+
+

मूल्यवृद्धि गत वर्ष भन्दा ३ प्रतिशत विन्दुले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते १४:४९

२८ मंसिर, काठमाडौं । बजारमा महँगी घटेको तथ्याङ्‍क नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । बिहीबार चालु आर्थिक वर्षको चौथो महिनाको समग्र आर्थिक र वित्तीय अवस्थाको विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले समग्र मुद्रास्फीति ५.३८ प्रतिशत रहेको उल्लेख गरेको छ । जुन केन्द्रीय बैंकको आफ्नो वार्षिक लक्ष्यमा तोकेको विन्दुभन्दा पनि न्यून हो । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो ।

गत साउनदेखि कात्तिकसम्म खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

यस्तै समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ ।

२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

२०८० कात्तिक महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.०९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १०.०२ प्रतिशत रहेको थियो ।

समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः २.६३ प्रतिशत, १.७१ प्रतिशत र २.६७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति १.०५ प्रतिशतले घटेको छ ।

केन्द्रीय बैंकको तथ्याङ्‍कअनुसार महँगी भारतमा भन्दा पनि नेपालमा तल झरेको छ । २०८० कात्तिक महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ । सन् २०२३ नोभेम्बर महिनामा भारतको यस्तो मुद्रास्फीति ५.५५ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?