+
+

प्यारापाइलट निस्सिमको मृत्यु गम्भीर लापरबाहीका कारण भन्दै छानबिनको माग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते २०:२२

२० मंसिर, पोखरा । गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा भाग लिने क्रममा ज्यान गुमाएका निस्सिम थापाको गम्भीर लापरबाहीका कारण मृत्यु भएको उनको परिवारले जनाएको छ ।

गत साल असोज ३० गते भएको क्रसकन्ट्री प्याराग्लाइडिङ प्रतियोगिताका सहभागी निस्सिम टेक अप लिएर ५०÷५० मिटर माथि पुग्नेबित्तिकै दुर्घटनामा परेर ज्यान गुमाएका थिए । उनका बुवाआमाले आयोजक, सम्बन्धित क्षेत्रका व्यक्ति र सरोकारवालाको गम्भीर त्रुटिका कारण निस्सिमको मृत्यु भएको भन्दै छानबिनको मागसमेत गरेका छन् ।

निस्सिम फाउण्डेसनका तर्फबाट पत्रकार सम्मेलन गर्दै उनका बुवा प्रकाश थापा र आमा सावित्री मोक्तान थापाले प्याराग्लाइडिङ टेकअप हुने स्थानमा निर्माणाधीन भवनमा ठडिएका फलामे रड निस्सिम मृत्युको एउटा कारण भएको बताए । त्यो बेला सराङकोटस्थित ब्लु स्काई टेकअप जोनबाट प्याराग्लाइडिङ टेकअप हुने ठाउँ नजिकै पोखराको केसी ग्रुपले भवन बनाइरहेको थियो ।

सम्भावित जोखिम र सुरक्षा नअपनाइकन प्याराग्लाइडिङ प्रतियोगिता राखिएको भन्दै आयोजकदेखि उडान भर्न निर्देशन दिने र भवन निर्माण गर्ने केसी ग्रुपसम्म दोषी रहेको परिवारको भनाइ छ । आयोजकको अदूरदर्शिताका कारण निस्सिमले ज्यान गुमाएको आमा सावित्रीले बताइन् ।

प्याराग्लाइडिङ पाइलट थापाको मृत्युुको उचित छानबिनसहित दोषीलाई कडा कारबाहीको मागसमेत गरेका छन् । पोखरा महानगरबाट अनुमतिसमेत नलिइ भवन बनाइएको उनीहरुको भनाइ छ ।

नेपाल आर्मीबाट प्याराग्लाइडिङ प्रतियोगितामा भाग लिएका निस्मिमको ज्यान जानुमा आयोजक दोषी रहेको उनीहरुको दाबी छ । नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ एसोसिएसन, नेफा काठमाडौंका पदाधिकारीले नितान्त हवाई विधा प्याराग्लाइडिङलाई गैरकानुनी रूपमा प्राधिकरणको अनुमतिबिना राष्ट्रिय खेलकुदमा समावेश गरी पाइलट र यात्रुको जीवन जोखिममा राखी पचासौं लाख रकम पेश्की लिएर दुरुपयोग गरेको उनको आरोप छ ।

यो घटना भवितव्य र लेखेको नभई आयोजक र सरोकारवालाद्वारा लेखाइएको आरोप निस्सिमको बुबाको छ ।

उनीहरुले नेपाल हवाई खेलकुद संघ पोखरामा तत्कालीन अध्यक्ष सुनिलबहादुर भट्टराई, राखेपका तत्कालीन सदस्य सचिव टंकलाल घिसिङ, तत्कालीन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेफा अध्यक्ष रूपनारायण श्रेष्ठ, महासचिव शैलेन्द्र राउत, सचिव इन्द्र भण्डारी, मुख्य सेफ्टी डाइरेक्टर योगेश भट्टराई लगायतको गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?