+
+
ब्लग :

दलित आन्दोलनका अनन्य मित्र किथ डगलास लेस्ली

दलितको समस्या दलितहरुको मात्रै होईन, यो सम्पूर्ण न्यायप्रेमीहरुको समस्या हो । अतः त्यस्ता न्यायप्रेमीहरु मध्ये विशिष्ट योगदान गर्नेहरुको वारेमा जानकारी ल्याउंदा अन्यलाई पनि प्रेरणा हुने छ । किथ डगलास लेस्ली ती मध्ये एक हुन्।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०८० कात्तिक १६ गते १७:३९

भारतका स्वतन्त्रता आन्दोलनका नेता तथा विद्धान डा.राममनोहर लोहियाले आफ्नो पुस्तक हिन्दु वनाम हिन्दु मा भारतमा वेलायतीहरुको गुलामी कालमा उनीहरुले जे जति सुधार गरे त्यो शुद्रहरुका लागि वरदान सावित भयो भनेका छन् । यसो भन्दै उनले यो पनि स्वीकार गरेका छन् की व्राम्हणहरुले शुद्र र आदिवासीहरु उपर जेजति शोषण दमन लादे त्यसवाट मुक्ति दिलाउने काम अंग्रेजहरुले गरे ।

उनले यसो भन्नुको मतलव कुनै विदेशीहरुको उपनिवेश ठीक भन्ने अर्थमा होईन तर कार्लमाक्र्सले पनि के कुरा स्वीकार गरेका छन् भन्दा पूजीवाद सामन्तवाद भन्दा धेरै अर्थमा प्रगतिशिल हुन्छ । जुन वेला वेलायतीहरुले भारतमा शासन गरेका थिए त्यति वेला औद्योगिक क्रान्तिसंगै पुरै युरोप पूजीवादी युगमा प्रवेश गरि सकेको थियो ।

१३औ शताव्दी देखिनै कुनै न कुनै रुपमा संसदीय प्रणाली अपनाएको वेलायतले उपनिवेश लाद्ने भएता पनि कानून वनाएरै लाद्ने गथ्र्यो । उसले खराव हो की असल त्यो दोश्रो विषय भएता पनि विधिको शासनमा विश्वास गथ्र्यो र धेरै अर्थमा अन्याय, अत्याचार र शोषणलाई उन्मूलन गर्ने पक्षमा थियो ।

भारतमा व्राम्हणवादी सस्कृत शिक्षा लामो समयसम्म पुरुष व्राम्हण क्षेत्रीहरुका लागि मात्रै थियो । अरु सवैलाई प्रवेशमा वन्देज मात्र लगाईएको थिएन, कसैले आदिवासी तथा शुद्रहरुका लागि शिक्षाको व्यवस्था गरेमा त्यसको कडा प्रतिकार गरि वन्द गरिदिन्थे ।

यस्तो अवस्थामा सन १८०० मा जन्मेका मेकालेलले सन १८३० देखि १८३४ को अवधिमा भारतमा एउटा शिक्षा विदको रुपमा आएर शुद्र तथा आदिवासीहरुका लागि विज्ञानमा आधारित शिक्षाको ढोका सवैका लागि खोलि दिएर ठूलो गुन लगाएका थिए ।

नेपाल कहिल्यै पनि उपनिवेशमा गएन भनेर हामीले गर्व गरेता पनि शिक्षाको उज्यालोवाट सवैजना वंचित हुनु पर्यो । यदि अंग्रेजहरुले शासन गरेका भए नेपालमा शिक्षा, यातायात र पर्यटनका लागि हिल स्टेशनहरुको मनग्गे विकास भएको हुन्थ्यो भनेर कल्पना गर्न गार्हो छैन । किनभने आधुनिक भारतमा अहिले जे जति विकास भएको छ त्यसको आधा भन्दा वढि श्रेय वेलायतिहरुलाई जान्छ ।

यहांका शासकहरुले जनताको शोषण, दमन र उत्पीडन वाहेक केही गरेनन भन्दा अत्युक्ति नहोला । तर केही छिटफुट सुधारहरु दलितहरुको सन्दर्भमा भए तर समाज रुपान्तरणमा त्यस्को ठूलो योगदान भएन । जे जति भए वा देखिए उनीहरुको वारेमा चर्चा पछि गर्दै लगिने छ ।

