+
+

पोखराको प्याराग्लाइडिङमा एकद्वार हटाएपछि विवाद, आन्दोलनमा पाइलट

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २८ गते २०:०४

२८ मंसिर, पोखरा । पोखराको प्याराग्लाइडिङ उडानमा एकद्वार प्रणाली हटाएपछि विवाद उत्पन्न भएको छ ।

अहिलेसम्म प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली अपनाउने गर्दै आएको थियो ।

संस्थाले व्यवसायीलाई शुल्कदेखि आलोपालोसम्म तोकिदिने कामले सिण्डिकेट हुने र स्वतन्त्र व्यवसायको अधिकार पनि मर्ने भन्दै अहिले व्यवसायीलाई शुल्क तोक्नेदेखि उडान गर्नेसम्मको अधिकार ‘ना’ ले सुम्पिएको छ ।

संस्थाले व्यवसायीलाई नै शुल्क तोक्न दिँदा र आलाोपालो व्यवस्था पनि हटाउँदा प्याराग्लाइडिङ क्षेत्रमा मनपरी बढ्ने भन्दै बिहीबार प्यारापाइलटहरुले उडान ठप्प पारेका छन् ।
संस्थाले यसअघि उडानमा एकरुपमा कायम गर्ने भन्दै आधा घण्टा उडान भर्दा स्वदेशी तथा विदेशी दुबैसँग १२ हजार रुपैयाँ र पालो गरेर उडान गराउने व्यवस्था गरेको थियो । संस्थाबाटै एकद्वार प्रणालीमार्फत उडान गराउने कि सम्पूर्ण अधिकार व्यवसायीलाई दिने भन्ने विषयमा व्यवसायीकै बीचमा मतभेद थियो ।

संस्थाले तोकिदिएको मूल्य महँगो भएको, प्रवर्द्धनात्मक गतिविधिमा सहयोगी नबनेको, सेवा फितलो बनेको र संस्थाले एकाधिकार जमाएको एकाथरी व्यवसायीको भनाइ थियो ।

पोखराबाट व्यावसायिक उडान गराउने ५२ मध्ये २१ वटा कम्पनीले संस्थाको एकद्वारा प्रणाली नमान्ने बताएपछि सम्पूर्ण अधिकार व्यवसायीलाई नै दिइएको अध्यक्ष सुनिल भट्टराईले बताए ।

शुल्कदेखि आलोपालोसम्मको काम संस्थाले गर्दा सिण्डिकेट भएको भन्ने धेरैतिरबाट गुनासो पनि आएको र नागरिक उड्डयन प्राधिकरणले दिएको अधिकारभित्र रहेर उडान भर्न व्यवसायीलाई भनिएको महासचिव खेमराज आचार्यले जानकारी दिए ।

‘क्यानले ‘ना’लाई निश्चित अधिकार दिएको छ । नियमन, अनुगमन गर्नेसम्मको काम नाले गर्छ,’ आचार्यले भने, ‘तर, व्यावसायिक अधिकार उहाँहरुमै निहित हुने भएकाले संस्थाले हस्तक्षेप गर्न नमिलेको हो ।’

पोखराको आकासमा बिहीबार प्याग्लाइडिङ ठप्प पारेका पाइलटहरुले भने सम्पूर्ण निर्णय गर्ने अधिकार व्यवसायीलाई नै दिँदा बेथिति बढ्ने बताइरहेका छन् । ‘हामीले पोखराको प्याराग्लाइडिङ अझै व्यवस्थित होस् भन्ने चाहेका हौ. । अहिले चलिराखेकै व्यवस्थाले एउटा सिस्टम बसाल्छ भन्ने हो,’ पाइलट क्लबका अध्यक्ष दीपक थापाले भने, ‘हामी सिण्डिकेट पक्षधर होइनौं तर कसैले पनि नियन्त्रण नगर्दा झनै अस्तव्यस्त हुन्छ भन्ने चिन्ता हो ।’

व्यवसायीले अहिले भइरहेको शुल्क १२ हजार रुपैयाँभन्दा कम वा बढीमा उडाउन सक्ने छन् । जुनसुकै बेला, जतिसुकै मूल्यमा उडाउन पाउने भएपछि झनै उडान क्षेत्र अनियन्त्रित हुने थापाको भनाइ छ ।

‘एकद्वार हटाउँदा शुल्कमा मनपरी हुन सक्छ । पाइलटले पाउने शुल्क कम हुन्छ, पाइलटको एकता छिन्नभिन्न हुने भयो । झनै अव्यस्थित हुन सक्छ,’ पाइलट थापाले भने, ‘यात्रुले पनि कम सुविधा पाउन सक्ने हुन सक्छ ।’

बिहीबार उडान रोकेका पाइलटले शुक्रबार बैठक बसेर बाँकी निर्णय गर्ने बताएका छन् । एकद्वार प्रणाली हटाउँदा बजारमा शुल्कको प्रतिस्पर्धा बढ्ने, एकरुपता नहुने र त्यसले पाइलटको आम्दानीसमेत घटाउने उनीहरुको भनाइ छ ।

व्यवसायीहरुले भने देशबाटै सिण्डिकेट हटिसकेको अवस्थामा प्याराग्लाइडिङमा जारी राख्नु गलत हुने बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बिस्थापित हुने चिन्तामा रहेका पोखेराका प्याराग्लाइडिङ व्यवसायीलाई सराङकोटको पुरानो ठाउँ छाडेर तोरीपानी र मान्द्रेढुंगाबाट अहिले उडान भर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?