+
+

थारु संस्कृतिलाई चित्रकलामार्फत संरक्षण गर्दै मित्थु

रासस रासस
२०८० मंसिर १५ गते १३:४१

१५ मंसिर, जानकी (बाँके) ।  मित्थु थारुले आइतबार बिहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए ।

कैलालीको जानकी गाउँपालिका-३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन् । माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै गए ।

चित्रकलाको चार वर्षे अध्ययन पूरा गरेर विगत दुई वर्षदेखि व्यावसायिक रुपमा उनले काम गर्दै आएका छन् । मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए ।  पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी रू २५ हजार पाएको उनले बताए ।

‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ । त्यसबाट रू २५ हजार पाएको थिएँ’, मित्थुले भने । उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक रू ७० हजारदेखि एक लाखसम्म हुने गर्दछ ।

यतिबेला उनले बाँकेको बैजनाग गाउँपालिका-१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन् । उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन् ।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्ति कुँदेबापत रू २५ देखि ३० हजारसम्म लिने गरेको मित्थुको भनाइ थियो । व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए ।

मित्थुले दाङको दगीशरण-३ चखौरा गाउँमा थारु संस्कृति सङ्ग्राहलयमा चित्र र मूर्ति बनाइरहेका छन् । थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उनको भनाइ थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?