 
																						१५ मंसिर, काठमाडौं । गत १७ कात्तिकको भूकम्पपछि जाजरकोट र रुकुमका धेरै विद्यालय भत्किँदा हिजोआज विद्यार्थीहरु अस्थायी टहरामा बसेर पढिरहेका छन् । कतिपय विद्यालयमा त अस्थायी टहरा पनि निर्माण नभएकाले खुला चौरमै राखेर पढाउने गरिएको छ ।
विद्यालय भवन भत्किएको र डेस्क बेन्चहरु पनि पुरिएका कारण धेरै विद्यालयमा विद्यार्थीहरु भुइँमै बसेर पढिरहेकाछन् । खुला चौर र अस्थायी टहरामा राखेर पढाउँदा विद्यार्थीहरु चिसोका कारण बिरामी पर्न सक्ने देखिएको छ ।
त्रिपाल, जस्तापाता र प्लास्टिकको बार हालेर बनाइएका अस्थायी कक्षाकोठाले चिसो छेक्न सक्दैनन् । स्थानीय तह र शिक्षामा काम गर्ने निकाय पनि यो समस्यासँग अवगत छन् । तर पक्की संरचना बनाउन केही वर्ष लाग्ने भएकाले अस्थायी टहरामा नै चिसो छेक्ने उपाय अपनाउनु उचित हुने उनीहरु बताउँछन् ।
जाजरकोटको नलगाड नगरपालिकाका भत्किएका विद्यालयहरुमा अझै अस्थायी सिकाइ केन्द्र बनाउन बाँकी छ । पालिकाका शिक्षा स्रोतव्यक्ति मणिराम पोख्रेल भन्छन्, ‘अहिले जाडो महिना भएको र घाम लागिरहेकाले खुला चौरमा पढ्न, बस्न गाह्रो भएको छैन । अब चाँडै अस्थायी सिकाइ केन्द्रहरु बनिसक्छन् ।’
यस्ता अस्थायी सिकाइ केन्द्रले बालबालिकालाई चिसोबाट रोक्ला त भन्ने प्रश्नमा पोखरेल भन्छन्, ‘कहाँ धान्नु तर चिसो हावा छेकिनु पनि धेरै हो ।’
नलगाड नगरपालिकाको ७१ विद्यालयमध्ये ५४ वटा विद्यालय पूर्ण र २१ वटा विद्यालयमा आंशिक क्षति भएको छ । भूकम्पको कारण ५ हजार ७८ विद्यार्थी प्रभावित छन् ।
भूकम्पमा परी ८ जना विद्यार्थी, एक जना शिक्षक, एक जना विद्यालय व्यवस्थापन समिति अध्यक्षको मृत्यु भएको थियो । आमा अथवा बाबु अथवा आमाबाबु दुबै गुमाएका विद्यार्थी २८ जना रहेका छन् ।
जाजरकोटकै भेरी नगरपालिकाका ५५ वटा सामुदायिक विद्यालय मध्ये २३ वटा विद्यालयका ३१ वटा भवन भत्किएका छन् । त्यसमध्ये विभिन्न गैर सरकारी संस्थाहरुले १३ वटा विद्यालयका अस्थायी सिकाइ केन्द्र निर्माण गरिदिने प्रतिवद्धता गरेका छन् ।
पालिकाका प्राविधिक सहायक चित्रबहादुर ओलीका अनुसार कतिपय विद्यार्थी खुला चौरमा बसेर पठनपाठन गरिरहेका छन् । ‘अहिलेसम्म दिउँसो घाम लागिरहेको भएर समस्या छैन । जिम्मा लिएको संघसंस्थाहरुले मंसिरभित्र सक्ने गरी अस्थायी सिकाइ केन्द्र निर्माण गर्छौं भनेका छन्’, उनले भने ।
भूकम्पमा परी १५ जना सामुदायिक विद्यालयका विद्यार्थी र पालिका भित्रका निजी विद्यालयका दुई विद्यार्थी गरी १७ जना र एक निजी विद्यालय शिक्षकको मृत्यु भएको थियो ।
जाजरकोट जिल्ला शिक्षा समन्वय इकाइले टहराको विकल्प खोजिरहेको जनाएको छ । इकाइ प्रमुख रमेश मल्ल जिल्ला शिक्षा समूहको बैठकले अस्थायी संरचना भन्दा बलियो र चिसो छेक्ने गरी अर्को सिकाइ केन्द्र टाइप टु टिएलसी (टेम्पोररी लर्निङ सेन्टर) बनाउने निर्णय गरेको बताउँछन् ।
