+
+
सन्दर्भः विश्व माटो दिवस :

बिग्रँदैछ माटोको स्वास्थ्य

आजसम्म हामीले माटोबाट लियौं मात्र जसको कारण आज हामी अभूतपूर्व संकटको सम्मुख छौं। माटो जीवन हो, यस तथ्यलाई बुझौं र यसलाई बचाउने अभियानमा हामी सबै लागौं। यसलाई बचाउन सकियो भने यसले हामीलाई बचाउने छ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०८० मंसिर १९ गते १६:१६
Photo Credit : Pixabay

माटो जीवनको आधार हो। सामान्य भाषामा भन्दा माटो पृथ्वीको सबैभन्दा बाहिरी पातलो तह हो जुन प्राङ्गारिक पदार्थ र खनिजको अलावा पानी र हावा मिली बनेको हुन्छ। यो पृथ्वीमा पाइने दुई तिहाइ जीवजन्तुहरूको आश्रयस्थल पनि हो। माटोले बोटबिरुवालाई पानी र खाना आपूर्ति गर्नुको साथै तिनलाई जमिनमा अड्याउने काम गर्छ।

हामीले उपभोग गर्ने करिब ९५ प्रतिशत खाना माटोबाट नै पाइन्छ। त्यति नै प्रतिशत मानव र पशुपन्छीको एन्टिबायोटिकको स्रोत पनि माटो नै हो। एक मुठी माटोमा पृथ्वीको जनसङ्ख्या भन्दा बढी आँखाले देख्न सकिने र नसकिने जीवजन्तु पाइन्छन् जसले माटोको गुणस्तर एवं स्वास्थ्य राम्रो राख्नमा मद्दत गर्नुका साथै माटोको भूमिका निर्वाहलाई सहयोग पुर्याउँछ।

विभिन्न धर्म ग्रन्थहरूमा माटोको महत्व बारे वर्णन गरिएको पाइन्छ। विश्वभर माटोको बारेमा विभिन्न भनाइ एवं विश्वासहरू रहेको पाइन्छ। यस्तै एक भनाइ अनुसार, जुन देशले माटोमा लगानी गर्छ उसले देशको भविष्यको लागि लगानी गरेको हुन्छ।

अर्को एक पुरानो कहावत अनुसार माटोको हेरविचार गरेमा बाँकी अन्य चिजको हेरविचार आफैं हुनेछ। अमेरिकी पूर्वराष्ट्रपति फ्र्याङ्कलिन रुजबेल्टको भनाइमा जुन देशले माटोको विनाश गर्छ, उसले आफ्नै विनाश गर्छ। यी भनाइहरूले माटोको बहुआयामिक महत्व दर्शाउँछन्।

कृषि उत्पादनको दृष्टिले मूलतः बाली–बिरुवाको लागि पानी र खाद्यतत्व उपलब्ध गराउनु माटोको प्रमुख कार्य हो जसबाट हामी खाना, वस्त्र र इन्धनको साथै पशुपन्छीको लागि घाँस र आहारा समेत प्राप्त गर्छौं। यसको अलावा माटोले वायुमण्डलीय कार्बनलाई सोसेर आफूमा सञ्चित गर्छ, कार्बन उत्सर्जन कम गरी वैश्विक तापक्रम सन्तुलनमा राख्न मद्दत गर्छ।

त्यसैगरी यसले वर्षा र अन्य स्रोतको पानीलाई सोसेर लामो समय सञ्चित गर्ने क्षमता राख्छ जुन सुख्खा खडेरीको समयमा बोटबिरुवाले प्राप्त गर्न सक्छ। यसरी समग्रमा खाद्य शृङ्खला र पर्यावरणीय चक्र कायम गर्नमा माटोले अहं भूमिका खेलेको हुन्छ। यसर्थ माटो विना जीवनको अस्तित्व सम्भव छैन। यसै कारण माटोलाई जीवनको आधार भन्ने गरिएको हो।

