धमा अन्य आलेखहरूमा विस्तृत व्याख्या गरिनेछ ।

ठाउँ विशेष अनुसार विभेदका प्रकृतिमा भिन्नता हुनुका कारणहरू छन् । जस्तैः पश्चिममा ब्राह्मणहरू धेरै अघि प्रवेश गरेका र जातीय व्यवस्थाका सम्राट गोर्खाली राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान पश्चिममा पहिल्यै सफल हुनु र पूर्वमा धेरै पछि मात्रै पुग्नु एक मुख्य कारण हो ।

जहाँ जहाँ ब्राह्मणहरू प्रवेश गर्दै गए, त्यहाँ ब्राह्मणी धर्म, जातीय व्यवस्था लागू गराउन उनीहरू सफल भए । अर्थात् एकीकृत नेपाल बन्नु पूर्व नै जातीय व्यवस्था लागू गरिए । गोर्खाली शाह राजाहरूको नेपाल एकीकरण अभियानपश्चात् शाह राजाहरू र राणा प्रधानमन्त्रीका आडमा षड्यन्त्रकारी धूर्त ब्राह्मणहरूद्वारा जातीय विभेद तथा छुवाछूत व्यवहारलाई झनै संस्थागत र कानुनी हैसियतमा नै लागू गर्ने र जबर्जस्त लाद्ने काम भए ।

अलग-अलग बखतमा जातीय व्यवस्था लादिएको भए तापनि जातीय व्यवस्थाका कारण वा आधार भने समान थिए र छ । त्यो हो ब्राह्मणवाद । ब्राह्मणी व्यवस्था (राजनीति) र धर्म जातीय व्यवस्था तथा छुवाछूतको एक मात्रै कारण र आधार हो ।

भारतबाट मुस्लिम शासकको अत्याचारबाट जोगिन र ज्यान बचाउन नेपालका विशेषतः ४ नदीहरू पार गरी ब्राह्मणहरू नेपालतर्फ प्रवेश गरे । पश्चिमको महाकाली नदी, कर्णाली, गण्डकी र सप्तकोशी नदी पार गरी नेपाल प्रवेश गरेका ब्राह्मणहरूका लागि ज्यान, धर्म, स्त्री र भाषा (संस्कृत) जोगाउनुपर्ने चुनौती थियो ।

इतिहास अनुसार सो समयमा मुस्लिम शासकको बलात्कारबाट जोगाउन विवाहित ब्राह्मणी महिलाले प्रतीकका रूपमा शिरमा सिन्दुर लगाउने प्रचलन चलाए, जो हालसम्म जीवित नै छ । विडम्बना हाल गैरब्राह्मणी वा अनार्य महिलाहरू समेत देखासिकी गरेर सिउँदोमा सिन्दुर लगाउने गर्छन् । तथापि त्यो उनीहरूको मौलिक परम्परा वा मान्यता होइन ।

यसरी कालान्तरमा ब्राह्मणहरू यहाँका मूलवासी सोझा—सिधा शासकहरूको मस्तिष्क नियन्त्रणमा लिई, ती शासकका दरबारमा पण्डित्याईं गर्दै यहाँ समेत जातीय व्यवस्था र ब्राह्मणवादी राज्यसत्ता लाद्न सफल भए । ज्ञातव्य छ, नेपालको इतिहासमा ब्राह्मण कहिल्यै पनि राजा बनेनन्, तर राज्यसत्ता भने सधैं उनीहरूको पण्डित्याईं र धुत्र्याईंमा चलाइयो ।

ती महासभ्यताहरूमा क्रमशः पश्चिमका पाल्पा, कास्की लगायत स्थानहरूमा अवस्थित मगर र तमु शासित राज्यहरू । दोस्रो, हालको कर्णाली, भेरी नदी आसपासको खस साम्राज्य । त्यो स्थानमा पहिला हालका दलित समुदायको शासन रहेको इतिहास भेटिन्छ । र पछि १२औं शताब्दीमा खसहरूले उनीहरूको सत्ता विस्थापित गरी खस राज्य स्थापना गरे ।

तेस्रो, काठमाडौं र आसपासको नेवाः राज्य वा सभ्यता । चौथो रहेको छ, हालको पूर्वी नेपालमा पर्ने किरात राज्य अर्थात् महासभ्यता । पाँचौंमा पूर्वी मधेश र उदयपुरका केही पहाडी भूमि समेतको सलहेश राज्य, महासभ्यता ।

त्यस्तै थारू समुदाय (जाति) को दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आदि क्षेत्रमा अवस्थित थारू राज्य र मधेशका हालका बारा, पर्सा क्षेत्रमा केही समय अस्तित्वमा रहेको मुस्लिम राज्य लगायत धेरै सभ्यता सहितको मुलुक नै हालको नेपाल राज्य-राष्ट्र हो ।

