+
+

अन्तर्राष्ट्रिय उडानका लागि दबाब दिन भैरहवामा मेलाको प्रवेशद्वारमा जहाज

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ५ गते १८:३९

५ मंसिर, बुटवल । गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनको दबाब दिन भैरहवामा शुरू हुन लागेको छैठौं लुम्बिनी प्रादेशिक औद्योगिक ब्यापार मेला तथा पर्यटन महोत्सवको प्रवेशद्वार जहाज आकृतिको बनाइएको छ ।

सिद्धार्थनगर–८ अञ्चलपुरमा रुपन्देही चेम्बर अफ कमर्सको आयोजनामा बुधबार सुरु हुन लागेको प्रादेशिक महोत्सवमा सरकारलाई दबाब दिन र ब्यङ्ग्य गर्न जहाजको झल्को दिने मूल गेट बनाइएको आयोजकले जनाएको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नभएपछि विमानस्थल लक्षित गरी पर्यटन क्षेत्रमा भएको अर्बौं लगानी डुब्ने चिन्तामा रुपन्देहीका व्यवसायी छन् ।

महोत्सव तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले व्यवसायीको चिन्तालाई मनन् गर्दै अन्तर्राष्ट्रिय उडान नियमित गर्न सरकारी निकायको ध्यान जाओस् भनेर पाँच लाख रुपैयाँ खर्चेर जहाजको आकृतिमा प्रवेशद्वार बनाएको बताए ।

‘गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुनु पर्दछ भन्ने मागसहित ३२ संस्था आन्दोलनमा पनि छन्, यो सोही आन्दोलनको झल्को हो’, अध्यक्ष श्रेष्ठले भने, ‘महोत्सव उद्घाटन र समापन गर्न आउने संघीय र प्रदेश सरकारका मन्त्रीहरु, सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिलाई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्छ भन्ने सन्देश र दवाव दिन जहाजको आकृतिमा बनेको प्रवेशद्वारले झक्झकाउने छ ।’

रुपन्देही चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले विमानस्थललाई हेरेर निजी क्षेत्रबाट पाँचतारे सहित तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब रुपैयाँ लगानी भएको तर नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने चिन्तामा व्यवसायी रहेका बताए ।

विमानस्थल बनाउन करिब ४० अर्ब रुपैयाँ लगानी भएको छ । व्यवसायीका माग सम्बोधन नभए मंसिर २५ पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमा नाका बेलहियासमेत ठप्प पार्ने स्थानीय व्यवसायीको मागप्रति मेला आयोजकको पनि ऐक्यवद्धता रहेको भण्डारीले बताए ।

स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्द्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बचाऔं’ भन्ने नारासहित मंसिर १८ गतेसम्म चल्ने महोत्सवमा ३ सय स्टल रहने र ३ लाख दर्शकलाई अवलोकन गराई २५ करोडको कारोबार गर्ने लक्ष्य रहेको महासचिव लक्ष्मी अधिकारीले बताइन् ।

टिकट काट्ने रकम नभएकाहरुलाई शनिबार र सार्वजनिक बिदाको दिनबाहेक अन्य दिनमा बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव अधिकारीले जानकारी दिइन् । मेला मूल आयोजक समितिका सह–संयोजक अनिलकुमार ज्ञवालीले सरकारले स्थायी मेला स्थलको व्यवस्था नगर्दा मेलाका लागि अस्थायी संरचना बनाउन र भत्काउनमा मात्रै वर्षेनी ५० लाख रुपैयाँ खर्च हुने बताए ।

उनले विमानस्थल उद्घाटन भएको डेढ वर्षसम्म पनि नियमितरुपमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा निजी क्षेत्रको अर्बौं लगानी डुब्न लागेको भन्दै व्यवसायीले रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको बताए ।

निजी क्षेत्र र सामाजिक संघसंस्थाका गरी ३२ वटा संस्था आबद्ध सिद्धार्थ संजाल रुपन्देही गत कात्तिक १४ गतेदेखि ३५ दिनको अल्टिमेटम दिएर आन्दोलनमा छन् ।

२०७९ जेठ २ गते उद्घाटन भएको विमानस्थलमा अहिलेसम्म नियमित उडान हुन सकेको छैन । उद्घाटनकै दिनबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको जजिरा एयरलाइन्सले केही समयपछि नै आफ्ना उडान रोकेको छ । यस्तै, केही समय चार्टर्ड उडान भरेको हिमालय एयरले पनि उडान रोकेको छ । अहिले नेपाल एयरलाइन्सले सातामा एक उडान मात्र गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?