राजाको प्रत्यक्ष शासन भएको पंचायतको ३० वर्षे शासनकाल हामीले सन १९९० मा फ्याक्यौं । ठूलो राजनैतिक परिवर्तन त भयो तर शासनमा पुगेका पार्टिहरुसंग देशको आर्थिक, सामाजिक तथा सास्कृतिक रुपान्तरण गर्ने कुनै योजना थिएन । त्यसमा दलित तथा अन्य उत्पीडितहरुको पक्षमा काम गर्ने त झन सोच सम्म पनि थिएन ।

तर, यसले राजनैतिक अधिकार सवैलाई दियो र पंचायतकालको पछिल्लो दशकमा नेपाल भित्रिएका अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई पनि खुलेर काम गर्ने अवसर दियो । यो अवसरको लाभ दलितहरुले पनि अत्याधिक पाए ।

२०४६ सालको आन्दोलन पछि राजनैतिक परिवर्तन भयो, त्यति वेला नतः आन्दोलनकारी शक्ति नतः दलितहरुसंग आफ्ना लागि कुनै एजेण्डा थिए । त्यस्तोमा नेपालमा कार्यरत केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु अगाडि आए त्यसमा प्रमुख थियो सेभ द चिल्ड्रेन युएसए ।

वालवालिकाहरुको क्षेत्रमा काम गर्ने भएता पनि लामो समय यसले सामुदायिक विकासमा काम गरेको थियो । नेपालमा राजनैतिक परिवर्तन हुने वित्तिकै यसले दलित अधिकारका क्षेत्रमा पनि काम गर्ने सोच वनायो । तर, संस्थाले आफै काम गर्ने होईन, त्यसमा कस्तो सोच भएका तथा गर्न चाहने नेतृत्व छ त्यसमा भर पर्दछ ।

सन १९९० को परिवर्तनसम्म आईपुग्दा करीव ७ वर्ष विताई सकेका किथ लेस्ली सेभ द चिल्ड्रेनको नेतृत्वमा थिए । नेपाली महिलासंग लगन गांठो कसिसकेका हुनाले उनले नेपालको सामाजिक तथा जातीय समस्या पनि वुझेका थिए । तर किन हो उनमा यहांको दलितहरुको समस्यालाई सम्वोधन गर्ने सोच आयो ।

युएसएआईडीको इतिहास पुरानै मानिन्छ तर उसले नेपालको जातीय समस्यालाई सिधै सम्वोधन गर्ने कुने सोच वनाएको थिएन । तर किथ लेस्ली आफु अमेरिकन भएको हुंदा युएसएआईडीलाई सेभ द चिल्ड्रेनसंग जोड्दै दलित समस्याका विविध पक्षलाई सम्वोधन गराउन सफल भए ।

त्यसको पहिलो सुरुवात थियो १६ जिल्लाहरुमा डा.खगेन्द्र शर्माको नेतृत्वमा गराईएको दलितको सामाजिक, आर्थिक तथा अन्य अवस्थाहरुको अध्ययन । मेरो जानकारीमा आए अनुसार सन १९९२ तिर गरिएको दलित सम्वन्धि त्यो पहिलो वैज्ञानिक अध्ययन थियो ।

त्यसले दलितहरुको अवस्था कस्तो छ भन्ने तथ्याङ्कमा उजागर गर्‍यो । त्यसले युएसएआईडी र सेभ द चिल्ड्रेनलाई दलितको पक्षमा काम गर्नुपर्ने आवश्यक्ता वोध त गरायो । यो अध्ययनले अरु अन्तर्राष्ट्र्रिय संस्थाहरुलाई पनि झकझकाउने काम गर्‍यो।

