+
+

उत्तराखण्डमा सुरुङभित्र फसेका मजदुरको १७ औं दिनसम्म पनि भएन उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १०:५१

१२ मंसिर, काठमाडौं । भारतको उत्तराखण्डको सिलक्यारा सुरुङमा मजदुरहरु फसेको आज १७ औं दिन पुगिसक्दा पनि अझै उद्धार हुन सकेको छैन ।

मेसिनबाट उद्धारको काम प्रभावित भएपछि अहिले हातैले खनेर उद्धारको प्रयास भइरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिलक्यारामा सुरुङ निर्माण खन्ने क्रममा १२ नोभेम्बरको दिन एक भाग भत्किएर त्यहाँ भित्र काम गरिरहेका ४१ जना मजदुर फसिरहेका छन् । उनीहरुलाई सानो पाइपको माध्यमबाट खाना, पानी र औषधि भने पठाइएको छ । उनीहरुलाई बाहिर निकाल्न ठाडो र तेर्सो खनेर पाइप घुसाउने काम भइरहेको छ ।

यसअघि मजदुरहरुलाई उद्धारका लागि जमिनभित्र पाइप पुर्याउन ओगर मेसिनले डि्रल गर्न सुरु गरिएको थियो । तर जमिन खन्ने मेसिन नै भाँचिएपछि उद्धारकार्य प्रभावित भएको थियो ।

भाँचिएको भाग काटेर निकालेपछि अहिले हातैले खनेर मान्छे छिर्ने पाइप सुरुङभित्र घुसाउने प्रयास भइरहेको छ ।

भारतीय मिडिया द क्वीन्टका अनुसार दुई मिटरसम्म म्यानुअल डि्रलिङ -हातले खन्ने काम) भइसकेको छ । समाचार अनुसार हातले खन्दै माटो बाहिर फ्याँक्ने र मेसिनमार्फत् पाइप घुसाउँदै जाने काम भइरहेको छ ।

मजदुरहरुलाई निकाल्न पहाडको माथिबाट पनि भर्टिकल -ठाडो गरी) मेसिनले खन्ने काम भइरहेको छ । कुल ८६ मिटर ड्रिल गर्नुपर्नेमा ५० मिटर गहिरो डि्रल भइसकेको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बताएका छन् ।

भारतका मौसमविदले पानी पर्ने प्रक्षेपण सार्वजनिक गरेकाले उद्धारको काम प्रभावित हुने हो कि भन्ने चिन्ता थपिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । उनले सुरुङभित्र १७ दिनदेखि थुनिएका मजदुरहरुका लागि देवीदेवताहरुसँग प्रार्थना गरेको भन्दै ट्वीट पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?