+
+

पाकिस्तान र अफगानिस्तानसँग नेपालको हतारिएको ब्याटिङ

नमिता दाहाल नमिता दाहाल
२०८० मंसिर २५ गते १९:३७

२५ मंसिर, काठमाडौं । यू-१९ एसिया कपको ग्रुप अप डेथमा रहेको नेपालले पाकिस्तान र अफगानिस्तानसँगको खेल हारिसकेको छ । नेपालले अब भारतसँग खेल्न बाँकी छ र यूएईमा चलरिहेको प्रतियोगितामा यो खेल भोलि मंगलबार हुने छ ।

यसअघिका दुवै खेलमा नेपालको ब्याटिङमा समस्या देखियो । जसले गर्दा नेपाल पाकिस्तानसँग ७ विकेटले र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भयो ।

दुवै खेलमा नेपालले ५० ओभर पूरा खेल्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ४७.२ ओभरमा १५२ मा अलआउट भएको नेपाल अफागनस्तिानसँग ४०.१ ओभरमा १८८ मा अलआउट भयो ।

नेपाली खेलाडी क्रिजमा हतारिएकै कारण पूरै ५० ओभर टिक्न नसकेको प्रशिक्षक सामसन जंग थापा बताउँछन् । ‘हामीले सिंगल डबल पनि खेल्नु पर्छ ३५ देखि ४० ओभरसम्म सम्हालिएर ब्याटिङ गर्नुपर्छ । जसरी अर्जुन कुमालले खेल्यो, उसलाई साथ दिने कोही भएन’, उनले भने ।

ओपनर अर्जुन अफगानिस्तानविरुद्धको खेलमा अन्तिम विकेटका रुपमा आउट भएका थिए । ४०.१ ओभरसम्म मैदानमा टिकेका उनले १०८ बलको सामना गरेर ९१ रन बनाए । एक छेउबाट उनले विकेट जोगाए पनि अर्को छेउमा लगातार विकेट गइरह्यो ।

पाकिस्तानसँगको खेलमा मिडल अर्डरमा उत्तम थापाले राम्रो ब्याटिङ गरेका थिए । पाँचौ नम्बरमा ब्याटिङमा आएका उनी ५१ रन बनाएर नवौं विकेटका रुपमा आउट भए ।

उनी ब्याटिङमा आउँदा नेपालको स्कोर मात्र ३३ रन थियो । उनले आउट हुँदासम्म नेपाललाई १३५ रनको स्थितिमा पुर्‍याएका थिए ।

नेपालको खेलको प्रत्यक्ष प्रसारण हेरेका पूर्व खेलाडी शरद भेषवाकर सर्ट सेलेक्सनमा ध्यान नदिँदा नेपाल ५० ओभर टिक्न नसकेको बताउँछन् । ‘देशको लागि खेल्न गएका उनीहरुले जिम्मेवारी नलिएको म भन्दिनँ,’ अनलाइनखबरसँग उनले भने, ‘तर सट सेलेक्सनको क्लारिटी (स्पष्टता) हुनुपर्छ ।’

प्रशिक्षक जगत टमटाले अफगानिस्तानसँगको खेलमा ब्याटिङ अर्डरमा ओपनिङमा बायाँ हाते ब्याटर विपिन रावललाई नयाँ प्रयोगको रुपमा मैदानमा उतारेका थिए ।

पहिलो खेलमा नवौं नम्बरमा ब्याटिङ गरेर खाता खोल्न नसकेका उनले दोस्रो खेलमा पनि खाता खोल्न सकेनन् । ‘ब्याटिङमा दायाँ र बायाँको कम्बिनेसन मिलाउन खोज्नु राम्रो कुरा हो,’ शरदले भने, ‘तर उनको ब्याटिङलाई अझै मूल्याङ्कन र विश्लेषण नै गर्ने बेला भने भएको छैन, दोस्रो खेलमा विपिन आउट थिएनन् जस्तो देखिन्थ्यो, तर अम्पायरको निर्णय हामीले मान्नै पर्छ ।’