उक्त इतिहासको निरन्तरता स्वरुप विगतदेखि हालसम्म नेपालमा चार खम्बे जातीय समुदाय अर्थात् ‘राजनीतिक शक्ति’ अस्तित्वमा रहेको देखिन्छ । भूगोल, ऐतिहासिक सत्ता विरासत, जनसंख्या, र योगदानका आधारमा पहिलो, आदिवासी जनजाति, दोस्रो आर्य-खस, तेस्रो मधेशी, थारू, मुस्लिम सहित) र चौथो दलित समुदाय । दलित समुदायको राजनीतिक, सामाजिक—सांस्कृतिक र आर्थिक अधिकार सम्बन्धमा अबको प्रसंगमा उल्लेख गरिएको छ ।

दलित आन्दोलनका विभ्रम

दलित मूलवासी समुदाय हो । तत्कालीन राज्यसत्ताले हिन्दु धार्मिक सत्ता बमोजिम नेपालको बनिबनाउ समाजलाई विभाजन गरी वर्ण व्यवस्था लादेको हो । दलित समुदाय अन्त कतैबाट यहाँ ल्याइएको र अछूत बनाइएको वा अन्य मुलुकका अछूतहरूलाई यहाँ ल्याइएको होइन ।

नेपालमा तीन प्रकारका मूलवासी समुदाय पाइन्छन् । पहिलो :आदिवासी, दोस्रो : जनजाति र तेस्रोः दलित । संयुक्त राष्ट्रसंघ, आईएलओ १६९ ले आदिवासी र जनजातिका सम्बन्धमा पृथक् व्याख्या गरेको छ । (हे. आईएलओ १६९) दलित समुदाय समेत मूलवासी समुदाय हो ।

पहिलो आधार, नेपालका विभिन्न राज्यहरूले विभिन्न मितिमा भारतबाट ब्राह्मण पण्डितहरू बोलाई जातीय व्यवस्था कायम गरेको इतिहास छ । त्यस घटनाभन्दा अघि नेपालका कुनै पनि राज्यमा कुनै एक जना व्यक्ति पनि ब्राह्मण र अछूत थिएन । हालका दलित, अछूत बनाइएकाहरू सबै छूत थिए । धेरै जाति शासक थिए ।

दोस्रो आधार, सुदूरपश्चिम, कर्णाली प्रदेश र कास्कीमा समेत हालका दलित समुदायको शासन रहेका राज्यहरू थिए । तेस्रो आधार, हाल पहाडका धेरै दलित समुदायको शारीरिक बनोट, थर, गोत्र, नाक, आँखा आर्य वा खस समुदायसँग मिल्छन् ।

त्यसैले दलित अधिकारवादीहरूको जिकिर छ, हामी आर्य, खस समुदाय नै हौं । यो मिथ्या तर्क मात्रै हो । थर, गोत्र, अनुहार आदि आर्य, खससँग कसरी मिल्न गयो ? यस सवालमा यहाँ एक प्रसंग जोड्नु मनासिब लाग्यो ।

यस आलेखको पंक्तिकारको थर खाती हो । खाती खस, क्षत्री र दलितको समेत थर हो । यस्तो कसरी हुनगयो ? ब्राह्मण पुरुषले ठकुरीकी छोरीसँग विवाह गर्‍यो र उनीबाट सन्तानको जन्म हुनगयो भने उसको नयाँ थर कायम गरिन्छ, हमाल । तर ब्राह्मणले ठकुरी विधवा वा अर्काकी श्रीमती भगाएर विवाह गर्‍यो र उनीहरूबीच सन्तानको जायजन्म हुन गयो भने उसको थर हुन्छ, खाती ।

अब दलितका कुनै थरवाला महिलासँग खाती थर धारीले बिहे गर्‍यो भने, जात झारेर दलित महिला जुन जातकी हुन् त्यही जातको हुने प्रचलन थियो । त्यस्तो व्यवस्था अनुसार दलितको थर पनि खाती रहन पुग्यो ।

त्यसैले दलितका दमाई, कामी, सार्की आदिका थर खाती रहन गए । अन्य आर्य वा खसका थर दलितसँग मिल्न जानुका कारण पनि यही र यस्तै हुन् । कालान्तरमा रक्त समिश्रण हुनगई दलितको एउटै वर्ण नरहे तापनि, मूल रूपमा दलित मूलवासी समुदाय हो ।

हाल दलित समुदाय विभाजित बन्न पुगेको छ । दलित शब्दप्रति आपत्ति जनाउँदै केही अभियन्ता आफूहरू शिल्पी समुदाय रहेको जिकिर गर्छन् । विशेषतः कामी र दमाईका केही अभियन्ता शिल्पीको पक्षमा उभिएका देखिन्छन् । हिन्दु शास्त्रहरू बमोजिम शिल्पी समेत शूद्र वा अछूत नै हो ।

भनिएको छ, ‘शिल्पीको काम, कर्तव्य उपल्ला ३ वर्णको सेवा गर्नु हो ।’ (उपल्ला भन्नाले ब्राह्मण, क्षत्री र वैश्य ।) शिल्पी शब्द र विश्वकर्मा थरबीच गज्जबको तादाम्यता छ । हिन्दु ग्रन्थहरूका विभिन्न प्रसंगमा विश्वकर्मालाई निर्माणकर्ताको मिथकका रूपमा उल्लेख गरिएका छन् ।