अविश्वसनीय तवरले बिग्रंदै माटोको स्वास्थ्य 

जीवनको अस्तित्वसँग प्रत्यक्ष जोडिएको माटोको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको छ। कृषिमा भित्र्याइएको हरित क्रान्तिको दुष्प्रभाव स्वरूप माटो बिग्रने दर तीव्र गतिले बढेको पाइन्छ। खासगरी जमिन खाली नराखी र अत्यधिक खनजोत गरी गरिने सघन खेती माटो बिग्रनुको मूल कारणको रूपमा रहेको छ।

यसको अलावा अत्यधिक रासायनिक मल र विषादीको प्रयोग, पहिरो तथा भू-क्षय, शहरीकरण, मरुभूमिकरण, माटोको कडापन वा चट्टानीकरण, एकल बाली खेती र माटोमा प्राङ्गारिक पदार्थको कम प्रयोग लगायत कारणले गर्दा पनि माटोको स्वास्थ्य र गुणस्तर खस्कँदै गएको हो।

डा. रामकृष्ण श्रेष्ठ

पृथ्वीको करिब एक तिहाइ माटो बिग्रिसकेको वा ह्रास भइसकेको अनुमान गरिएको छ। यूरोपमा त त्यस्तो ह्रास दुई तिहाइ पुगेको अनुमान छ। अध्ययनहरूले प्रतिसेकेण्ड एउटा फुटबल मैदान बराबरको उब्जाउशील जमिन नाश हुँदै गइरहेको देखाएका छन्।

त्यसैगरी प्रति वर्ष ६० लाख जनसङ्ख्यालाई आवश्यक खाद्यान्न उत्पादन गर्न पुग्ने लगभग नेपालको क्षेत्रफल बराबरको टप स्वायल मरुभूमिकरण हुँदै गएको पाइएको छ। त्यस्तै माटोको माथिल्लो तह वा टप स्वायल जुन सम्पूर्ण जीवनको प्रमुख आधार हो, पछिल्लो १५० वर्षमा आधा नष्ट भइसकेको वा विश्वले गुमाइसकेको अनुमान गरिन्छ। साथै हालको खेती पद्धतिको कारण माटो बन्ने भन्दा बिग्रने दर ५० देखि १०० गुणा बढी रहेको वैज्ञानिक तथ्यहरूले देखाएका छन्।

यी सबै अत्यासलाग्दा तथ्याङ्कहरूको बीच संयुक्त राष्ट्रसंघले सन् २०१४ मा गरेको एक अध्ययनले अब हामीसँग खेतीपातीको लागि जम्मा ६० वर्ष बाँकी रहेको निष्कर्ष निकालेको थियो। केही देश र त्यहाँका विद्वान् एवं केही अन्तर्राष्ट्रिय संस्थाहरूले त्यसलाई अतिरञ्जित भनेर विरोध जनाए पनि माटो विनाशको विकराल तस्वीर बुझ्न उक्त तथ्य पर्याप्त छ। अर्को एक अध्ययनले ३४ प्रतिशत वनस्पतिले नढाकिएको खुला माटोको आयु अबको १०० वर्ष मात्र रहेको देखाएको छ।

विश्व माटो दिवस र यस वर्षको नारा

माटोको स्वास्थ्य सम्बन्धी समस्याको बृहत् स्तर र बहुआयामिक असरलाई दृष्टिगत गरी यसबारे आम मानिस र सरोकारवालाहरूमा सचेतना फैलाई माटोको दिगो व्यवस्थापनलाई प्रवर्धन गर्न संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ५ मा ‘विश्व माटो दिवस’ मनाइन्छ। सन् २०१४ बाट मनाउन थालिएको यो दिवसको आज सातौं संस्करण विश्वभर १३० भन्दा बढी देशहरूमा मनाइँदैछ। नेपालमा पनि आज विभिन्न स्तरमा प्रचारात्मक कार्यक्रमहरू गरी यो दिवस मनाइँदैछ। यस वर्षको विश्व माटो दिवसको नारा ‘स्वायल एण्ड वाटर: अ सोर्स अफ लाइफ’ को समसामयिक नेपाली रूपान्तरण ‘माटो र पानी जीवनको थालनी’ रहेको छ।