सिनियर खेलाडी नचल्दा

यू–१९ टिममा सिनियर टिमको समेत अनुभव लिइसकेका २ खेलाडी छन् ।

कप्तान देव खनालले तेस्रो नम्बरमा सम्हालिएर खेल्ने एकदिवसीय ब्याटरको पहिचान बनाएका खेलाडी हुन् । पाकिस्तान र अफगानस्तानसँग उनले ठूलो पारी खेल्न नसक्नु नेपालको लागि ब्याटिङ चुनौती बनेको हो ।

गुल्सन झा पनि यसै वर्ष सिनियर टिमबाट एसिया कप खेलेका खेलाडी हुन् । उनको अनुभव यू–१९ टिममा बलिङ डिपार्टमा निकै महत्वपूर्ण सावित भएको छ । तर ब्याटिङ आँकडामा उनको प्रदर्शन नगन्य नै बन्न पुग्यो । ‘टेष्ट राष्ट्रहरु हुन् । यो बहाना हुन सक्दैन । टेष्ट राष्ट्रसँग हामीले राम्रो गर्न सक्थ्यौं । मुख्य खेलाडी चलेको भए, नतिजा अर्कै हुन सक्थ्यो,’ शरदले दुई खेलको विश्लेषण गर्दै भने ।

प्रशिक्षक थापा पनि अनुभव र क्षमता भएका खेलाडीबाट खराब सट सेलेक्सन हुँदा टिमको ब्याटिङमा केही समस्यामा परेको बताउँछन् । ‘पहिलो खेलमा उत्तमले निकै राम्रो खेल्यो, हाम्रो अनुभवी खेलाडी देव र गुल्सनले ब्यटिङमा स्टेपअप गर्न सकेको भए नतिजा नै अर्को हुन सक्थयो ।’

उक्त पिचमा सेट भएको ब्याटरले पूरा ओभर खेल्नु पर्ने बताउँदै शरदले भने, ‘सेट भएको ब्याटरले ४० ओभर खेलेर हुँदैन । नयाँ ब्याटर आएर रन हान्न गाह्रो हुन्छ । रिक्स कम लिएर लामो इनिङ खेल्नुपर्छ ।’

बलिङ अलराउन्डरहरुले पनि सेट भएको ब्याटरसँग साझेदारी बनाउँदै टिमलाई राम्रो स्कोर गर्न मद्धत गर्नु पर्ने शरद बताउँछन् । ‘हाम्रो बलिङ अलराउन्डरहरुले पनि खेल्नु पर्छ । बल पुरानो भएपछि रन बनाउन सहज हुन्छ । २५ ओभरपछि रन बन्छ । त्यसैले पार्टनरसिप बनाउने खेलाडी चाहिन्छ ।’

अर्जुनको सम्हालिएको पारी

नेपालका ओपनर ब्याटर अर्जुन कुमाल एकातर्फबाट विकेट धानेर खेल्ने राम्रो खेलाडी हुन् ।

एसिया कपको तयारीकै क्रममा उनले अनलाइनखबरसँग भनेका थिए, ‘मेरो बलियो पक्ष त्यहि नै हो । गुरुले मलाई सुरुदेखि अन्तिमसम्म खेल्ने भन्नुहुन्छ । म मेरो रोल अनुसार नै खेल्छु ।’

नेपाली क्रिकेटमा राम्रो भविष्य बोकेका खेलाडीको रुपमा हेरिएका खेलाडी हुन् उनी । ‘अर्जुन जस्तो ब्याटिङ गर्ने खेलाडी मैले घरेलुमा कोही देखेको छैन । उसलाई विकेट जोगाएर खेल भन्यो भने ऊ विकेटमा गएर सुत्छ, तर विकेट फाल्दैन’, केही समयअघि प्रशिक्षक जगत टमटाले अर्जुनका बारेमा भनेका थिए ।

पहिलो खेलमा पाकिस्तानसँग १६ औं ओभरसम्म टिकेका उनले दोस्रो खेलमा एक्लै एकातर्फबाट विकेट सम्हालेर ४०.१ ओभरमा ९१ रन बनाएका थिए । उनका बारेमा महिला टिम तथा बागमती टिमका प्रशिक्षक समेत रहेका सामसन जंग थापा भन्छन्, ‘अर्जुन निकै भविष्य बोकेको ओपनर हो । हरेक खेलमा उसले आफूलाई प्रमाणित गरिरहेको छ ।’