यद्यपि उनले आविष्कार गरेका हतियार, औजार, वाहन वा साधन कतै उपलब्ध छैन । विश्वकर्माका सन्तानहरूमध्ये एक शिल्पी हो । विश्वकर्मा दिवसका रूपमा मनाइने असोज १ गतेको एक रोमाञ्चक प्रसंग यहाँ प्रस्तुत गरौं ।

एक जना कामी जातका राजनीतिकर्मी जो शिल्पी अभियन्ता समेत हुन्, ले आरनमा फलामको ज्यावल निर्माण गर्दै गरेको आफ्नो तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँदै आफ्नो पुर्खा विश्वकर्मा बाबा भन्दै सो दिवसको शुभकामना व्यक्त गरे ।

अर्का अधिकारवादी छन्, उनी अन्य हिन्दु देवी-देवताको विरोध गर्छन् । तर विश्वकर्मा बाबाका भक्त हुन् । संयोगवश यी कथित विश्वकर्माका सन्तान ‘शिल्पी’ दुवै जना इसाइ हुन् ।

२००६ सालताका बाग्लुङका सर्वजीत कामी नेतृत्वको टोलीले राणा प्रधानमन्त्री मोहनशमशेर कहाँ खड्काथोकी थर भएका कामीहरूले खड्का थर लेख्न र क्षत्री सरह जनै धारण गर्न पाउनुपर्ने माग राखी विन्तीपत्र चढाए । राणा प्रधानमन्त्रीले स्वीकृति जनाए र सोही अनुसार गर्न हुकुम दिए । तर स्थानीय प्रशासनले उक्त हुकुम लागू गरेन, बरु आन्दोलनकारी माथि सजाय गरियो ।

त्यो घटनाले रन्थनिएर सर्वजीत भारतीय पण्डितहरूको शरणमा पुगे । भारतीय पण्डितहरूको राय, सल्लाह बमोजिम उनी नेपाल फर्केर कामीको थरका रूपमा विश्वकर्मा शब्द प्रयोगमा ल्याए ।

सो समय भन्दा अघि नेपालमा कोही एक जना व्यक्ति पनि विश्वकर्मा थिएन । कथाका मिथकीय पात्र विश्वकर्मासँग नेपालका कुनै अछूत जातिको कुनै खालको सम्बन्ध रहेको प्रमाण छैन ।

यो सत्य घाम जत्तिकै छर्लङ्ग छ । फेरि अर्काे सत्य शिल्पकार समुदाय दलित बाहेकका अन्य समुदाय, जातिमा समेत छन् । मधेशमा जातीय पेशा चर्पी सफा गर्ने, डकैती गर्ने, माटो खन्ने र आजको समयमा कतिपय घृणित र वर्जित परम्परागत पेशा भएका समुदाय कसरी शिल्पी हुन सक्छन् ? यो दलित मुक्ति आन्दोलन भाँड्ने, संघर्षलाई निस्तेज बनाउने षड्यन्त्र मात्रै हो ।

आजकाल दलित अभियन्ता, आन्दोलनकर्मीहरू दलितका स्वतन्त्र संगठनहरू निर्माणमा लागिपरेका देखिन्छन् । अनौठो र अचम्मका सवाल के छन् भने, ती ‘लुज फोरम’का रूपमा सञ्चालित संगठनका पदाधिकारी र सदस्यहरू जुन कुनै दलको सदस्य वा नेता रहन पाउने ।

लोकतन्त्रमा एक नागरिकले प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण, बलशाली, बहुमूल्य अधिकार भनेको मताधिकार हो । अर्थात् आफ्नो अधिकार स्थापित गर्न सक्ने दल, उम्मेदवारलाई स्वतन्त्र र निर्भयपूर्वक मतदान गरी निर्वाचित गराउने वा आफैं उम्मेदवार भई निर्वाचित हुन पाउने व्यवस्था नै लोकतन्त्र हो । दलितको समस्या मूलतः राजनीतिक समस्या हो ।

अतः राज्यसत्तासँग दलित मुक्तिको प्रत्यक्ष सरोकार रहन्छ । राज्यसत्ताले चाहेमा दलितका समस्या तत्काल समाधान गर्न सक्छ । दलितको संगठनमा संगठित हुने तर भोट हाल्न, अन्य दलको सदस्य बन्न पाइने हो भने, ‘शरीर पूरा ठिकठाक छ, तर मुटु मात्रै चल्दैन’ भने जस्तै हो । जब शरीरमा मुटु नै छैन भने मान्छे जीवित कसरी रहन सक्छ ?

लोकतन्त्रमा विरोध गरेर मात्रै पुग्दैन, आफैं संगठित हुने, संविधान बमोजिम राज्यसत्ता सञ्चालनको हिस्सा लिने आँट गर्न सक्नुपर्दछ । लोकतन्त्र बहुमतको शासन हो । मूलतः दलित समुदायले आफ्नो मुक्ति संघर्ष अघि बढाउने सवालमा आफ्नै धरातल बुझ्न आवश्यक छ ।

लेखकको बारेमा
मेखराज उदय

राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?