+
+

नाफा कमाएर आजियाटाले नेपालमा वातावरण छैन भन्नु गैरजिम्मेवार : सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १३:३१
अर्थ समितिको बैठकमा सांसदहरु

  २० मंसिर, काठमाडौं । अरबौं रकम नाफा कमाएर बाहिरिने बेला एनसेलको स्वामित्वकर्ता आजियाटाले नेपालमा लगानीको वातावरण छैन भन्नु गैरजिम्मेवार रहेको सांसदहरुले बताएका छन् ।

बुधबार बसेको अर्थ समितिको बैठकमा सांसद डा. स्वर्णिम वाग्लेले यसबारे अर्थ समितिले आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई पत्र काट्नुपर्ने बताए ।

‘आजियाटाले एनसेल सेयर बिक्रीबारे दुनियाँले थाहा पाउनेगरी तयार गरिएको दस्तावेजमै लगानीको वातावरण नभएको भनिएकाले आजियाटाको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ,’ उनले भने ।

एनसेलका नेपाली साझेदार भनिएका व्यक्तिले नेताहरुलाई नै घुमाइरहेको र तिनै साझेदारको हातमा अब एनसेल पूर्ण स्वामित्व जान लागेको उनको भनाइ छ । एनसेल खरिद-बिक्री सम्झौताका सर्त पनि अपत्यारिलो रहेको उनले बताए । आजियाटा कम्पनीका सीईओ, नेपाली साझेदार र अर्थमन्त्री समेतको उपस्थितिमा यसबारे छलफल हुनुपर्ने वाग्लेको भनाइ छ ।

सांसद दीपक खड्काले एनसेल प्रकरणले अर्थतन्त्र नै माफियाको हातबाट सञ्चालन भएजस्तो देखिएको बताए । ‘विदेशी लगानीकर्तालाई चिढायौं भने लगानीको वातावरण छैन, लगानी बाहिरिन्छ भन्यौं, तर अहिले तिनै कम्पनीले अरबौं कमाएपछि लगानीको वातावरण छैन भन्न मिल्छ ?’ उनले प्रश्न गरे ।

६ वर्षपछि एनसेलको स्वामित्व नेपाल सरकारको हुँदै गर्दा कानुनी छिद्रको फाइदा उठाउँदै आजियाटा बाहिरिन खोजेको उनको भनाइ छ ।

सांसद विराजभक्त श्रेष्ठले नेपालमा लगानीको वातावरण छैन भनेर आजियाटाले दिएको गैरजिम्मेवार अभिव्यक्तिले लगानीको वातावरणमा असर पार्ने बताए । यसले नेपालको सार्वभौमिकतामा पनि आँच आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?