+
+
ब्लग :

अब बोल्नेहरू माफीको मल्हम लगाउने छैनन्

कानको झाली फुट्ने गरी चिच्याउन मन छ- ‘समाजबाट विभेद घटेको छैन । यसको माध्यम परिवर्तन भएको हो । प्रविधिसँगै विभेद झन् डरलाग्दो स्वरुपमा मोडिफाइ छ ।’

रिना (तानी) रिना (तानी)
२०८० मंसिर २० गते ११:४५

घाम अस्ताएपछि चोकमा टहलिने बानी । यो बानीले ‘महिलालाई साँझको घामसँगै अप्रत्यक्ष रूपमा लक्ष्मणरेखा कोरेको छ’ भन्ने बिर्सायो । समाजले कोरेको रेखा नाघ्दाको प्रतिफल धेरैथोरै भोगेकी छु । कथित समाजले भनिदिएको छोरीमा हुनुपर्ने ‘गुण’ ममा छैनन् । समाजको अर्थमा भन्दा- बिग्रेकी केटीको कोटामा छ मेरो नाउँ ।

सानोमा छोरा र छोरीमा हुने अन्तर मेरो मस्तिष्कले भेउ पाएन । जब हुर्कंदै गएँ, बढ्दै गयो ज्यान र देखिन थाले छोरी हुने पहिचान । तब मात्र थाहा पाउन थालें अन्तर ।

अन्तर हुन थाल्यो, शारीरिक मात्र नभई समाजले कोरेको मानचित्र पनि । तर, सकेको जति यी मानचित्रलाई नाघ्दै हिंडेकी छु । कति यही सामाजिक संरचनामा हुर्किएको मेरो दिमागबाट हटाउन सकेकी छैन ।

हजारौं कुण्ठा छन् ममा । र, यो कुण्ठा मेरा लागि भए पनि पोख्नुछ । मलाई प्रष्ट छ, यी कुण्ठा मेरा मात्र होइनन् । समाजप्रति प्रत्येक महिलाको आक्रोश हुन् यी । कोही बोल्छन्, कोही बोल्दैनन् । कोही मौनताको कोलाहलमा निसासिन बाध्य हुन्छन् ।

मैले थोरै भए पनि बोल्ने निर्णय गरेकी छु । पूरै त समाजले बोल्न दिनुप¥यो नि ! त्यसैले कसैले तिमीलाई मात्र हिंसा वा दुव्र्यवहार हुने रहेछ भनेर प्रश्न गरे जवाफ भेट्टाउन्– यहाँ प्रत्येक महिलाले पाइलैपिच्छे ‘यौनाङ्ग’ लिएर हिंडेको मूल्य चुकाइरहेका छन् ।

कति त हामीले प्रश्न उठाएकै आधारमा प्रतिप्रश्नको बाण सहनुपर्छ । कति व्यक्तिगत भोगाइ छन्, केही पछिल्लो समयमा आएका कथित हाइप्रोफाइल घटनाले प्रष्टाएका छन् । तर, उकुसमुकुस भएर सकेसम्म यो मन बस्न चाहँदैन । त्यसैले यो मन जोड–जोडले चिच्याउन चाहन्छ– बन्द गर तिम्रो ‘पुंसत्व’को धाक ।

२०७९ को आगमनलाई कुरेको रात । नयाँ सुरुवातको पूर्वसन्ध्या । लमजुङबाट पोखरा घुम्न आएकी बहिनी भन्दै थिई, ‘लेकसाइड घुम्न जाऊँ ।’ त्यो दिनको घुमाइ थाती राखेर भोलिपल्ट जाने सुनाएँ ।

घुम्न मन गरेकी बहिनीलाई मैले चोकमा बेफिक्री हिंडाएँ । दुई बहिनी रातमा टहलिने भयौं । न्यूरोडमा बसाइ भएकै कारण साँझ खाना खाएपछि कहिलेकसो रोडतिर टहलिने बानी । त्यो दिन पनि उसैगरी टहलिन हिंड्दैथियौं, चिप्लेढुंगा चोकबाट न्यूरोडतर्फ । रातको करिब १० बजेको थियो । गफिंदै न्यूरोड रिडर्स कर्नरको अगाडि पुग्यौं । बहिनी त्योभन्दा अगाडि बढ्न चाहन्थिन् ।