अध्ययन लगत्तै युएसएआईडीले शिक्षामा दीर्घकालीन सुधारका लागि उच्च शिक्षा अध्ययन गर्न चाहाने दलितहरुका लागि अक्षय कोषको स्थापना गर्यो । सो अक्षयकोष अहिले पनि कायम छ । त्यसको व्यवस्थापन दलितका गैरसरकारी संस्थाहरु मध्ये सवैभन्दा पुरानो संस्था नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले गरि रहेको छ ।

३ दशकदेखि संचालनमा रहेको सो छात्रवृत्ति कार्यक्रमले लगभग रु २५ करोड लगानी गर्दै सन २०२१ मा ५०० छात्रछात्राले छात्रवृत्ति पाएका छन । हाल सम्म ५९०० त्यस मध्ये ३७९२ दलित छात्राहरुले छात्रवृत्ति पाएर आफ्नो भविष्य सुनिश्चित गरेका छन् । त्यस मध्येकी एउटी हुन वलमाया विश्वकर्मा, जो एउटा अधिवक्ताको रुपमा आफुलाई स्थापित गराई समाज परिवर्तनका लागि अभियन्ताको रुपमा खटिएकी छन् ।

नेपालमा अहिले जति पनि स्थापित दलितका गैरसरकारी संस्थाहरु छन्, उनीहरुको स्थापनादेखि विकासमा पनि किथ लेस्लीलको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान रहेको छ । त्यस मध्येका दलित महिला संघ, दलित सेवा संघ लगायत अरु धेरै छन् ।

थोमस कक्स भन्ने एकजना अमेरिकी मानवशास्त्रीलाई किथले नै नेपालका आईएनजीओहरुमा दलितहरुको उपस्थिति र अवस्था कस्तो छ भन्ने विषयमा अध्ययन गर्न लगाए । त्यो अध्ययनको सिलसिलामा दलित महिला संघकी संस्थापक अध्यक्ष दूर्गा सोव पनि सो अध्ययन भित्र परिन्।

यसको माध्यमवाट उनी र कमला हेमचुरीले अमेरिकाकी प्रख्यात महिलावादी अभियन्ता रोविन मोर्ग्यानको ३ दिने प्रशिक्षणमा भाग लिने अवसर पाए । यसको प्रेरणा स्वरुप दलित महिला संघको जन्म भएको थियो । अहिले दलित महिला संघ दलित महिलाको क्षेत्रमा मात्रै नभईकन महिला अधिकारको क्षेत्रमा पनि एउटा अग्रणी नाम भएको छ । उसंग अहिले नेपालका करीव ६० जिल्लामा भएका ५५ हजार दलित महिला आवद्ध छन् ।

पंचायतकाल भरि नेपालको दलित आन्दोलन जीवित त थियो तर वोल्न र लेख्न पाउने अधिकारवाट वंचित भएको हुंदा दलितका विविध विषयहरुमा वौद्धिक परामर्श अत्यन्त कम हुन्थे । भएका पनि त्यसको दस्तावेजीकरण गर्ने चलन थिएन ।

सन १९९३ तिर सेभ द चिल्ड्रेनले गराएको अध्ययनमा भाग लिएका दलित युवाहरुलाई दलित टास्क फोर्स ग्रुपको माध्यमवाट एउटा राम्रै सेमिनार गर्न लगाए । त्यसलाई उद्घाटन गर्ने कार्यक्रम प्रधानमन्त्री गीरिजाप्रसाद कोईरालाको भएता पनि पछि रामशरण महतले उद्घाटन गरे ।

त्यसमा डा.वावुराम भट्टराईले संभवतः दलितको विषयमा पहिलो कार्यपत्र प्रस्तुत गरे भने जनजाति नेता तथा अभियन्ता एमएस थापाले पनि अर्को कार्यपत्र प्रस्तुत गरे । त्यतिवेलासम्म म आफै दलित आन्दोलनसंग प्रत्यक्ष जोडिएको थिईन तर मैले पनि दलितका लागि विकास प्रवाह भन्ने कार्यपत्र लेखे, जुन मेरा लागि पनि दलित अधिकारको क्षेत्रमा लाग्ने कोशेढुंगा भयो ।

