+
+

सिर्जनाले रङ्गियो ‘नेपाल–भारत सम्बन्ध’

रासस रासस
२०८० चैत २४ गते १७:५२

२४ चैत, काठमाडौं । काँकडभिट्टा बस्ने कलाकार तेटेन शेर्पा नेपाल र भारत सम्बन्धका विषयमा कला सिर्जना गर्दै आएका छन् । उनी नेपाल र भारतका कलाकारका लागि सम्बन्ध सेतु नै बनेका छन् ।

बेलाबेलामा भारतमा जान्छन् र चित्र सिर्जना गर्छन्, फेरि नेपाल आएर पनि त्यसै गर्छन् । यसरी जाँदा आउँदा उनलाई नेपाल र भारतका भूगोल, संस्कृति, रहनसहन, मानिसको अनुहार, वेशभूषा एकै लाग्छन् ।

शेर्पाले भारतीय कलाकारसँगै काठमाडौँ आएका बेला नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जारी कला प्रदर्शनीका क्रममा ‘सम्बन्ध’ विषयमा चित्र सिर्जना गरे । उनले आफ्नो मावली घर भारतको दार्जिलिङ भएकाले मेची नदीलाई बीचमा पारेर दुई देशको दृश्य कैद गरी आपसी सम्बन्धलाई प्रस्तुत गरेका थिए ।

‘मैले दुई देशको सम्बन्ध देखाउन खोजेको हुँ । माओली घर भारतको दार्जिलिङ हो । त्यसैले मेचीलाई साक्षी राखेर नेपाल र भारतको दृश्यचित्र कैद गरेको छु’, शेर्पाले भने । आफ्नो र मावली घरको सम्बन्ध कस्तो हुन्छ, त्यस्तै सम्बन्ध नेपाल र भारतबीचको छ भन्ने कुरा पस्कन खोजेको उनले बताए ।

कार्यशालामा अर्का कलाकार डिबी राईले कार्यक्रम अनुसार कै विषयमा चित्र सिर्जना गरे । उनले आदिवासी किराँत संस्कृतिलाई प्रस्तुत गरे । जुन नेपाल र भारत दुबैतिर छ । राई लिम्बूको संस्कृति नेपाल र भारतको सिक्किम, दार्जिलिङमा पनि छ । खर्साङ कालिङपोङमा पनि उस्तै छ ।

उनले सिर्जनामा किराँतेश्वरको मूर्तिलाई आधार बनाएर ‘फ्युजन’ गर्न खोजेको बताए । ‘एकै भाषा र संस्कृति भएपछि सम्बन्ध यसै बलियो हुने नै भयो, मेरो सिर्जनाले पनि त्यही भन्छ’, उनले भने ।

अर्का कलाकार एनबी गुरुङले अमूर्त चित्र सृजना गरी दुई देशबीच सदिऔंदेखिको भाइचारा र आत्मिय सम्बन्धलाई प्रस्तुत गरे । भारतका कलाकारको नेतृत्व गर्दै आएकी दीपा राईले महिलालाई विम्ब बनाएर दुई देशको आपसी भाइचाराको सम्बन्धलाई प्रस्तुत गरिन् ।

कार्यशालामा सम्बन्धलाई फरकफरक दृष्टिकोणबाट भारतीय कलाकारहरु पासाङ शेर्पा, कमल खालिङ, धीरज प्रधान, सागर सुब्बा, विमला प्रधान, विके सुब्बा, कृष्ण राई, छेन्डुप लेप्चा, विकास सुब्बा, टीका प्रधान, रिचर्ड जी लेप्चा, टेसेटेन शेर्पाले जलरङका माध्यमबाट क्यान्भास सजाए ।

उनीहरुलाई नेपाली कलाकारले साथ दिए । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा नेपाल र भारतका कलाकारको सहभागितामा सम्बन्ध शीर्षकमा तीनदिने कला कार्यशाला र प्रदर्शनी आयोजना गरेको छ ।

कार्यशालाका क्रममा आज कलाकारहरु भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा पुगेका छन् । कला र सृजनाका माध्यामबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । उनले कलाको भाषा वा सीमा नहुने अमूर्त सम्बन्ध जस्तै हुने बताए ।

हार्तम्छालीले सिर्जनालाई राजनीतिक सीमाले कहिल्यै नछेक्ने हुँदा सृजनाको भाषा विश्वमै अब्बल हुने बताए । उनका अनुसार कार्यशाला र प्रदर्शनीमा १३ भारतीय र २२ नेपाली कलाकार सहभागी छन् ।

उनीहरुले बनाएका सिर्जनाहरु नक्सालमा आज पनि प्रदर्शन भइरहेको छ । मुख्यगरी भारतको सिक्किम, दार्जिलिङ र कालिङपोङका कलाकार यहाँ आएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?