+
+

टिकटकबाहेक अरु सामाजिक सञ्जाल बन्द गर्न खोजेका छैनौं : उपप्रधानमन्त्री श्रेष्ठ

रासस रासस
२०८० मंसिर १६ गते १२:४८

१६ मङ्सिर, चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिकटकबाहेकका अरु सामाजिक सञ्जाल बन्द नगर्ने बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले अरु सामाजिक सञ्जाल नियमन गर्ने बताएका हुन् ।

‘सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो’, अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले भने, ‘अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौं ।’

सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्‍याउनुपर्ने श्रेष्ठले  बताए । ‘हामी स्वतन्त्रतालाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ’, उनले भने ।

सरकारले संविधानको रक्षा र लोकतन्त्रले दिएको अधिकारको अभ्यासलाई सुनिश्चित गर्न उदारतापूर्वक सोचिरहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

उनले भने, ‘त्यसलाई कसैले पनि कमजोरी ठानेर सामाजिक सद्भाव खल्बलाउने, जाति, धार्मिक एकता र सद्भाव सहिष्णुतालाई खल्बलाउने र राष्ट्रिय एकतामा असर पार्न काम र समाजमा अशान्ति, अस्थिरता र अराजकता उत्पन्न गर्ने र कानुन हातमा लिने काम कसैले गर्छ भने हामी छुट दिने पक्षमा छैनौं ।’

अहिले गणतन्त्रको विरोधमा भइरहेको गतिविधिलाई व्यवस्थामाथिकै चुनौतीको रुपमा नलिएको पनि उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?