सोही टास्कफोर्स ग्रुप अहिलेको दलित सेवा संघको रुपमा कार्यरत छ । यसले पनि विभिन्न ठाउंमा दलितहरुको सहकारी तथा अन्य आय आर्जनका कामहरु सिकाउदै ५८ जिल्लामा आफ्ना कार्यक्षेत्रको विस्तार गरेको छ ।

किथले आफ्नो जीवनकालको प्राय सवै उर्वर समय नेपालमै विताए । प्राय अन्तर्राष्ट्रिय संस्थाहरुमा त्यहाको सिनियर पदमा ५ वर्ष भन्दा वढि विताउने प्रावधान हुदैन । अतः उनले यु एन, विश्व वैंक लगायतका संस्थाहरुमा पनि नेपालमै रहेर काम गरेका छन्, उनी जहां भए पनि दलितलाई प्राथमिकता दिने काम कहिल्यै छोडेनन ।

उनी युएनडिपिमा कार्यरत हुंदा संविधान निर्माणमा सघाउने उद्देश्यले एसपिसिविएन भन्ने भव्य कार्यक्रम हालको अल्फाविटा कम्ल्पेक्समा संचालनमा थियो । त्यसको हाकिमको रुपमा हाल नेपाल सरकारका सेवा निवृत्त सचिव डा. मान विकेलाई वनाउनमा उनको ठूलो भूमिका रह्यो ।

मानव अधिकार आयोगको परामर्शदाताको रुपमा कार्यरत रहंदा पनि उनले एकजना दलित अधिवक्तालाई युएनडिपिकै वरिष्ठ कर्मचारीको रुपमा राख्न सफल भए र हाल उनी युएनडिपिकै वरिष्ठ अधिकृतको रुपमा कार्यरत छन् । उनी विश्व वैंकमा कार्यरत रहदा नेपालमा स्थानीय सरकारहरुको जवाफदेहीता प्रवद्र्धन गर्ने कार्यक्रम रहेको थियो, सो कार्यक्रमलाई पनि वढि भन्दा वढि दलित संस्थाहरु माझ पुगोस भनेर उनले काम गरे ।

उनी अमेरिका फर्कि सके पछि पनि दलित गैर सरकारी संस्था महासंघका तत्कालिन अध्यक्ष डिवी सागर विश्वकर्माको अगुवाईमा स्थापना भएको इन्टरनेशनल कमिशन फर दलित राईट्स नामक संस्थाको संस्थापक सदस्यको रुपमा पनि आवद्ध रहे । अहिले उनी आफ्नो मातृभूमि अमेरिकाको शान्ताफे भन्ने सहरमा सेवानिवृत्त जीवन विताई रहेका छन् ।

तर पनि उनले वेला वेलामा मसंग सम्पर्कमा रहेर नेपालको दलित आन्दोलनको हालचाल सोधि रहन्छन् । हामीले दक्षिण एशियामा दलित नागरिक समाजको कुरा गर्यौं भने भारत र नेपाल यसमा अग्रणीको रुपमा आउंछन् । श्री लंका, वांग्लादेश तथा पाकिस्तानमा रहेका दलित अभियन्ताहरु उनीहरुलाई पछ्याई रहेका हुन्छन् ।

यसरी नेपाल अगाडि आउनुमा किथ लेस्ली जस्ता दलित आन्दोलनका अनन्य मित्रहरुको सुरुवाती साथ सहयोगले ठूलो भूमिका निर्वाह गरेको थियो भन्दा अत्युक्ति नहोला । उनको योगदानको कदर गर्दै नेपालका दलित गैरसरकारी संस्थाहरु दलित गैरसरकारी संस्था महासंघ तथा दलित समाज कल्याण संघले सम्मान सहित कदर पत्र दिएका छन् ।

यो अभियान किन जरुरी छ भने दलितको समस्या दलितहरुको मात्रै होईन, यो सम्पूर्ण न्यायप्रेमीहरुको समस्या हो । अतः त्यस्ता न्यायप्रेमीहरु मध्ये विशिष्ट योगदान गर्नेहरुको वारेमा जानकारी ल्याउंदा अन्यलाई पनि प्रेरणा हुने छ । किथ लेस्ली ती मध्ये एक हुन ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?