+
+

युवा संघ र दुर्गा प्रसाईंलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने प्रशासनको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १९:११
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत ।

३ मंसिर, काठमाडौं । युवा संघ र दुर्गा प्रसाईंले ७ मंसिरका लागि तोकेको कार्यक्रम एकैठाउँमा गर्न प्रशासनले नदिने भएको छ ।

दुवै पक्षले ७ मंसिरमा बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलबाट शक्ति प्रदर्शन गर्ने निर्णय गरेका थिए । तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गरेर दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अनलाइनखबरलाई बताए ।

‘माइतीघर मण्डल मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, उनले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भन्छौं ।’

वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

स्रोतका अनुसार, जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई छलफलका लागि समेत बोलाएको छ । त्यसक्रममा कार्यक्रमका लागि वैकल्पिक स्थान रोज्न निर्देशन दिने प्रशासनको तयारी छ ।

युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै निवेदन दिइसकेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन । यद्यपि, छलफलका लागि दुवै पक्षलाई प्रशासनले बोलाइसकेको छ ।

‘उहाँहरुलाई सार्वजनिक घोषणा गरेको भएपनि एकै मिति, समय र स्थानमा कार्यक्रम गर्न दिन सकिन्न’, प्रजिअ बस्नेत भन्छन्, ‘त्यसैले दुवै पक्षलाई छलफलका लागि बोलाइसकेका छौं ।’

गृहमा उपत्यकाका सीडीओ र सुरक्षा अधिकारीहरुसँग छलफल

स्रोतका अनुसार, युवा संघ र दुर्गा प्रसाईं पक्ष आमनेसामने हुँदा सिर्जना हुनसक्ने सम्भावित परिस्थितिबारे गृह मन्त्रालयमा आइतबार छलफल भएको छ ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहितको बैठक गृहसचिव दिनेश भट्टराईले बोलाएका हुन् ।

स्रोतका अनुसार, झण्डै तीन घन्टासम्म चलेको बैठकमा सीडीओ र सुरक्षा अधिकारीहरुले माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्नुपर्ने राय दिएका थिए । उग्र भिड माइतीघर मण्डल पुगेर तनावको स्थिति सिर्जना भए परिस्थिति नियन्त्रणबाहिर जानसक्ने भन्दै माइतीघर मण्डललाई निषेधित क्षेत्र तोक्न उनीहरुले सुझाव दिएका हुन् ।

‘कार्यक्रम त माइतीघरमा दुवै पक्षलाई गर्न दिनै हुँदैन भन्नेमा सबैको एकमत रह्यो’, छलफलमा सहभागी एक अधिकारीले भने, ‘माइतीघर मण्डललाई समेत निश्चित दिन तोकेर निषेधित क्षेत्र घोषणा गर्नुपर्ने मत बलियो गरी उठेको छ ।’

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले माइतीघर मण्डलमा प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको थियो । तर सर्वोच्च अदालतले उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि प्रदर्शनहरु माइतीघर मण्डल केन्द्रित हुँदै आएका छन् । तर, यसपटक सुरक्षा चुनौतीको कारण खुलाएर स्थानीय प्रशासन ऐन, २०२८ अनुसार निश्चित समयका लागि निषेधित क्षेत्र तोक्न सकिने अधिकारीहरुले बताएका छन् ।

युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?