+
+

राष्ट्रियसभामा प्रिबजेट छलफल चलाउन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते २०:०७

२७ मंसिर, काठमाडौं । विज्ञहरुले राष्ट्रियसभामा पनि प्रिबजेट छलफल चलाउन सुझाएका छन् ।

राष्ट्रिय सभाले आफ्नो नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले बुधबार सिंहदरबारमा गरेको छलफलमा सरोकारवालाहरुले राष्ट्रिय सभामा पनि प्रिबजेट छलफल हुनु उपयुक्त हुने सुझाव दिएका हुन् ।

प्रतिनिधि सभाको अर्थ समितिले प्रिबजेट छलफल चलाउने गरेको छ । तर, राष्ट्रिय सभामा प्रिबजेट छलफल हुने गरेको छैन । राष्ट्रिय सभा नियमावलीमै प्रिबजेट छलफल गर्ने र वित्तीय क्षेत्र हेर्न छुट्टै विषयगत समिति राख्न वा हाल भइरहेकै कुनै समितिको कार्यक्षेत्र विस्तार गर्न विज्ञहरुले सुझाव दिएका हुन् ।

बुधबारको छलफलमा पूर्व कानुनमन्त्री माधव पौडेल, संविधानविद काशीराज दाशाल, राष्ट्रिय सभाका पूर्वसदस्यहरु दिनानाथ शर्मा, रामनारायण बिडारी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्क केसी सहभागी थिए । संसद सचिवालयका पूर्वमहासचिव मनोहर भट्टराईले आफ्नो लिखित राय पठाएका थिए ।

राष्ट्रिय सभाले अर्थ र वित्तीय क्षेत्र हेर्दै नहेर्ने जस्तो अवस्था रहेको उल्लेख गर्दै पूर्व कानुन सचिव पौडेलले नियमावलीमै व्यवस्था गरेर जानु उपयुक्त हुने सुझाए ।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खड्ग केसीले पनि विज्ञहरुको सभाले बजेट र वित्तीय क्षेत्रमा छलफल चलाउनु उपयुक्त हुने धारणा राखे ।

२६ असोज २०८० मा बसेको राष्ट्रिय सभाको बैठकले नियमावली संशोधन मस्यौदा समिति गठन गरेको थियो । संसद सचिवालयका उपसचिव एवं सहप्रवक्ता दशरथ धमलाका अनुसार मस्यौदा समिति विज्ञहरुको सुझाव संकलनको क्रममा रहेको छ । अब अर्को एउटा सुझाव संकलन कार्यक्रम राख्ने र एउटा निचोडमा पुगेर नियमावली संशोधनको लागि दफावार छलफल सुरु गर्ने मस्यौदा समितिको तयारी छ ।

मस्यौदा समिति १२ सदस्यीय छ । समितिमा सांसदहरु अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा सदस्य छन् । सांसदहरु भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा, मोहम्मद खालिद, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समिति सदस्य छन् ।

मस्यौदा समितिलाई आगामी पुस १४ गते सम्मको कार्यावधि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?