+
+

‘दिमाग खराब’प्रति ऐक्यबद्धता जनाउँदै निर्माता संघले भन्यो- अन्तिम लडाइँ लड्ने बेला आयो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक ३० गते १७:२४

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले फिल्म ‘दिमाग खराब’ले लिएको अडानप्रति ऐक्यबद्धता जनाएको छ । बिहीबार बसेको संघको बैठकले ‘दिमाग खराब’का निर्माता-निर्देशकले राखेको हलमा उचित शो र अन्तिम समयसम्म ५०-५० प्रतिशत सेयर पाउनुपर्ने अडानलाई साथ दिने निर्णय गर्दै संघर्षमा साथ दिने निर्णय गरेको हो ।

बैठकपछि संघका महासचिव सुनिलकुमार थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दिमाग खराब निर्माताले निर्णयप्रति ऐक्यवद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजोदेखिकै हो । यस्तो हेपाहा प्रवृत्तिलाई अन्त्य गर्नका लागि अन्तिम लडाइँ लड्नुपर्ने समय आइसकेको छ र निर्माता संघले उठाएका मुद्दामा सहमतिमा आउन प्रदर्शकहरुको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताको लागि आह्वान गर्दछौं । अन्यथा नेपाली चलचित्र निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशीलगायतका कुनै पनि भाषाका सिनेमाहरुको प्रदर्शन गर्न नदिई कडा रुपमा प्रस्तुत भई आन्दोलन अन्तिम लडाइँमा होमिने प्रष्ट पार्न चाहन्छौं ।’

संघले प्रदर्शकहरुले स्वदेशी निर्माता र सिनेमालाई स्वार्थ केन्द्रित साधनको रुपमा मात्र लिंदै आएको समेत दाबी गरेको छ ।

शुक्रबार रिलिज भएको ‘दिमाग खराब’का निर्माताले फिल्मले दर्शकको उच्च साथ पाउँदा-पाउँदै पनि विदेशी फिल्मको तुलनामा कम शो दिएको तथा पहिलो र दोस्रो साता झैं तेस्रो सातादेखि पनि प्रदर्शक र निर्माताबीच ५०-५० प्रतिशत सेयर बाँडफाँट हुनुपर्ने भन्दै बुधबार बेलुका २४ घण्टे अल्टिमेटम दिएको थियो । त्यसो नभएमा शुक्रबारबाट फिल्म रिलिज स्थगित गर्ने निर्माता-निर्देशकले घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?