+
+

युएईसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते ६:४८

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट चरणको खेलमा सयुंक्त अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ।

बिहीबार राति छनोट चरणअन्तर्गत समूह ‘एच’ को पहिलो लेगमा नेपाल यूएईसँग ४-० ले पराजित भएको हो। दुबईको अल मक्तुम स्टेडियममा भएको उक्त खेलमा यूएईका लागि अली माब्खोतले दसई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियाे लिमाले एक-एक गोल गरे।

१५ हजार दर्शक क्षमता रहेको दुबईको अल मक्तुम स्टेडियममा थुप्रै नेपाली दर्शकको समर्थन पाएको नेपाली टोलीले खेलको १०औं मिनेटमा नै पहिलो गोल बेहोरेको थियो। यूएईका लागि खालिफा मुबारक अल्हाम्माडीले खेलमा गोलको खाता खोलेका थिए। अलि सालेह आम्रोको पासमा हेडमार्फत गोल गर्दै उनले यूएईलाई १-० ले अग्रता दिलाएका थिए।

त्यस्तै, खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले गोल गर्दै अग्रता दोब्बर पारेका थिए। उनले पेनाल्टीमा युएइका लागि दोस्रो गोल गरेका थिए। त्यसैगरी खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि तेस्रो गोल गरे। पेनाल्टी बक्सभित्र दुई जनाले हेड मार्फत दिएको पासमा उनले पनि हेडिङमार्फत नै दोस्रो बार च्यापेको बलले जाली चुमेको थियो।

त्यस्तै, खेलको इन्जुरी समयको पहिलो मिनेटमा फाबियो भर्जिनियाे लिमाले गोल गर्दै पहिलो हाफसम्म युएईलाई ४-० ले अग्रता दिलाएका थिए । उनले पेनाल्टी बक्स भित्र चिप गरेको बल गोलमा परिणत भएको थियो। उनले अबडाला रमादान बेखिटको क्रसमा नेपाली गोलरक्षक किरणलाई विपरीत दिशामा डाइभ गर्न लगाउँदै उक्त गोल गरेका थिए।

दोस्रो हाफको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो । डिफेन्डर रोहित चन्द र गोलरक्षक किरणले विपक्षीका केही खतरनाक आक्रमणलाई विफल पारेका थिए। खेलको ४७औं मिनेटमा नेपालका आशिष चौधरीले पहेंलो कार्ड बेहोरेका थिए। उनले युएईका गोलकर्ता फाबियो भर्जिनियाे लिमालाई फाउल गरेका थिए।

नेपालले खेलको ८१औं मिनेटमा राम्रो अवसर पाएको थियो। मनिष डाँगीले पेनाल्टी बक्स नजिकैबाट गरेको कडा प्रहार युएईका गोलरक्षकले मुस्किलले बचाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?