पेस बलरलाई फेभर गरेको पिच

यूएईको आईसीसी एकेडेमी ओभल २ तीव्र गतिका बलरले फाइदा उठाउन सक्ने पिच हो ।

नेपालका लागि यस टिममा ३ जना तीव्र गतिका बलर छन् । यो पिचमा उनीहरुको प्रदर्शन राम्रो भइरहेको छ । घाँसे पिच भएका कारण कम्तीमा २५ ओभरसम्म तीव्र गति तथा मिडियम पेसको प्रयोग गर्दा नेपालको लागि अझ फाइदा जनक हुन सक्ने शरदले बताए ।

‘बल नयाँ हुँदासम्म हामीले मिडियम पेसर पनि प्रयोग गर्न सक्छौं । त्यो विकेटमा उनीहरु पनि भाग्यशाली सावित हुन सक्छन्’, उनले भने ।

अफगानस्तानसँगको खेलमा कप्तान देवले यो अवधारण प्रयोग गरे तर केही ढिलाइ भयो । यो पिचमा स्पिनरको बल टर्न नहुँदा विकेट लिन गाह्रो भइरहेको शरदले बताए । उनले थपे, ‘यो पिचले पेस बलरहरुलाई नै फेभर गरिरहेको छ । सुवास र दिपेशले एकदमै राम्रो गरिरहनु भएको छ तर स्पिनरको लागि यो पिच टर्न नै भइरहेको छैन ।’

यस पटक टिममा ३ जना दायाँ हाते तीव्र गतिका बलर छन् । उनीहरुको प्रदर्शनमा कमजोरी निकाल्ने स्थान छैन । पहिलो खेलमा हेमन्त धामी खेलेका थिएनन् । लेग स्पिनर तिलक राज भण्डारीले टिममा मौका पाएका थिए । टर्न नहुने पिचमा उनले आफ्नो लेग स्पिनले विकेट निकाल्न सकेनन् ।

दोस्रो खेलमा उनको स्थानमा पेस बलर नै हालियो जसमा हेमन्त रोजाइमा परे । सोच सफल भयो, हेमन्तले अगाडि नै महत्वपूर्ण दुई विकेट निकाले ।

भेन्यु तथा विकेटको कन्डिसन अगाडि नै तय थियो । नेपालका प्रशिक्षक जगत टमटाले टिममा भेरियसनको लागि लेग स्पिनसँग चान्स लिए । ‘लेग स्पिनर विकेट टेकिङ (लिने)को हिसाबले राम्रो अवधारणा हो तर हामीलाई विकेट कन्डिसनले फरक पारेको हो,’ शरदले भने, ‘फास्ट बलरको पिचमा हामीले बढी स्पिनर खेलाइरहेका हौं कि जस्तो लाग्छ ।’

भारतसँगको खेल

नेपालले समू चरणको अन्तिम खेल भारतसँग मंगलबार खेल्दैछ । भारतसँगको खेमला भने नेपालले ब्याटिङमा लामो साझेदारी (पार्टनरसिप) बनाउँदै पूरा ओभर खेल्नुपर्ने शरदको विश्लेषण छ ।

‘भारतसँगको खेलमा हामीसँग एउटा तीव्र गतिको बलर भएको खण्डमा उसलाई प्रयोग गर्दा राम्रो हुन्थ्यो, अब नभएको खण्डमा हामीले ब्याटर एक्स्ट्रा राखेर खेल्नु पर्ने देखिन्छ’, शरथले बताए ।

प्रशिक्षक थापा पनि भारतसँग नेपालले प्रेसर नलिई साझेदारी बनाउँदै ५० ओभर खेल्नु पर्ने बताउँछन् । ‘भोलि भारतसँगको खेलमा नेपालले ५० ओभर ब्याटिङ गर्दैै कम्तीमा पनि २०० माथिको रन बनाउन सक्नुपर्छ । त्यस्तै बलिङमा पनि तथा फिल्डिङमा ओभर थ्रोहरु कम गर्दै खेल्नु पर्ने हुन्छ ।’

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?