+
+

पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको तयारी, विन्डम गार्डेनको व्यवस्थापन

सुवास पण्डित सुवास पण्डित
२०८० मंसिर १ गते १०:२३

१ मंसिर, चितवन । चितवनको पर्यटकीय केन्द्र पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको अन्तिम तयारी गरिएको छ । ५ बिघा क्षेत्रफलमा तयार गरिएको रिसोर्टमा ८५ करोड लगानी रहेको सञ्चालक दीपेन्द्र जोशीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको छेउमा राप्ती नदी किनारमा रहेको रिसोर्ट सन् २०२४ को जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको सञ्चालक जोशीले बताए ।

होटलमा ४६ वटा कोठा र २ वटा हल तथा गार्डेन छ । सञ्चालक जोशीका अनुसार कोठालाई स्ट्याण्डर्ड, स्वीट, प्रिमियम र नर्मल गरेर ४ क्याटेगोरीमा बाँडिएको छ । २ वटा स्वीट, २४ वटा प्रिमियम, ८ वटा नर्मल र १० वटा स्ट्याण्डर्ड कोठाहरु छन् । १५०/१५० जना अट्ने २ वटा सुविधा सम्पन्न हलहरु छन् ।

एउटा रेष्टुरेन्ट, भिल्लासहित गरेर १३ वटा स्वीमिङ्ग पुल छन् । रिसोर्टका १२ वटा कोठाका अलग–अलग स्वीमिङ्ग पुल छन् । स्पा, जिम लगायतका सबै सुविधा रिसोर्टमा छन् । रिसोर्ट चल्दा १ सय जनाले प्रत्यक्ष रोजगारी पाउने जोशीले बताए ।

रिसोर्टका ३४ वटा कोठाहरू राप्ती नदी र निकुञ्जतर्फ फर्किएका छन् । ‘हरेक भिल्लाबाट निकुञ्ज र राप्ती नदीको मनोरम दृश्य देख्न सकिन्छ, कोठाबाट नै गैंडा, बाघ, गोही, मृग र विभिन्न प्रजातिका चरा सजिलै देख्न मिल्ने गरी डिजाइन गरेका छौँ’ रिसोर्टका आर्किटेक इन्जिनियर डिल्लीराम सापकोटाले भने, ‘अन्य रिसोर्टमा भन्दा यसको विषेशता नै यही हो की, यहाँ आउँदा फरकपनको अनुभूति हुन्छ ।’ कोठाबाट सजिलै राप्ती नदी र राष्ट्रिय निकुञ्ज देख्न नसक्नेहरुले स्वीमिङ्ग पुल नजिकै बनाइएको डेगबाट हेर्न सकिने व्यवस्था गरिएको छ ।

सबैजसो भिल्लाको बाहिरी डिजाइन थारुहरूको परम्परागत घर जस्तो होस् भनेर सोही अनुसार बनाइएको इन्जिनियर सापकोटाले बताए । ‘भित्र सबै आधुनिक सुविधा छ, बाहिरी लुक्स मात्रै परम्परागत देखाउन खोजिएको हो’ सापकोटा भन्छन्, ‘जमिनबाट केही माथि उठाएर बनाएका छौं, ताकी बाढी र सर्पको सम्भावित जोखिमसमेत नहोस् ।’

विगत पाँच वर्ष अगाडिदेखि निर्माण थालिएको रिसोर्ट कोभिडको महामारीका कारणले तयारीमा ढिलाइ हुन पुगेको सञ्चालक जोशीले बताए । जोशी विगत १२ वर्षदेखि पर्यटन क्षेत्रमा छन् । सुरूमा जगतपुरको टाइगरल्याण्ड रिसोर्ट सञ्चालन गरेका उनी पटिहानी क्षेत्रमा सिफ्ट भएका हुन् ।

रिसोर्टको व्यवस्थापन चर्चित अमेरिकी ब्राण्ड विन्डम गार्डेनले गर्ने गरी नोभेम्बरमा सम्झौता गरिएको छ । विन्डम २४ वटा व्राण्डमध्ये गार्डेन ब्राण्ड अन्तर्गत रिभर बैंक जंगल रिसोर्ट पनि रहनेछ । विन्डमका विश्वभर ९ हजार ६ सय आउटलेट छन् । ३० वर्षका लागि विन्डमसँग व्यवस्थापन सम्झौता गरिएको सञ्चालक जोशीले बताए । भियतनाम लगायतका विभिन्न देशबाट विन्डमले पर्यटकहरू बढी ल्याउने गर्दछ । विभिन्न देशमा चेन रहेको रिसोर्टको क्षेत्रमा ठूलो चेन विजनेस भएकाले नेपालको पर्यटन तथा होटल क्षेत्रमा यो महत्वपूर्ण हुने विश्वास आफूले लिएको सञ्चालक जोशीको भनाइ छ ।

पटिहानी क्षेत्रमा रिभर बैंक जंगल रिसोर्टसहित ६ वटा लक्जरी रिसोर्ट खुलेको भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले बताए । सो क्षेत्रमा रहेका अधिकांश लक्जरी रिसोर्ट पछिल्लो २ महिनादेखि भरीभराउ छन् ।

यो क्षेत्रमा जंगल भिल्ला, सोल्टी वेटर्न, कसरा रिसोर्ट, नारायणी रिसोर्ट, इन्टु द वाइल्ड इको रिसोर्ट सञ्चालनमा छन् । पटिहानी नजिकै जगतपुरमा जगतपुर लज र टाइगर ल्याण्ड रिसोर्ट सञ्चालनमा छन् ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?