+
+
Shares

नेपालमा उत्पादित इनर्जी ड्रिंक्समा क्याफिनको मात्रा सुरक्षित : खाद्य विभाग

इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य कुनै पनि पेय पदार्थमा मिसाएर नखान पनि विभागले अनुरोध गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते ११:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्स अन्तर्राष्ट्रिय सुरक्षित मापदण्डभित्र रहेको बताएको छ ।
  • विभागका अनुसार १७ वटा उद्योगका इनर्जी ड्रिंक्समा क्याफिन १ सय मिलिग्रामभन्दा कम पाइएकाले ती सुरक्षित सीमाभित्र छन् ।
  • विभागले बालबालिका, गर्भवती, सुत्केरी, मधुमेहका बिरामी र क्याफिनले असर गर्ने व्यक्तिलाई इनर्जी ड्रिंक्स नपिउन आग्रह गरेको छ ।

१२ कात्तिक, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालमा उत्पादित इनर्जी ड्रिंक्सहरू सुरक्षित रहेको बताएको छ ।

विभागले सूचना जारी गर्दै मानव स्वास्थ्य सुरक्षा र उपभोक्ता हित संरक्षणका लागि आफू प्रतिबद्ध रहेको जनाउँदै स्वदेशी उत्पादनहरूमा क्याफिनको मात्रा अन्तर्राष्ट्रिय सुरक्षित मापदण्ड भित्रै रहेको बताएको हो ।

विभागका अनुसार युरोपियन फुड सेफ्टी अथोरिटी (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (यूएस–एफडीए) जस्ता अन्तर्राष्ट्रिय संस्थाले एक स्वस्थ वयस्क व्यक्तिका लागि दिनभरिमा चिया, कफी लगायत सम्पूर्ण क्याफिनेटेड पदार्थबाट अधिकतम ४ सय मिलिग्रामसम्म क्याफिन उपभोग गर्नुलाई सुरक्षित मानेका छन् ।

हाल नेपाल सरकारबाट अनुमति लिएर १७ वटा उद्योगले इनर्जी ड्रिंक्स उत्पादन तथा बिक्री वितरण गरिरहेका छन् । विभागको प्रयोगशाला विश्लेषण र उत्पादनको लेबल विवरण अनुसार ती स्वदेशी उत्पादनमा प्रतिक्यान क्याफिनको मात्रा १ सय मिलिग्रामभन्दा कम रहेको पाइएको विभागको भनाइ छ ।

यो मात्रा मानव उपभोगका लागि तोकिएको दैनिक सुरक्षित सीमाको २५ प्रतिशतभन्दा पनि कम भएकाले नेपालमा उत्पादित इनर्जी ड्रिंक्स सुरक्षित रहेको विभागले जनाएको छ ।

इनर्जी ड्रिंक्स सुरक्षित पाइए तापनि यसको उपभोगमा विशेष सावधानी अपनाउन विभागले आम उपभोक्तालाई आग्रह गरेको छ । उत्पादनको लेबलमा उल्लेख हुने सचेतना सन्देश अनुसार बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनले असर गर्ने व्यक्तिले इनर्जी ड्रिंक्स सेवन गर्नु हुँदैन ।

यसैगरी उपभोग गर्न मिल्ने सामान्य व्यक्तिले पनि एक दिनमा ३ सय ३० मिलिलिटरसम्मका दुई क्यानभन्दा बढी इनर्जी ड्रिंक्स पिउन नहुने विभागको सुझाव छ ।

साथै इनर्जी ड्रिंक्सलाई पानी, जुस, दूध, मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टामा सेवन नगर्न र अन्य कुनै पनि पेय पदार्थमा मिसाएर नखान पनि विभागले अनुरोध गरेको छ ।

विभागले इनर्जी ड्रिंक्सका उत्पादक तथा विक्रेताहरूलाई विज्ञापन गर्दा अनिवार्य प्रचलित कानुन बमोजिम अनुमति लिन र उपभोक्ताका लागि सुरक्षित मात्रासहित सचेतना सन्देश प्रसारण गर्न निर्देशन दिएको छ ।

यसका साथै सञ्चारमाध्यम लगायत सरोकारवालालाई सर्वसाधारणमा भ्रम र त्रास सिर्जना नहुने गरी वैज्ञानिक तथ्यमा आधारित रहेरमात्र समाचार सम्प्रेषण गर्न अनुरोध गरिएको छ ।

यदि कुनै पनि उत्पादक वा विक्रेताले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१’ प्रतिकूल हुने गरी कार्य गरे कानुन बमोजिम कारबाही हुने चेतावनी विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?