+
+

राजनीतिक दलहरुका कारण गणतन्त्रमाथि प्रश्न उठ्‍यो : शेखर कोइराला

'टिकटक बन्द गर्नु गैरजिम्‍मेवार कुरा हो'

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १ गते १७:५२

१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक दल  र  नेतृत्वका कारण गणतन्त्रमाथि प्रश्न उठेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले राजनीतिक दलका कारण गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको बताएका हुन् । अहिलेको  व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा समयले देखाउने उनले बताए ।

‘हामीले गणतन्त्रका लागि आन्दोलन गर्‍यौं, गणतन्त्र प्राप्त गर्‍यौं, के को लागि भन्ने कुरा बिर्सियौं जस्तो लाग्छ, भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि दण्डहीनतालाई बढाउन ल्याएको हो कि ?’ उनले भने, ‘यी कुराबाट जनता आजित भएका छन्, जनता निराश भएका छन्, गणतन्त्र आफैंमा खराब होइन, राम्रो व्यवस्था हो, तर हाम्रो कारणले, राजनीतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्नचिह्न लागेको मात्रै हो  ।’

अब कसरी जान्छ भन्ने  प्रश्नमा उनले भने, ‘कसरी जान्छ भन्ने कुरा त मलाई चिन्ता लागेको छैन, यो समयले देखाउँछ ।’ त्यसका लागि (सुधारका लागि) नेतृत्व लिन किन तपाईं अग्रसर हुनुभएन भन्ने प्रश्नमा उनले भने, ‘नेतृत्व आउँछ नि, समय लाग्छ, समय बडाे बलवान हाे ।’

उनले सरकारले आफूलाई सुधार गर्दै जानुपर्ने बताए । सरकार अराजक रुपमा प्रस्तुत भएका कारण मानिस निराश भएको उनको  भनाइ छ ।

‘मिडियाले सरकारको विरोध गरेन भने सरकार कसरी अघि बढ्छ, सरकारले आफूलाई सुधार गर्दै जानुपर्छ’ उनले भने, ‘सरकार अराजक भएर बोल्दै जाने ? प्रधानमन्त्रीले विराटनगरमा आएर बोल्नुभयो, भोट दिनुहोस् जातीय राज्य दिन्छौं भन्नुभयो, यस्तो अराजक  हिसाबले बोल्दाखेरि मान्छे निराश हुन्छन नि, मान्छेले बाटो खोजिरहेको हुन्छ ।’

फरक प्रसँगमा उनले कोशी प्रदेशका सांसदले नेपाली कांग्रेसलाई बचाएको बताए । ‘कोशीका माननीयज्यूहरुलाई  म  सलाम गर्छु, उहाँहरुले नेपाली कांग्रेसलाई बचाइदिनुभयो’ उनले भने, ‘सात प्रदेशमा कांग्रेसले चार वटा प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार  छ । माओवादीलाई दिएको भए ३-३ वटा प्रदेश हुन्थ्यो, त्यो बेला हाम्रो अनुहार कति मलिन हुन्थ्यो हामीले बुझ्न सकेनौं, हाम्रो स्टेन्थ हुँदाहुँदै त्यसलाई नजरअन्दाज गर्यौं, म यहाँका माननीयलाई नमन गर्छु ।’

अब कोशी प्रदेशमा बजेट पास गरेपछि सरकार विस्तार हुने उनले बताए ।

डा.कोइरालाले टिकटकमाथि सरकारले प्रतिबन्ध  लगाएर गलत गरेको बताए । ‘म बन्द गर्नुपर्छ भन्ने पक्षको मानिस होइन’ उनले भने, ‘नियमन गर्नुपर्छ, नियमन गर्ने उपाय छन्, नियमन नगर्ने हठात् टिकटक बन्द गर्ने गैर-जिम्मेवार कुरा  हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?