मूलतः माटो र पानीको अन्तरसम्बन्ध यस वर्षको नाराले प्रतिबिम्बित गरेको छ। खासगरी पछिल्ला केही वर्षहरूमा वैश्विक तापक्रम वृद्धिको कारण मौसमी प्रतिकूलताका घटनाहरू जुन दरमा बढ्दै गएका छन्, त्यसलाई सीमामा राख्न स्वस्थ माटोको अहं भूमिका रहने कुरालाई यस वर्षको नाराले बुझाउने प्रयास गरेको देखिन्छ।

एक क्युबिक मिटर स्वस्थ माटोले ६०० लिटरसम्म पानी सञ्चित गर्न सक्छ। जलवायु परिवर्तनको कारण आगामी दिनमा कृषि उत्पादनको लागि पानीको उपलब्धता घट्ने तर तापक्रम वृद्धिको कारण पानीको माग अझ बढ्ने विभिन्न प्रक्षेपणले देखाएका छन्। प्राङ्गारिक पदार्थ प्रशस्त भएको स्वस्थ माटोमा पानी शोषित गरी लामो समयसम्म सञ्चित गर्ने क्षमता हुने भएकोले त्यस्तो अवस्थामा चिस्यानयुक्त माटोबाट बाली–बिरुवाको खाद्यतत्व र पानी सोसेर लिन सक्ने हुँदा उत्पादनमा नकारात्मक असर कम पर्नेछ।

साथै यस्तो माटोले वर्षातको पानी आफूमा सोसेर अधिक वर्षाबाट हुने भल–बाढी तथा डुबानलाई पनि नियन्त्रण गर्न मद्दत गर्छ भने माटोको भित्री भाग हुँदै सुस्त रूपमा निकास हुने पानीले नदी तथा अन्य जलसतहमा जलस्तर कायम गर्नमा मद्दत पुर्‍याउनुको साथै दूषित पानी शुद्धीकरण गरी प्राणी र वनस्पतिको लागि उपयोगयोग्य बनाउनमा मद्दत गर्छ।

अर्कोतर्फ, प्राङ्गारिक पदार्थ ज्यादै न्यून भएको र नाङ्गो खुकुलो माटो भूक्षय भई बगेर नोक्सानी हुनुको साथै माटोको माथिल्लो सतहको स-साना छिद्रहरू टालिन जाँदा वर्षातको पानी जमिनभित्र छिर्न नपाई गल्छी बनाएर बाढीको स्वरूप लिने हुन्छ। यसले खेतीयोग्य जमिन बिग्रने वा पूरै नाश हुन जाने हुन्छ।

त्यसैगरी खेती गर्ने क्रममा प्रयोग गरिने ठूला मेशिनरीको कारण पनि माटोको माथिल्लो सतहको मुनि कडापनको विकास हुने हुँदा माटोका स–साना छिद्रहरू टालिंदा वर्षातको पानी माटोले सोस्न नपाई माटोले संग्रह र सञ्चित गर्न सक्ने पानी जमिनको सतहमा नै जम्ने र बाढीको रूपमा विकास हुने हुन्छ।

त्यति मात्र होइन पानीको अभाव तथा उच्च तापक्रमको कारण लाभदायक सूक्ष्म जीवाणुहरूको जीवन चक्र नै खल्बलिने हुँदा स्वस्थ माटोको जीवनको रूपमा रहने स्थिर प्राङ्गारिक पदार्थ (ह्यूमस) बन्ने प्रक्रिया र समग्र खाद्य चक्र र कार्बन चक्र नै प्रभावित भई कार्बन उत्सर्जनलाई थप बढाउँछ।

साथै ह्यूमस बन्ने प्रक्रिया प्रभावित हुँदा माटोको पानी धारण गर्ने क्षमता पनि ह्रास हुने हुन्छ। यस्तो गुणस्तर ह्रास भएको माटो जलवायु परिवर्तनको नकारात्मक असरबाट अझ बढी प्रभावित हुने हुन्छ किनकि यस्तो माटोबाट माटोमा रहेको प्राङ्गारिक पदार्थ (स्वायल अर्गानिक म्याटर) र जैविक विविधता नोक्सानी हुनुको साथै माटोमा कडापनको विकास र पहिरो तथा भूक्षयको जोखिम पनि बढी हुने गर्छ।

