+
+
थमन बिक हत्या :

प्रदेश सांसद शर्मासहित ७ जनालाई जन्मकैद, संघीय सांसद महतोलाई सफाइ

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० मंसिर २८ गते २०:१०
थमन विक हत्या मुद्दामा सफाइ पाएका लक्ष्मी महतो कोइरी (बाँया) र जन्मकैदको सजाय पाएका लोसपा नेता अभिराम शर्मा ।

२८ मंसिर, जनकपुरधाम । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् ।

मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी दिइन् ।

जन्मकैदको सजाय सुनाइएका अभिराम शर्मा हाल मधेश प्रदेशसभामा लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता छन् । त्यस्तै जन्मकैदकै सजाय पाएका रामशंकर मिश्र जलेश्वर नगरपालिकाका पूर्वमेयर हुन् ।

यो घटनामा महोत्तरी १ बाट प्रतिनिधिसभामा निर्वाचित लक्ष्मी महतो कोइरीले सफाइ पाएको श्रेस्तेदार झाले बताइन् । यो मुद्दामा जिल्ला अदालत महोत्तरीले थुनछेक आदेशपछि तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र चार जनालाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो । दुईजना तारेख गुजारेर बसेका छन् भने १९ जना फरार छन् । फरार रहेकाहरुको हकमा भने फैसला मुल्तवीमा राखिएको छ ।

कर्तव्य ज्यान मुद्दामा सन्दीप साह माझी, सञ्जयकुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् । मुद्दाको फैसला हुँदा कापरले भने सफाइ पाएका छन् ।

प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर फरार भएका थिए । त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका थिए ।

अभियुक्तहरु रमेशप्रसाद साह, सतेन्द्र चौधरी, चन्देश्वर साह, राजु चौधरी, नरेश साह, रामराजा साह, गोलु साह, हरिओमकुमार भगत, रविन्द्र राम चमार, रञ्जित साह, विकी साह, फुले यादव, रोहित कुमार शर्मा, लालबाबु बिन, शम्भु साह, अनित ठाकुर, अनिल ठाकुर, देवेन्द्र यादव र कौशल कुमार यादव फरार छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट संयुक्त राष्ट्रसंघीय मिसनका लागि परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन बिकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते बिकलाई जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि एम्बुलेन्समा जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले निकालेर कुटपिट गर्दा उनको ज्यान गएको थियो ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?