‘यहाँभन्दा तल हामीलाई हिंड्न अब सेफ छैन, सभागृहमा रातपरेपछि हिंडिसाध्य जो छैन’ उनको आग्रहलाई नकार्दै भनें । हामी पोखरा महानगर कार्यालय अगाडिको प्रतीक्षालयमा गएर बस्यौं । चैतको उखर्माउलो गर्मीलाई सुनसान रातको हावाले शीतलता दिएको थियो । जेहोस् रातमा हिंडे पनि आफ्नो सुरक्षा बारे सोचिहालिन्छ नै ! त्यसैले पनि म सतर्क थिएँ – यतिसम्म हिंडे र बसे हामीलाई असहज हुनेछैन ।

तर, त्यो रात महानगर कार्यालयअगाडि प्रहरीबाट नै दुव्र्यवहार भोग्नुप¥यो । त्यो रात एकैपटक एक घण्टाको अन्तरालमा ३ पुरुषबाट दुव्र्यवहार भोग्यौं । जसमा एक थिए, नेपाल प्रहरीमा कार्यरत जवान । जसको कर्तव्य नै नागरिकको सुरक्षा थियोे ।

म चिच्याइरहें, ‘हामीलाई दुव्र्यवहार भयो… ।’ तर, उनले मलाई उल्टै झापड हान्ने डर देखाए । चिसो खोरमा थुनिदिने धम्की दिए ।

प्रतीक्षालयमा बसिरहँदा वरिपरि घरका बरण्डामा मान्छे हावा खाँदै थिए । हामी गफमा मस्त थियौं । तर, अचानक हाम्रै छेउबाट एक जना पुरुष आए । रक्सीको नसामा मातेको त्यो पुरुष हामीलाई देखेर अडियो । सुरुमै ‘यति राति किन बसेको ?’ भनेर प्रश्न गरेका ती पुरुषसँग बोल्न आवश्यक ठानेनौं । मातेको पुरुषसँग को बोल्छ ?

तर, उसले एकाएक अपशब्द प्रयोग गर्न थाल्यो । त्यस्ता अपशब्द, जो लेखिसाध्य छैनन् । उसको प्रतिवाद गर्दै प्रहरीलाई खबर गरिदिने बतायौं । तर, के थाहा प्रहरीबाटै पनि दुव्र्यवहार भोग्नुपर्ला !

प्रहरी बोलाउने धम्की दिएपछि ऊ त्यहाँबाट निस्कियो । हामी ढुक्क भयौं । तर, त्यसको केहीबेरमा फेरि फर्किएर आयो । एक्कासि उसले फेरि अघिको भन्दा बढी डरलाग्दो अपशब्द प्रयोग गर्न थाल्यो ।

दुवैलाई खुलेआम ‘बलात्कार’ गरिदिने धम्की दिन थाल्यो । ऊ रोकिएन, नजिकै आएर हातपात नै गर्न थाल्यो ।

महानगर कार्यालयको प्रतीक्षालय ! जहाँ मैले सोचेकी थिएँ– यो सुरक्षित स्थान हो ।

तर, दुर्भाग्यवश ! त्यही प्रतीक्षालयमै एकाएक अप्रत्याशित घटनाको सामना गर्नुप¥यो । ऊ हातपात नै गर्न थालेपछि हामी पनि प्रतिवादमा उत्रियौं । त्यत्तिकैमा राउन्डिङमा हिंडेको प्रहरीको भ्यान आयो । प्रहरी देख्ने बित्तिकै केही आशा पलायो । भनें, ‘यो मान्छेले हामीलाई दुव्र्यवहार गरेको छ । लैजानुहोस् म उजुरी दिन्छु ।’

सोचेकी थिएँ, प्रहरीले हामीलाई सहयोग गर्ला ! हामीले भोगेको दुव्र्यवहारमा साथ देला ! गल्ती गर्नेलाई सजाय देला ! तर, गलत रहेछौैं । अघिको पुरुषको भन्दा प्रहरीको व्यवहारले बढी चोट दियो ।

ती प्रहरी जवानले उल्टै मलाई समात्ने धम्की दिए । उनको कुरा सुनेर पारा तात्तिएको थियो । म पनि जंगिएँ, ‘ल समात्नु हेरौं त !’