माटो स्वास्थ्यको नेपालको अवस्था

माथि उल्लेखित विषयहरू नेपालको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छन्। नेपालमा पहाडी भू-धरातलको बाहुल्य भएको र दिगो माटो व्यवस्थापन पद्धतिको अवलम्बन कमजोर भएको कारण भू-क्षय र माटोको सबैभन्दा महत्वपूर्ण माथिल्लो तह (टप स्वायल) क्षति हुने दर उच्च रहेको छ। एक अनुमान अनुसार नेपालले वर्षेनि २४ करोड क्युबिक मिटर माटो गुमाइरहेको छ।

पछिल्लो समयमा हाम्रो खेतीपातीको अभ्यास एवं तौरतरिकाहरू दिगो प्रकृतिका छैनन्। एकल खेती, खेतबारीमा गोठेमल, कम्पोष्ट र हरियो मलको उपयोग ज्यादै न्यून भई रासायनिक मल माथिको निर्भरता अत्यधिक बढेर गएको पाइन्छ। त्यसमा पनि सन्तुलित मात्रामा मलखादको प्रयोग नगरी नाइट्रोजनयुक्त मलको अत्यधिक प्रयोग हुँदा माटोमा खाद्यतत्वको असन्तुलन हुनाको साथै सही प्रयोग नगरिंदा खेर जाने दर पनि उच्च रहेको छ। हरितगृह ग्याँस नाइट्रस अक्साइड उत्सर्जनको लागि यो जिम्मेवार छ भने सही प्रयोग नहुँदा चुहेर जाने मलले जमिनमुनिको पानीलाई प्रदूषित बनाउने गरेको छ। यस अर्थमा हामीकहाँ मलखाद प्रयोगको दक्षता (इफिसियन्सी) कमजोर रहेको छ। अर्कोतर्फ पशु–बस्तु पालन गर्ने क्रम घट्दै जाँदा माटोमा घरायसी गोठेमल र कम्पोष्ट मलको प्रयोग पटक्कै नहुने वा ज्यादै न्यून हुन गएको छ जसले गर्दा माटोको भौतिक, रासायनिक र जैविक गुण खस्किंदै गइरहेको पाइन्छ।

त्यसैगरी एकल बाली र माटोलाई मिहिन र बुर्बुराउँदो बनाई एवं जमिन खाली नराखी खेती गरिने प्रवृत्तिको कारण माटोमा रहने लाभदायक साना प्राणी एवं सूक्ष्म जीवहरूको जीवन चक्र खल्बलिने तथा उच्च तापक्रमा एक्सपोज हुँदा मर्ने हुन्छन् भने कार्बन लगायत अन्य हरितगृह ग्याँस उत्सर्जनलाई पनि थप बढाएको छ।

वर्तमानमा हामी एकातर्फ बढ्दो जनसङ्ख्याको लागि खाद्यान्नको बढ्दो माग पूरा गर्न उत्पादन बढाउनुपर्ने दबाबमा छौं भने अर्कोतर्फ घट्दो जमिन र पानी लगायत प्राकृतिक स्रोतहरूको अवस्थाको बीच भावी पुस्ताको लागि समेत सोचेर तिनको दिगो उपयोग गर्नुपर्ने आवश्यकतामा छौं। त्यस कारण सोचविचार गरी भावी दिशा तय गर्नुपर्ने आवश्यकता छ।

नेपालमा मात्र नभई विश्वभर नै दिगो खेतीपाती सम्भव छ कि छैन भन्ने विषयमा जनमत विभाजित छ। यस आलेखमा हामी त्यस विषयमा प्रवेश गर्न चाहँदैनौं तथापि हाम्रासामु देखा परेका चुनौतीको सामना गरी आजको आवश्यकता पूरा गर्दै भविष्यसम्म दिगो हुने कृषि प्रणाली विकासबारे अर्थपूर्ण बहस गर्नुपर्ने अवस्थामा हामी पुगेको बारे सबैले हेक्का राख्नु नै पर्ला।

