+
+

हिमालको चिन्ता गर्दै सकियो पर्वतीय महोत्सव

५ दिन चलेको महोत्सवको १० हजार जनाले गरेको अवलोकन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १८:१७

२६ मंसिर, पोखरा । जलवायु परिवर्तनका कारण बदलिएको हिमाल र हिमाली जनजीवनबारे चिन्तन गर्दै पोखरामा जारी आठौं पर्वतीय महोत्सव मंगलबार सकिएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण संघले बर्षेनी महोत्सव आयोजना गर्दै आएको हो ।

अघिल्ला वर्षहरुमा २ दिनमात्रै पर्वतीय महोत्सव हुँदै आएपनि यो वर्षदेखि ५ दिन मनाउन थालिएको हो । महोत्सवमा पर्वतीय जनजीवन, गिद्ध संरक्षणसम्बन्धी सन्देशमूलक नाटक प्रदर्शन, हिमाली जनजीवन र जीवनशैलीबारे वृत्तचित्र प्रदर्शनी तथा जलवायु परिवर्तनको असरबारे बहस भएको थियो ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवस (डिसेम्बर ११) को अवसरमा सोमबार ‘हिमाल किन कालो हुँदैछ ?’ विषयमा बहस भएको थियो । बहसमा जलवायुसम्बन्धी अध्येता डा जगन्नाथ अधिकारी, पत्रकार कुन्द दीक्षित, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङ, इसिमोडकी डा. अमिना महर्जन वक्ता थिए ।

बहसमा सहभागी वक्ताहरुले विश्वव्यापी रुपमै चुनौतीका रुपमा देखा परेको जलवायु परिर्वनलाई अब चाहेर रोक्न नसकिने तर, त्यसको असर कम गर्न वातावरणीय अनुकूलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए ।

मंगलबार महोत्सवको समापन समारोहमा गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आलेमगरले पछिल्लो समय बढ्दो जलवायु परिवर्तनले हिमाललाई चोट पुर्‍याइरहेको भन्दै चिन्ता व्यक्त गरे । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि प्रतिकुलताको असर भोग्नु परिरहेको उनको भनाइ थियो ।

अर्थमन्त्री आलेले नेपालको परिचय नै हिमालसँग जोडिएकाले यसलाई बचाएर जानुपर्ने बताए । नेपाललाई विश्वमाझ यहाँका हिमाल र हिमाली जीवनशैलीले नै चिनाएकाले यसलाई सम्पत्तिका रुपमा जगेर्ना गनुपर्ने उनको भनाइ छ ।

‘नेपालको मामिलामा यहाँका हिमाल नै हाम्रा सम्पत्ति हुन् यसलाई जोगाइराख्न जरुरी छ । नेपाल विश्वमा चिनिएको पनि यहाँकै पर्वतले हो’, उनले भने ।

गण्डकी नेपालका ७ प्रदेशमध्ये हिमाल, पहाड र तराई मिलेर बनेको एकमात्र प्रदेश भएकाले पनि यहाँ पर्यटनको अझै धेरै सम्भावना रहेको अर्थमन्त्री मगरले सुनाए ।

‘प्रदेशको आर्थिक उन्नतिमा पनि यहाँ भएका हिमालले महत्वपूर्ण भूमिका निभाएका छन्,’ उनले भने, ‘गण्डकीमै पर्वतीय संग्रहालय छ । त्यसकारण पनि प्रदेशको आर्थिक उन्नतिका लागि हामी सँगसँगै हिँड्न जरुरी छ ।’

आयोजक नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले नेपालमा पर्वतीय पर्यटन बढाउन र त्यसको महत्व बुझाउन महोत्सव सुरु गरिएको बताए । ‘यहाँका पवित्र हिमाल र ट्रेकिङका लागि मुख्य प्रवेशद्वार बनाउन महोत्सव गरिएको हो’, उनले भने, ‘प्रत्येक दिन एकदमै सूचनामूलक, सबैले बुझ्ने गरी कार्यक्रमहरु पनि अगाडि बढाएका छौं ।’

नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत तथा महोत्सवका संयोजक जिनेश सिन्दुराकारले पोखरास्थित पर्वतीय संग्रहालयमा बर्सेनि महोत्सवसँगै वार्षिक क्यालेन्डर नै बनाएर कार्यक्रम बनाएर लैजाने योजना रहेको सुनाए ।

महोत्सव सहसंयोजक शेषकान्त शर्माले पर्वतीय महोत्सवलाई पर्वतीय जीवनशैलीबारे बुझ्न ज्ञानको महोत्सवका रुपमा अगाडि बढाइएको सुनाए । उनले भने, ‘आगामी दिनमा यसलाई अझै परिस्कृत र ज्ञानमूलक बनाउने गरी योजना बनाएका छौं’, उनले भने ।

महोत्सवमा पर्वतीय जनजीवन र आरोहीका डकुमेन्ट्रीदेखि जलवायु परिवर्तनको असरबारे बहस भएको थियो । बहसमा सहभागी वक्ताहरुले बदलिँदो जलवायुलाई रोक्न नसकिने तर, अनुकुलताबारे बहस अबको मुख्य मुद्दा हुनुपर्ने सुझाव राखेका थिए ।
महोत्सवमा किम्फसँगको सहकार्यमा पाँचै दिन पर्वतारोहण र पर्वतीय जीवनबारे वृत्तचित्रसहित कीर्तिमानी आरोहीको फोटो प्रदर्शनी पनि गरिएको थियो ।

महोत्सवकै अवसरमा फरकफरक भूगोलमा एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरी डा इरिका हुबाचेक र उनकी छोरी इर्मट्रड हुबाचेकले कैद गरेका तस्वीर पनि प्रर्दशनमा राखिएको थियो ।

शुक्रबारदेखि ५ दिनसम्म चलेको महोत्सव १० हजार जनाले अवलोकन गरेको संग्रहालयकी प्रमुख कार्यकारी अधिकृत निर्मला न्यौपानेले जानकारी दिइन् ।

त्यसबाहेक महोत्सवमा छेलो प्रतियोगिता, जिपलाइन, दोहोरी गीत पनि समावेश गरिएको थियो । छेलो प्रतियोगितामा किरण सुनार पहिलो, युवराज गुरुङ दोस्रो र राजेश गुरुङ तेस्रो बने । उनीहरुले क्रमशः १५, हजार, १० हजार र ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?