‘चुप लाग् एक झापड लगाएर चिसोखोरमा जाक्छु अनि थाहा पाउँछेस्’ प्रहरीले प्रयोग गरेको शब्द यही थियो ।

उसको धम्कीसँग किन डराउनु ? म ढुक्क थिएँ– ‘लगे प्रहरी कार्यालय लैजान्छ । जानासाथ मलाई चिनेका कोही न कोही भइहाल्छन् । कोही चिनेको नभेटिए एक कल फोनको दूरी न हो !’ सायद मेरो यो घमण्ड वा सुविधा थियो, आफनो पेशाले दिएको ।

पेशाले प्रहरीको व्यवहारप्रति प्रतिवाद गर्ने आँट दियो । नत्र त सर्वसाधारणलाई ‘अभद्र व्यवहार’मा दुःख दिएको हामीले कहाँ बिर्सन सक्छौं र ? जेहोस्, आफ्नो पत्रकारिता पेशाले बोल्न सकें ! पत्रकारितामा लागिसकेपछि मैले सिकें यही त हो– निडर, निर्भय ।

त्यत्तिकैमा एक्कासि कताबाट अर्को पुरुष आयो । उसले प्रहरी र मेरो बाझाबाझ छुट्याउन लाग्यो । प्रहरी जवानले दुव्र्यवहार गर्ने व्यक्तिलाई सामान्य सम्झाउन कोसिस पनि गरेन । यसरी जान दियो, मानौं कि त्यहाँ केही भएकै थिएन । कोही छँदै थिएन ।

‘रातिराति एक्लै हिंडेकोेमा हामीलाई नै दोषी ठह¥याउँदै’ प्रहरी पनि भ्यान हुइँक्याउँदै गयो ।

प्रहरी त्यहाँबाट निस्किएको केहीबेरमै हामीलाई छुट्याउन आएको पुरुषले प्रस्ताव राख्यो, ‘गाँजा खाने हो ? कोठामा छ ।’

यसपालि केही बोल्न आँट आएन । अनुहारमा आक्रोश थियो । तर, बोली थिएन । प्रहरीकै व्यवहारले आवाज जमिसकेको थियो । त्यहाँबाट चुपचाप हिंड्यौं । एकघण्टाकै बीचमा ३ पुरुषबाट भोग्नुपरेको त्यो हैरानीले मथिंगल हल्लायो ।

ती दुई पुरुष । जो समाजमा हरदिन भेटिइरहने पात्र थिए । आँखाबाट ओझेल भएसँगै अनुहार पनि बिलाए । तर, त्यो प्रहरी ? जोसँग आश थियो, विश्वास थियो । उसको अनुहार बिर्सनै सकिनँ ।

पर्सिपल्ट । ती प्रहरी जवानको नाम बोकेर पुगें, जिल्ला प्रहरी कार्यालय, कास्कीको कार्यालयमा । डीएसपीलाई भेटें । सबै घटनाको बेलिविस्तार लगाएँ । उनी यस्ता कुरामा संवेदनशील थिए । कम्तीमा कामकै सिलसिलामा अन्य विषयबाट पनि याद गरिरहेकै थिएँ । सोही अनुसार उनले आफनो सुझबुझ लगाए । लिखित निवेदन दिएँ । कानुनी कारबाहीका लागि भने होइन । मेरै निर्णय थियो त्यो । चाहन्थें, ‘उनले माफी मागुन् । प्रहरी प्रशासनको नागरिकलाई गर्ने जुन व्यवहार छ सुध्रियोस् !’