दिगो माटो व्यवस्थापन एकमात्र उपाय

माथि उल्लेखित कारणहरूले गर्दा माटोको अवस्था बिग्रेर सुधार गर्नै नसकिने अवस्थामा पुग्नुअघि यसलाई जोगाउन केही उपायहरू अवलम्बन गर्न सकिएमा समग्र जीवनको अस्तित्व नै संकटमा पर्दै गएको वर्तमान अवस्थाबाट पार पाउन सम्भव हुने देखिन्छ। त्यस्ता उपायहरू हाम्रा पुर्खाहरूले अवलम्बन गरी कृषि उत्पादन र जीवन सम्भव बनाएका थिए तर आधुनिक खेती प्रणालीको विकाससँगै त्यस्ता दिगो खेतीपातीका उपायहरू हामीले अपनाउन छोडेका कारणले नै अहिले संकट आइपरेको हो। त्यसकारण माटो बचाउने हो भने समसामयिक सुधार सहित दिगो कृषि पद्धति अपनाउनुको विकल्प देखिंदैन।

प्रथमतः अब हामीले माटोलाई सकेसम्म कम खल्बल्याउने वा डिस्टर्ब गर्ने गरी हाम्रा खेतीपातीको अभ्यासलाई सुधार एवं परिमार्जन गर्नुपर्नेछ। त्यसैगरी माटोलाई पूरै खुला नराखी छापो बाली लगाउनुको साथै बाली चक्र अपनाउने गर्नुपर्छ। यसो गर्न सकियो भने माटोमा लाभदायक सूक्ष्म जीवाणुको उपस्थिति र तिनको सक्रियता बढ्न गई माटोमा जीवन फर्कनेछ। यसले ह्युमस बन्ने प्रक्रियालाई बढाउने हुँदा बिरुवालाई दिगो रूपमा खाद्यतत्व आपूर्ति गर्नुको अलावा माटोको पानी धारण क्षमता पनि बढाउने छ।

यसको अतिरिक्त माटोमा वायुमण्डलीय कार्बन सञ्चित गर्ने दर पनि बढाउनुको साथै बगेर वा उडेर माटो खेर जाने क्रम पनि कम हुनेछ। संरक्षण कृषि भनिने यो पद्धति आजकल विश्वभर करिब १३ करोड हेक्टर भन्दा बढी क्षेत्रफलमा अपनाइएको छ भने यो क्रम फैलँदै गइरहेको छ। आज अमेरिका, ब्राजिल, अर्जेन्टिना, अष्ट्रेलिया, क्यानाडा लगायत छिमेकी मुलुक भारतमा पनि यसको लोकप्रियता बढ्दै गइरहेको छ। नेपालमा यसको सुरुवात भए पनि त्यति फैलन सकेको पाइँदैन।

त्यसैगरी कृषि वन प्रणाली, पशुपालन सहितको मिश्रित खेती प्रणालीको विस्तार, बाली विविधीकरण, कोसेबालीको खेती विस्तार वा घुसुवा बालीको रूपमा प्रयोग, छापो बालीको खेती, खाद्यतत्वको दक्षतापूर्ण उपयोग गर्ने बालीको चयन, माटोको कडापन हटाउने वा कम गर्ने मेसिनरी र प्रविधिको प्रयोग, प्राङ्गारिक तथा अन्य पर्यावरणमैत्री खेती पद्धति आदिको प्रवर्धन गर्नु पनि आवश्यक देखिन्छ।

अर्को प्रमुख क्षेत्र रासायनिक मलखादको दक्षतापूर्ण एवं सन्तुलित प्रयोग र गोठेमल, कम्पोष्ट मल र प्राङ्गारिक पदार्थको उपयोग बढाउने हो। अधिकांश कृषकले नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मलको सन्तुलित मात्रा प्रयोग नगरी नाइट्रोजनयुक्त युरिया मलको अधिक प्रयोग गर्ने गर्छन्। यसो गर्दा एक त बिरुवालाई आवश्यक खाद्य तत्वहरूको सन्तुलित मात्रा नपुग्ने हुँदा अपेक्षित रूपमा उत्पादन वृद्धि हुनसकेको छैन भने अर्कोतर्फ युरियाको अधिक प्रयोगले माटोमा अम्लीयपन बढ्ने र सोको कारण माटो उपलब्ध बाली–बिरुवाको लागि आवश्यक अन्य खाद्यतत्व कि त जमेर बसी बिरुवाले लिन नसक्ने वा जमिनमुनि चुहिएर खेर जाने हुन्छ।