त्यसका लागि केही साझेदार संस्थाहरु पनि भेटिएका छन् । ‘अहिले निर्माण भइरहेको अस्थायी सिकाइ केन्द्र भनेको प्लाष्टिक अथवा पालले बनाइएको टहरा हो यो तत्कालको लागि मात्रै हो त्यसैले अब भने शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार टाइप टु टिएलसी बनाउने भन्ने छ’, उनले भने ।
जाजरकोटका ४२३ विद्यालयमध्ये भूकम्पले २८९ वटा विद्यालय पूर्ण रुपमा क्षति पुगेको छ । २४ जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको थियो ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिका शिक्षा अधिकृत ईन्द्रबहादुर विष्टका अनुसार भूकम्पको कारण क्षति पुगेका सबै विद्यालयहरुमा अस्थायी सिकाइ केन्द्र निर्माण भइसकेका छन् । निर्माण भएका अधिकांश अस्थायी सिकाइ केन्द्रहरु पालको छाना र सिपोलिन प्लाष्टिकको बार छ ।
उनी भन्छन् ‘तत्कालका लागि बनाइएका हुन् प्लाष्टिकको बारले कत्ति चिसो धान्छ र ? चिसोबाट जोगाउन विद्यालय सञ्चालनको समय हेरफेर गर्छौं ।’ पालिकाले बालबालिकाको लागि न्यानो कपडाको लागि विभिन्न संघसंस्थासँग कुरा गरिरहेको र विद्यालय सञ्चालन समय मिलाउने समेत उनले बताए । टिनको छाना र बाँसको बार लगाइएका भने केही वर्ष टिक्नसक्ने बताए ।
पालिकाको ६४ विद्यालयमध्ये ५२ वटा विद्यालयमा १३९ वटा सिकाइ केन्द्र निर्माण भएका छन् । उनले भने ‘हामीले सबै विद्यालयमा अस्थायी सिकाइ केन्द्र र किताब बाहेकको झोला, पेन्सिल, कपी लगायतको शैक्षिक सामग्री वितरण गरिसकेका छौं । अबको केही दिनमा पुस्तक पनि पाउँछन् ।’
भूकम्पबाट पालिकाका ९ हजार ८४४ विद्यार्थी प्रभावित छन् । ११ जना विद्यार्थी र एक कार्यालय सहयोगीको मृत्यु भएको थियो ।
रुकुम पश्चिमकै सानीभेरी गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद विकास शाखाका शाखा अधिकृत भूपाल सिं विष्टका अनुसार पालिकाको ४५ विद्यालय मध्ये ३२ वटा विद्यालयको भवनमा पूर्ण क्षति पुर्याएको छ ।
क्षति पुगेको विद्यालयहरुमा ७४ वटा अस्थायी सिकाइ केन्द्र निर्माण भइसकेको छ । शाखा अधिकृत भन्छन् ‘हो, अब झन् चिसो बढ्दै गइरहेको छ, विद्यालय समय मिलाउँछौं ।’ पालिकाका अनुसार भुकम्पमा परी ६ जना विद्यार्थी मृत्यु भएको थियो ।
रुकुम पश्चिम शिक्षा तथा समन्वय इकाइ प्रमुख तारा पुनका अनुसार शिक्षा मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट शैक्षिक सत्र २०८१ को लागि पठाइएको बजेटबाट काम चलाउन आग्रह गरेको बताउँछन् ।
‘शैक्षिक सत्र २०८१ को लागि स्थानीय तहलाई पाठ्यपुस्तकको पठाइएको रकमबाट चलाउने, नपुग रकम शिक्षा तथा मानवस्रोत केन्द्रमा माग गर्ने भन्ने पत्र आएको छ, त्यही अनुसार कार्यान्वयन गर्छौं’, उनले भने ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4