+
+

म्यानचेष्टर सिटीको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २५ गते ६:२६

२५ मंसिर, काठमाडौं । बर्नार्डो शिल्भा र ज्याक ग्रिलिसले दोस्रो हाफमा गरेको गोल मदतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा लुटन टाउन विरुद्ध २-१ को पुनरागमन जित निकालेको छ ।

घरेलु मैदानमा भएको खेलमा इमानुएल एबडेबायोले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै लुटनलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा सिटीले दुई गोल फर्कायो । ६२औं मिनेटमा बर्नार्डो शिल्भाले सिटीका लागि बराबरी गोल गरे । त्यसको तीन मिनेट पछि नै ग्रिलिसले जुलियन अल्भारेजको पासमा गोल गर्दै सिटीलाई पहिलो पटक अग्रता दिलाए । त्यही अग्रता कायमराख्दै सिटी विजयी भयो ।

जितपछि सिटीले चार खेलको जितविहीन यात्रा टुङ्ग्याएको छ र १६ खेलबाट ३३ अंक जोडेर चौथो स्थानमै छ ।

शीर्ष स्थानको लिभरपुल भन्दा चार अंकले पछि रहेको सिटीले तेस्रो स्थानको एस्टन भिल्लासँग अंक दुरी दुईमा झारेको छ ।

टोटनहम विजयी

रिचार्लिसनको दुई गोलमा टोटनहमले न्युकासल युनाईटेडलाई ४-१ ले पराजित गरेको छ । टोटनहमका लागि डेस्टिनी उडोगिई र हेउन मिन सनले पनि एक-एक गोल गरे ।

जितपछि १६ खेलबाट ३० अंक सहित टोटनहम पाँचाै स्थानमा छ । समान खेलबाट २६ अंकसहित न्युकासल साताैँ स्थानमा छ ।

चेल्सी पराजित

लिगकै अर्को खेलमा आइतबार चेल्सी एभरटनसँग २-० ले पराजित भयो । एभरटनले सन् २०२१ पछि लिगमा पहिलो पटक लगातार तेस्रो जित हात पारेको हो ।

एभरटनलाई जिताउन अब्दोउलाय डाउकुरे र लेविस डोबिनले दोस्रो हाफमा गोल गरे । कारवाहीका कारण १० अंक गुमाएको एभरटन १६ खेलबाट १३ अंक जोडेर १७औं स्थानमा छ ।

पराजित चेल्सी १६ खेलबाट १९ अंकसहित १२औं स्थानमा छ ।

फुलहमको ५ गोल

लिगकै अर्को खेलमा फुलहमले वेष्टहम युनाइटेडलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा फुलहमलाई जिताउन पाँच फरक खेलाडीले नै गोल गरे ।

उसका लागि राहुल जिमिनेज, विलियन, टोसिन अडाराबिओयो, ह्यारी विल्सन र कार्लोस भिनिसिउसले गोल गरे ।

जितपछि १६ खेलबाट २१ अंक जोडेर फुलहम दशौँ स्थानमा उक्लेको छ । पराजित वेष्टहम भने समान खेलबाट २४ अंकका साथ नवौँ स्थानमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?