+
+

‘टाइगर ३’ लाई उछिन्दै दोस्रो सप्ताहान्त घरेलु बक्स अफिसको शीर्षस्थानमा ‘दिमाग खराब’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १३:०५

काठमाडौं । बलियो ‘वर्ड अफ माउथ’ र लगातारको तिहार बिदाको फाइदा उठाउँदै ‘दिमाग खराब’ले दोस्रो सप्ताहान्त आक्रामक व्यापार गरेको छ । दोस्रो शनिबारसम्म आइपुग्दा निश्चल बस्नेत निर्देशित फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ ।

अकुपेन्सी र शोका आधारमा सलमान खान स्टारर ‘टाइगर ३’ दोस्रो स्थानमा झरेको छ । दोस्रो शनिबार काठमाडौं र उपत्यका बाहिरका हलमा बलिउडभन्दा नेपाली फिल्मको अकुपेन्सी उच्च देखियो । कतिपय हलमा ‘दिमाग खराब’को ओभरफ्लो ‘टाइगर ३’ ले पाएको देखियो ।

वितरक गोविन्द शाहीले पहिलो साता फिल्मको कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि उक्लिएको बताए । दोस्रो सप्ताहान्त फिल्मले लगानी उठाउने प्रक्षेपण वितरक शाहीले गरे ।

निर्माताले बजेट चार करोड भनेका छन् । छठ पूजाको बिदा अवसरमा आइतबार पनि फिल्मले उछाल कमाइ गर्ने पक्का छ । फिल्म प्रवर्द्धनकै लागि निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का सहितको टोली जिल्ला भ्रमणमा छन् । शनिबार चितवनमा दर्शकलाई भेट्न पुगेका उनीहरुले आइतबार पोखरा सिनेप्लेक्समा दर्शकसँगै फिल्म हेर्ने कार्यक्रम छ ।

अनलाइनखबरसँग कुरा गर्दै निश्चलले कतिपय हलमा ‘दिमाग खराब’को शोमा दर्शकको ओभरफ्लो भएपछि त्यसको फाइदा ‘टाइगर ३’ लाई पुगेको देखिएको बताए । ‘नेपाली फिल्मका लागि यो अहिलेसम्म नभएको कुरा हो । यसमा हामीले गर्व गर्नुपर्छ । यो सबै हेर्दा हाम्रो फिल्मले धेरै शो पाउन जरुरी छ । कतिपय दर्शकले अझै फिल्म हेर्न पाउनुभएको छैन’, उनले भने ।

ठूला स्टारको हिन्दी फिल्मको कमाइलाई समेत उछिनेको यो उदाहरणले नेपाली फिल्मको नजरियालाई परिवर्तन गर्ने निश्चलको विश्लेषण छ । हुन पनि, दोस्रो सप्ताहान्तमै ‘टाइगर ३’ को अकुपेन्सी ओरालो लाग्दा ‘दिमाग खराब’ उकालो लागेको देखिएको छ । बलियो वर्ड अफ माउथ, लगातारको सार्वजनिक बिदा र स्टार सहभागी भएकाले पनि ‘दिमाग खराब’ले राम्रो व्यापार गर्न सकेको देखिएको छ ।

सिनेमा आर्ट र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण भएको ‘दिमाग खराब’ले एक आम नागरिकले व्यवस्था विरुद्ध गर्ने लडाईंको कथा पेश गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?