+
+

भारतमा छायांकन हुने विदेशी फिल्मलाई ४० प्रतिशत प्रोत्साहन सुविधा दिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १३:४१
भारतका सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुर

काठमाडौं । विदेशी फिल्मको छायांकनलाई आकर्षित गर्न भारत सरकारले प्रोत्साहन शुल्कमा वृद्धिसहितका महत्वपूर्ण घोषणा गरेको छ । कान्समा गत वर्ष घोषणा भएको ३० प्रतिशत प्रोत्साहन शुल्कलाई बढाएर ४० प्रतिशत पुर्‍याइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घोषणाअनुसार सरकारले राखेका सर्त पूरा भए भारतमा छायांकन हुने विदेशी फिल्मको कुल खर्चको ४० प्रतिशत सरकारले व्यहोर्नेछ । क्याप सीमा पनि २५ मिलियन भारुबाट बढाएर ३०० मिलियन भारु पुर्‍याइएको भेराइटी म्यागजिनले उल्लेख गरेको छ । भारतीय कथावस्तुमा आधारित फिल्म छ भने अहिले पनि पाँच प्रतिशत बोनसको सुविधा छ ।

भारतको सूचना तथा प्रसारण मन्त्रालय र विदेश मन्त्रालयबाट १ अप्रिल २०२२ पछि छायांकनको अनुमति लिएका फिल्म मात्र यो प्रोत्साहनका लागि योग्य हुने जनाइएको छ ।

प्रोत्साहन रकम दुई चरणमा वितरण हुनेछ । जसमा प्रोजेक्ट सुरु भएको बीचमा र काम सकिएपछि भन्ने छ । भारतमा फिल्म सुटिङ सकिएपछि अन्तिम भुक्तानी दाबी गर्न सकिनेछ । विशेष प्रोत्साहन मूल्यांकन समितिको सिफारिस बमोजिम प्रोत्साहन वितरण हुने उल्लेख छ । राष्ट्रिय चलचित्र विकास संस्थान (एनएफडीसी)ले यो मामिला हेरिरहेको छ ।

सोमबारदेखि गोवामा सुरु भएको ५४ औं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतका सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले उक्त घोषणा गरेका हुन् । उनले भने, ‘फिल्म उत्पादनलाई प्रोत्साहन गर्ने घोषणाले कलात्मक अभिव्यक्तिको विकासका लागि भारतको प्रतिबद्धता र समर्थन पुष्टि गर्छ । साथै, भारतलाई अन्तर्राष्ट्रिय फिल्म सुटिङको लागि प्रवर्द्धन गर्नेछ ।’

उनले थप भने, ‘यो कदमले देशमा मध्यम र ठूला बजेटको अन्तर्राष्ट्रिय फिल्मको सुटिङलाई आकर्षित गर्न भारतको प्रयासलाई थप गति दिनेछ । यो घोषणा विदेशी फिल्म निर्माणलाई सुव्यवस्थित बनाउन र भारतमा व्यापार गर्न सजिलो तुल्याउने सुनिश्चित गर्ने प्रयासको एक हिस्सा हो ।’

महोत्सव उद्घाटन समारोहमा बलिउड अभिनेत्री माधुरी दीक्षितलाई भारतीय फिल्म उद्योगमा पुर्‍याएको योगदानप्रति सम्मान गरिएको थियो । यो सम्मानको क्रममा भारतीय फिल्मकर्मीहरु सनी देओल, करण जोहर, शाहिद कपुर, श्रिया सरन, नुसरत भरुचा, पंकज त्रिपाठी, शान्तनु मोइत्रा, गायिका श्रेया घोषाल लगायतको उपस्थिति थियो ।

त्ययसअघि आइतबार दक्षिण एसियाको सबैभन्दा ठूलो फिल्म बजारको उद्घाटनमा गुगलका भारत प्रमुख सञ्जय गुप्ता, ठाकुर र एनएफडीसीका एमडी प्रितुल कुमारले हिन्दीभाषी सिनेमाको अनलाइन प्रदर्शनी गरेका थिए, जसमा १२० क्युरेट गरिएका कथा, ५ हजार तस्वीर र १५ सय भन्दा बढी भिडियो, पोस्टर र गीत छन् ।

फेस्टिभल अन्तर्गत सुरु भएको फिल्म बजारमा सहभागी हुन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी सोमबार गोवा पुगेका छन् । नेपालले बजारमा स्टल पनि खडा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?