निवेदन दिएको एक मिनेटमै उनै प्रहरी जवानलाई फोन गयो । जिप्रका डाकियो । ऊ एकैछिनमा कार्यालय आइपुगे । मलाई हेर्दै सोधे, ‘तपाईं नै हो मेरो बारे गुनासो गर्ने ?’

‘हो..’ जवाफ फर्काउँदै भनें, ‘याद छ महानगरपालिका अगाडिको घटना ?’

सुरुमा ती प्रहरी जवानले आफूले गल्ती नगरेको भन्दै अडान राखे । उनको दाबी थियो, ‘रातमा कैयौं नराम्रो मान्छे भेटिन्छन् । त्यसैमा पर्नुभयो होला !’ ती प्रहरीले हामीलाई खै कुन अर्थकोे ‘नराम्रो’ कित्तामा उभ्याएका हुन् ? तर, जुनै भए पनि एक नागरिकले सुरक्षा मागेपछि राम्रो र नराम्रोको लेखाजोखा गर्ने अधिकार उनको छैन ।

ती प्रहरीको तर्क सुनिसकेपछि पारा झनै तात्तियो । त्यतिञ्जेल उनकै तर्क सुन्दै बसिरहेकी थिएँ । तर, एकपछि अर्को कुतर्क गर्न थालेपछि म पनि जंगिएँ, ‘चाहे जो होस्, जे सुकै होस् । तपाईंले त्यतिबेला देखाएको व्यवहार गलत थियो । म पो बोल्न सकें । रातमा हिंड्नुपर्ने तर बोल्न नसक्ने सबैप्रति प्रहरीको व्यवहार यही हो त ?’

ती प्रहरी, जोसँग म ठोक्किन पुगेकी थिएँ । एउटा उदाहरण थियो, राज्य संरक्षित सुरक्षाकर्मी नै निमुखाको अधिकारमाथि कसरी धज्जी उडाइरहेका छन् !

घटनाबारे सम्बन्धित निकायमा गुनासो पोखेर माफी पाइसकेपछि पनि ब्लग लेख्न आवश्यक नरहेको कतिलाई लाग्ला । तर, यो घटनालाई पुनः नबल्झाई उनको गोपनीयता कायम गरेर मैले देखाउन चाहन्छु, समाजको ऐना । सुरक्षा दिने संयन्त्रबाट नै हामी सुरक्षित छैनौं भने समाजको अवस्था कस्तो भयानक छ म अनुमान लगाउन सक्दिनँ ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान चल्दैछ । यो अभियानलाई नेपाल प्रहरीले नमनाउने कुरै भएन । आकर्षक ब्यानर सहित प्रचार गर्न तल्लीन छ । यो आलेख लेख्दै गर्दा इमेल आइपुगेको थियो प्रहरी कार्यालयबाट, ‘लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत दुर्गम स्थानमा गई सचेतना कार्यक्रम गरेको सम्बन्धमा ।’

ट्वीटर र फेसबुकमा समेत पोस्ट्याएर जनचेतना फैलाइरहेको प्रहरी प्रशासन थोरै समय तिम्रो प्रशासनका जवानलाई पनि देऊ । चेतनाको आवश्यकता प्रहरी जवानलाई बढी छ । किनकि मान्छेलाई जहाँबाट आशा हुन्छ, त्यहींबाट निराशा पाउँदा धेरै दुख्छ ।

०००

हिंसा विरुद्ध शून्य सहनशीलता भन्छौं । तर, मेरो प्रश्न छ, कति वटा हिंसापछि शून्य सहनशीलता ? बाटोमा हिंड्दा होस् वा बसको सिटमा । घर होस् वा कार्यस्थल । जहाँतहीं कुनै न कुनै प्रकारमा हिंसा भोग्न बाध्य छौं । फरक–फरक स्वरुपमा । तर, समाज यौनाङ्गमा चोट लागेपछि मात्र हिंसा भएको ठान्छ । यो समाजले त्यो चेतना पनि गुमाइसकेको छ ।