नेपालकै कास्की घान्द्रुकमा पाखोबारीमा गरिएको एक परीक्षणमा पानीले बगाएर मात्र एक हेक्टर जमिनबाट ५.६ किलो नाइट्रोजन खेर गएको पाइएको थियो। हामीले प्रयोग गर्ने नाइट्रोजन मल सबै बिरुवाले लिन नसकी खेर जाने भएको कारणले गर्दा एकैपटक नहाली पटक–पटक प्रयोग गर्नुपर्छ भनेर वर्षौंदेखि कृषकहरूलाई कृषि प्रसारका विभिन्न माध्यमबाट सिकाउँदै आइएको हो।

अब रासायनिक मलको दिगो विकल्प नसोची सुखै छैन। यसको अर्थ अहिले नै रासायनिक मलखाद प्रयोग नगर्ने भन्ने होइन। तथापि क्रमशः दिगो खेतीपातीको अभ्यास अवलम्बन गर्ने क्रमलाई बढाउन सकियो भने भविष्यमा कृषि रसायन र रासायनिक मलखाद विना पनि बृहत् स्तरमा खेतीपाती सम्भव हुनसक्छ।

बाली पाक्ने अवधिको आधारमा बाली अवधिभर कम्तीमा पनि दुई या तीन पटक युरिया प्रयोग गर्नु उचित हुन्छ, तसर्थ माटो जाँचको आधारमा कम्तीमा बजारमा उपलब्ध युरिया, डीएपी र पोटास मल सन्तुलित मात्रामा हाल्नुपर्छ भनेर प्रसार कार्यकर्ताहरूले कृषकलाई सिकाउनु आवश्यक छ।

केही अध्ययनहरूले माटोमा प्रयोग गरिएको रासायनिक मलखादको माटोको अवस्था र बाली, माटोमा चिस्यानको मात्रा र तापक्रम आदिको आधारमा ३० देखि ५० प्रतिशत मात्र बिरुवाले उपयोग गर्न सक्ने देखाएका छन्।

अन्य कतिपय अध्ययनले मलखाद प्रयोगको तरिकामा सुधार गर्न सकेमा हाल प्रयोग भइरहेकोमा लगभग आधा मलखादले पुग्ने देखाएका छन्। यसको लागि कृषकहरूले ‘चार आर’ को सिद्धान्त पालना गर्नुपर्छ। पहिलो आर अर्थात् राइट सोर्स हो। त्यो भनेको जमिनमा खाद्यतत्वको उपलब्धताको आधारमा तत्कालै चाहिने पछिसम्म आवश्यक पर्ने आधारमा, प्राङ्गारिक वा रासायनिक स्रोत वा दुवैको समिश्रण गर्ने जस्ता निर्णयहरू गरी उचित मलखादको स्रोतको चयन गर्नु हो। त्यसैगरी अर्को आर- राइट रेट वा डोज हो। यथासम्भव माटो जाँचको आधारमा आवश्यक मात्रामा मात्र मलखाद प्रयोग गर्नुपर्छ।

जति धेरै मल हाल्यो त्यति धेरै उत्पादन हुने भन्ने नहुने भएकोले कति मल थप्दा कति उत्पादन बढ्छ भन्ने सामान्य हिसाब गरी त्यसको आधारमा प्रयोग दर बारे निर्णय गर्नु उचित हुन्छ। तेस्रो आर भनेको राइट टाइम वा मलखाद प्रयोगको सही समय हो। यसमा खासगरी बिरुवाको वृद्धि विकासको अवस्थालाई ख्याल गरी बढी आवश्यक पर्ने समयमा प्रयोग गर्नुपर्छ।

