+
+

मिस अर्थको प्रारम्भिक प्रतिस्पर्धा सुरु, ‘लङ गाउन’ प्रतिस्पर्धामा यस्ती देखिइन् रेना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १३:२१
मिस अर्थको लङ गाउन प्रतिस्पर्धामा रेना मजगैयाँ (बायाँ)

काठमाडौं । मिस अर्थको उपाधिका लागि नेपालसहित संसारका ८८ मुलुकका सुन्दरी भियतनामको होचिमिन्ह सहरमा भेला भएका छन् । वातावरण संरक्षणको आधारभूत थिम रहेको यो ब्युटी पेजेन्टको प्रारम्भिक प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ ।

त्यहाँको साइगोन प्रदर्शनी केन्द्रको भव्य हलमा डिसेम्बर २२ मा फिनाले हुँदैछ । नेपालबाट मिस नेपाल अर्थ २०२२ रेना मजगैयाँले सहभागिता जनाएकी छन् । यूएईको दुबईमा राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप २८)को समयमा सुरु भएको मिस अर्थलाई अर्को भाषामा वातावरण सुन्दरी पनि भनिन्छ ।

साइगोनको ओपेरा हाउसअघि आइतबार प्रतिस्पर्धी सुन्दरीले आफ्नो थिम्याटिक पहिरन प्रस्तुत गरे । लङ गाउन कम्पिटिसन नाम दिएको उक्त प्रतिस्पर्धामा रेनाले नीलो गाउन लगाएर प्रस्तुति दिएकी थिइन् ।

फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाले डिजाइन गरेको उक्त नीलो पहिरनले जीवनको अन्तिम गन्त्व्यमा पुग्न प्रेरणा दिन्छ । सो पहिरनमा रेना आकर्षक देखिएकी थिइन् ।

रेनाको उक्त भिडियो सामाजिक सञ्जालमा सेयर भएको छ, जहाँ मिस नेपाल वर्ल्ड-२०२३ सृच्छा प्रधानदेखि अभिनेत्री सुरक्षा पन्तसम्मले उक्त पहिरनको प्रशंसा गरेका छन् । सुरक्षाले पनि कान्स फिल्म फेस्टिभलमा तेन्जिङकै डिजाइनमा रेडकार्पेट प्रिमियर नापेकी थिइन् ।

मिस अर्थमा रेनाले यसपटक नेपालको जलवायु संकटको मुद्दा प्रस्तुत गर्दैछिन् । २३ औं संस्करणको यो मिस अर्थको नारा ‘म रुखलाई प्रेम गर्छु’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?