हिंसा जस्तो गम्भीर विषयमा समाज कति असंवेदनशील छ भन्ने नाबालिग बलात्कारका घटनामा समाजको डरलाग्दो मानसिकता देखिसकेका छौं । ‘यूएन वुमन’का अनुसार संसारमा ३ जनामध्ये एकजना महिलाले हिंसा भोगेका हुन्छन्, त्यो पनि आफ्नो नजिकको बाट । त्यो तथ्यांकको ३ संख्यामध्ये एक म पनि हुँ ।

मेरा सीमित सर्कलमध्ये सबै महिला साथीले आफ्नो जीवनमा कुनै न कुनै प्रकारको हिंसा भोगेका छन् । ती सामान्य खालका भने होइनन् । हिंसा सानो र ठूलो भनेर मापन त हुँदैन । तर, हामी हिंसा भोग्न यति बाध्य भइसकेका छौं कि हेराइको, बोलीको वा सार्वजनिक स्थलमा भोगेका दुव्र्यवहार बिर्सिदिन्छौं ।

यूएन वुमनकै तथ्यांक हेर्ने हो भने २६ प्रतिशत १५ वर्षभन्दा माथिका महिला ‘इन्टिमेट पार्टनर भ्वाइलेन्स’ भोग्छन् । हिंसा आफ्नैबाट हुन्छ । बस सम्बन्धको मखुण्डो फालेर हेर्न सक्नुपर्छ ।

महिलाले याद हुन थालेदेखि आजसम्म भोगेका हिंसा सुन्ने सामथ्र्य यो समाजको छैन । बोल्दा प्रतिप्रश्न गर्ने समाज ! के सुन्न सक्ला ? यहाँ सबैले आफूमाथि भएको हरेक हिंसाको बेलिबिस्तार लगाउन थाले । छुवाइबारे ज्ञान नहुँदाको दुखाइ हुर्केपछि दुख्छ । त्यही दुखाइ लिएर हिंड्ने यहाँ कति होलान् ? दुख्दा पनि ‘दुख्यो’ भन्न सकेनन् कतिले । जब ‘दुख्यो’ भने समाजले उल्टै घोच्यो । मानौं दुख्यो भन्नु नै महिलाको गल्ती हो ।

कहिलेकाहीं सोच्छु अनि निसासिन्छु यो विभेदको खाडल देखेर । हेर्दा कस्तो सामान्य छ तर पुरुषले टेक्ने जमिन र महिलाले थामेको समाज फरक छ । कहिलेकाहीं कोही सहानुभूति बोकेर आउँछन्, ‘सबै पुरुष एउटै छैनन् । पहिला जस्तो अहिले कहाँ हुनु ?’

कानको झाली फुट्ने गरी चिच्याउन मन छ– ‘समाजबाट विभेद घटेको छैन । यसको माध्यम परिवर्तन भएको हो । प्रविधिसँगै विभेद झन् डरलाग्दो स्वरुपमा मोडिफाइ छ ।’

समाज भन्छ– तिमीलाई घरबाट निस्किने छुट छ । तर, घडीको सुई–काँटा ख्याल राख्नू !

आपत्ति नै मेरो यसमा छ कि मेरो समयमा स्वामित्व राख्न खोज्ने आखिर को हो त्यो ? ऊ प्रत्यक्ष तरिकाले महिलाको जीवन आफ्नो हातमा लिइरहेको छ । हामी बबुरो रमाउनुपर्ने उसले दिएको थोरै स्वतन्त्रतामा । जुन स्वतन्त्रता मेरो मान्छे हुनुको अधिकार हो । त्यही पनि उसको कथित पुरुषार्थलाई चोट पु¥याउँछ । उसलाई सह्य कहाँ उपभोग्य वस्तुबाट मान्छे हुनुको अस्तित्व महिलाले पाउँदा ।

समाजले नै निर्माण गरिदिएको ‘कोमलता’ भावले माफी धेरै दिइसक्यो । अब बोल्नेहरू तिमीहरूले दिएको चोटमा माफीको मल्हम लगाउने छैनन्… !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?