+
+

प्रसाईं समूहको प्रदर्शन रोक्न प्रहरी धरपकड

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते २१:४५

८ मंसिर, काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शनलाई रोक्न गृह प्रशासनले उनका समर्थकलाई जहाँ भेट्यो, त्यहीँ नियन्त्रणमा लिने नीति लिएको छ ।

बिहीबार बल्खु क्षेत्रमा कम्तिमा ६ हजारको उपस्थितिमा शक्ति प्रदर्शन गरेर उत्साहित प्रसाईंले आन्दोलनको निरन्तरता स्वरुप शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तीनकुनेमा कार्यक्रम गर्न प्रसाईंले अनुमति नलिएको भन्दै तितरवितर पार्न प्रहरीलाई निर्देशन दियो ।

स्रोतका अनुसार, गृह मन्त्रालयले प्रसाईंलाई कार्यक्रम गर्न नदिन भन्दै आदेश दिएपछि प्रशासनले शुक्रबार बिहानै उनले अनुमति नलिएको भन्दै सूचना जारी गरेको थियो । जबकि, सुरक्षा सम्बद्ध अधिकृतहरुले २ देखि ३ दिनसम्म प्रसाईंको प्रदर्शनलाई नचलाउने हो भने भीड स्वतः कम हुँदै जाने रिपोर्टिङ गरेका थिए ।

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल ठकुरी पनि ०४६ सालदेखि काठमाडौंमा भएको आन्दोलनको प्रकृति हेर्दा स्थानीयवासी आन्दोलनमा ननिस्किए २÷३ दिनभन्दा बढी प्रदर्शन टिक्न नसक्ने देखिएको बताउँछन् ।

‘बाहिरबाट आएका मान्छेहरुले २, ३ दिनभन्दा बढी धान्दैनन्’ मल्लले भने, ‘अझ अहिले जाडोको समय छ, खर्च व्यवस्थापनको कुरा पनि आउँछ । लामो समयसम्म जान गाह्रो हुन्छ ।’

यस्तोमा सरकारले भने प्रसाईंलाई धरपकड गर्ने नीति लिएर प्रसाईंलाई सहज बनाइदिएको सुरक्षा सम्बद्ध अधिकृतहरु बताउँछन् । तीनकुनेमा प्रदर्शनका लागि भन्दै आएका कम्तिमा ४० जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्का, मनिन्द्रराज भण्डारीसहित ५ जना व्यक्ति पक्राउ परेको विवरण सार्वजनिक गरेका थिए । तर जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतबाट प्राप्त सूचना अनुसार, कम्तिमा ४० जनालाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।

बाटोबाटै नियन्त्रणमा लिन थालेपछि प्रदर्शनमा सहभागी नहुने बुझाइ अनुसार, प्रहरीलाई धरपकड गर्न निर्देशन दिइएको स्रोत बताउँछ । त्यसक्रममा सडकमा हिँड्दा समेत पक्राउ गरिएको पक्राउ परेका कतिपयको दाबी छ । पक्राउ परेका अधिकांशलाई प्रहरी वृत्त, बानेश्वर परिसरमा राखिएको थियो । केहीलाई जिल्ला प्रहरी परिसर, टेकुमा राखिएको थियो ।

अनलाइनखबरलाई प्राप्त सूचना अनुसार, पक्राउ पर्नेहरुमा विनिता थापा, देवेन्द्र थापा, मिना शाही ठकुरी, क्षितिज तिमिल्सिना, नरबहादुर सिल्वाल, आङ्निमा शेर्पा, नवराज अधिकारी, तेजनारायण कँडेल, कौशल आचार्य, मुकुन्दप्रसाद भण्डारी, सुजन खड्का, गगन थापा, गणेश पराजुली छन् । त्यस्तै उमेश आले मगर, आशाबहादुर घिमिरे, श्याम तिमिल्सिना, हरि थापा राजु भारती, प्रेमप्रसाद घिमिरे, यमकुमार मैनाली, हरिप्रसाद दाहाल, दिलबहादुर घिमिसङ, धन सिल्पकार, मिना श्रेष्ठ, वीरेन्द्र सेन र सबिता क्षेत्री पनि पक्राउ परेका छन् ।

उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाका अनुसार, पक्राउ परेकाहरुलाई शुक्रबार साँझसम्ममा स्क्रीनिङ गरेर मुद्दा चलाउनुपर्ने बाहेकलाई छाडिने छ । ‘बिहीबार प्रहरीलाई गरेको ढुंगा प्रहारमा संलग्नबाहेक अरु छुट्छन्’, थापाले अनलाइनखबरसँग भने ।

प्रसाईं दिनभर घरमै

शुक्रबार बिहानैदेखि प्रसाईंको निवास वरपर सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति थियो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली तैनाथ भएपछि प्रसाईंले आफूलाई ‘नजरबन्द’मा राखिएको प्रचार गराउँदै सद्भाव बटुल्ने कोशिश गरे ।

बिहीबार पनि उनले प्रचार गरिएजति मानिसहरु भेला पार्न सकेका थिएनन् । बरु उपत्यका ट्राफिक प्रहरी कार्यालयले अत्यावश्यकबाहेक सवारी साधन लिएर ननिस्किन भन्दै निकालेको सूचनाका कारण मानिसहरुमा अनावश्यक डर सिर्जना भएको थियो । कतिपय शैक्षिक संस्थाहरु पनि बन्द भएका थिए ।

बुधबार राति प्रसाईंको प्रदर्शनमा आएका महिलाहरुलाई समेत युवा संघको एउटा समूहले लखेट्ने प्रयास गरेको थियो । उनको प्रदर्शनसँग जुधाएर बिहीबार युवा संघले पनि कार्यक्रम राखेको थियो । तर प्रसाईंले शुक्रबारबाट नेपाल बन्द गर्ने घोषणा गर्दै व्यवस्था परिवर्तनको आन्दोलन निरन्तर चल्ने घोषणा गरेका थिए ।

सुरक्षा संयन्त्रले उनको आन्दोलन शुक्रबारदेखि क्रमशः कमजोर हुँदै जाने विश्लेषण गरेपनि गृह प्रशासनले प्रसाईंविरुद्ध कडा रुपमा प्रस्तुत हुने नीति अख्तियार गरेको थियो । उनले शुक्रबार घरभित्रै पत्रकार सम्मेलन गरेका थिए । प्रसाईँले ‘नजरबन्द’मा राखिएको भन्दै प्रचार गराएपछि प्रहरीले सुरक्षाका लागि मात्र सुरक्षाकर्मी खटाएको भन्दै स्पष्टीकरण दिनुपरेको थियो ।

भक्तपुर प्रहरी प्रमुख एसपी वेद विष्ट भने, ‘उहाँको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित भएको हो, तर कतिपयलाई यसमा कन्फ्यूजन भएको देखियो ।’ शुक्रबार साँझसम्ममा प्रहरीले त्यहाँ राखिएका सुरक्षाकर्मी पनि हटाएको जनाएको छ । प्रसाईंको आन्दोलनमा राजावादी र हिन्दु अतिवादीको घुसपैठ भएकाले उच्च सतर्कता अपनाउनु परेको सरकारी अधिकृतहरुको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?