बाली अनुसार सामान्यतया बाली लगाउने बेला, गाँज आउने बेला र फूल खेल्ने तथा फल लाग्ने बेलामा बढी मलखाद आवश्यक पर्न सक्छ। त्यसैगरी धेरै पानी पर्ने बित्तिकै वा माटोमा चिस्यान चाहिने भन्दा बढी भएको अवस्था वा चिस्यान ज्यादै कम भएको अवस्थामा प्रयोग गरिएमा मलखाद खेर जान सक्छ। चौथो तथा अन्तिम आर भनेको उचित ठाउँमा प्रयोग गर्ने हो।

सामान्यतया बिरुवाले सजिलै लिन सक्ने गरी जराको नजिक प्रयोग गर्न सकेमा कम खेर जाने हुन्छ। तथापि यो विषय बाली र माटोको प्रकार, जमिनको भिरालोपन, सिंचाइ उपलब्धताको अवस्था आदिले फरक पार्छ। ‘चार आर’ को सिद्धान्त लागू गर्न प्रसार कार्यकर्तालाई तालिम र क्षमता विकासको अवसर प्रदान गर्नुपर्छ। यसको साथै क्रप म्यानेजर जस्ता वेव पद्धतिमा आधारित प्रविधिको उपयोग बढाउन सकेमा मलखाद प्रयोगमा ‘चार आर’ लाई बढी व्यावहारिक बनाउन सकिनेछ।

हामीकहाँ हाल यस्ता नवीनतम प्रविधिको प्रयोग अनुसन्धान र प्रसारको अवस्था कमजोर हुँदा प्रदर्शनकै तहमा सीमित रहेकोले अहिले नै कृषकहरूको स्तरमा सहज उपलब्धता छैन। त्यसैगरी लिफ कलर चार्टको उपयोग गरेर पनि बिरुवालाई खाद्यतत्व आवश्यक पर्ने समय र परिमाण यकिन गर्नमा केही सहयोग हुनसक्छ।

माटोमा रासायनिक मलखादको अलावा प्राङ्गारिक पदार्थ मिसाउनुको साथै गोठेमल, गड्यौले मल, हरियो मल आदिको प्रशस्त प्रयोग गर्ने र बाली कटानी गर्दा जरा तथा ठुटोहरू माटोमा मिलाउने बारे कृषि प्राविधिकहरूले कृषकहरूलाई जानकारी दिनुपर्दछ। रासायनिक मलखादको मात्र प्रयोग गरेमा माटोको स्वास्थ्य एवं गुणस्तर बिग्रने भएकोले रासायनिक र प्राङ्गारिकको मिश्रण अपरिहार्य भएको बारे कृषकलाई बुझाउनु आवश्यक छ।

यसको अलावा हरितगृह ग्याँस उत्सर्जनको अलावा पनि रासायनिक मलको जथाभावी प्रयोग, प्राङ्गारिक पदार्थको कम प्रयोग र झारनाशक लगायत रासायनिक विषादीको माटोमा अत्यधिक प्रयोगको कारण माटोको जैविक विविधता र जैविक गुणमा नकारात्मक असर परी समग्र माटोको गुणस्तरमा नै असर पुगेको छ। यसर्थ हामीले रासायनिक मलको सन्तुलित प्रयोगको साथै अब क्रमशः रासायनिक मलखादको उपयोग घटाउँदै माटोमा प्राङ्गारिक पदार्थ र अन्य वैकल्पिक माध्यमबाट बाली–बिरुवाको लागि खाद्यतत्वको आपूर्ति गर्ने बाटोमा लाग्नुपर्ने भएको छ।

हामीले बुझ्नुपर्ने कुरा के छ भने विश्वव्यापी अध्ययनहरूले रासायनिक मलको कारण उत्पादन बढाउन सकिने सीमामा विश्व पुगिसकेको छ र अब रासायनिक मलखादको प्रयोग बढाएर मात्र विश्वव्यापी रूपमा खाद्य उत्पादन बढाउन सम्भव छैन। तसर्थ अब रासायनिक मलको दिगो विकल्प नसोची सुखै छैन। यसको अर्थ अहिले नै रासायनिक मलखाद प्रयोग नगर्ने भन्ने होइन। तथापि क्रमशः दिगो खेतीपाती अभ्यासको अवलम्बन गर्ने क्रमलाई बढाउन सकियो भने भविष्यमा कृषि रसायन र रासायनिक मलखाद विना पनि बृहत् स्तरमा खेतीपाती सम्भव हुनसक्छ। यो विषय हाल विश्वभर विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरू र दिगो विकास सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौता एवं फ्रेमवर्कका अङ्ग बन्ने क्रम बढेको छ। उदाहरणको लागि हाल संयुक्त राष्ट्रसंघको नेतृत्वमा जारी ‘खाद्य प्रणालीको रूपान्तरण’ को बहस एवं छलफलमा प्रकृतिमैत्री खेतीपातीको अवलम्बन र प्रवर्धनलाई उच्च महत्व दिइएको छ।

नेपालमा रासायनिक मल नै सबै थोक हो भन्ने र रासायनिक मल तुरुन्त बन्द गरी अर्गानिक खेती वा पर्यावरणीय कृषि पद्धति लगायत दिगो कृषि पद्धति मात्र लागू गर्नुपर्छ भन्ने दुई अतिवादी सोच विद्यमान रहेको पाइन्छ। यस्तो सोचाइहरूबाट मुक्त भई वर्तमानको आवश्यकता र भविष्यको परिदृश्यलाई समेत दृष्टिगत गरी दिगो कृषिलाई बल पुग्ने अभ्यासलाई प्रवर्धन गर्ने नीति लिनु आवश्यक देखिन्छ।

हामीसँग बसोबास र खेतीपातीको लागि अर्को ग्रह छैन। सन् २०५० सम्म १० अर्बको हाराहारीमा पुग्ने अनुमान गरिएको विश्वको जनसङ्ख्यालाई खुवाउन हालको उत्पादनको स्तरलाई दोब्बर पार्नुपर्ने आवश्यकता एकातर्फ छ भने खेतीयोग्य जमिन मासिने र टुक्रने तथा माटोको क्षय हुने क्रम बढ्दै जाँदा दिगो खाद्य सुरक्षा कायम गर्नु ठूलो चुनौतीको रूपमा देखापरेको छ।

आधा सेन्टिमिटर माटो बन्न १०० वर्षभन्दा बढी लाग्ने सन्दर्भमा माटोको दिगो व्यवस्थापन गर्नुको विकल्प देखिंदैन। यसको लागि थप अध्ययन एवं अनुसन्धान तथा नवप्रवर्तन (इन्नोभेसन) लाई उच्च प्राथमिकता दिई सरकार र निजी क्षेत्रबाट लगानी बढाउनु अपरिहार्य छ। यसको साथै कृषि प्राविधिकको क्षमता विकास र प्रविधिको प्रयोगलाई बढावा गर्नु पनि उत्तिकै आवश्यक छ।

दिगो माटो व्यवस्थापनको यी विविध पक्षहरूको कार्यान्वयनको मुख्य जिम्मेवारी स्थानीय तहहरूको भएको तर तिनको प्राथमिकतामा यति गम्भीर विषय प्रायः कम पर्ने गरेको पाइएको छ। धेरै स्थानीय तहहरूले त भू-उपयोग ऐनको प्रावधान बमोजिम कृषियोग्य भूमि नै नरहेको विवरण सार्वजनिक गरेको अवस्था छ। तथापि स्थानीय तहहरूको क्षमता विकास गरी उनीहरूकै संलग्नतामा माटो बचाउनको लागि एक राष्ट्रिय अभियान सञ्चालन गर्नु अपरिहार्य भएको छ।

अन्त्यमा, आजसम्म हामीले माटोबाट लियौं मात्र जसको कारण आज हामी अभूतपूर्व संकटको सम्मुख छौं। माटो जीवन हो, यस तथ्यलाई बुझौं र यसलाई बचाउने अभियानमा हामी सबै लागौं। यसलाई बचाउन सकियो भने यसले हामीलाई बचाउने छ। माटो दिवसको आजको दिनले माटो बचाउन हामी सबैलाई प्रेरणा देओस्। माटो दिवसको सबैमा शुभकामना!

(लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?