+
+

मधेशमा बेवारिसे शव कसको ?

मधेश प्रदेशका जिल्लामा हत्या प्रकृतिका शव फेला पर्ने क्रम जारी छ । तर ती शवको न पहिचान खुल्छ, न अपराधी पत्ता लाग्छ । यो घटनाले प्रहरीको अनुसन्धान क्षमतामा प्रश्न त उठेको छ नै, मधेश असुरक्षित रहेको सन्देश पनि जाने चिन्ता छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८० मंसिर २९ गते २०:१०

२९ मंसिर, जनकपुरधाम । मंसिर १२ गते धनुषाको धनौजी गाउँपालिका-४ भडरियास्थित आँपको बगैंचामा परालले छोपिएको अवस्थामा एक महिलाको शव भेटियो ।

तालिमप्राप्त कुकुरसहित पुगेको धनुषाका प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा नेतृत्वको टोलीले हेर्दा अन्दाजी ३५ वर्षीया महिलाको घाँटीमा कपडा बाँधिएको थियो । कसैले हत्या गरेर शव लुकाउन खोजेको हुनसक्ने अनुमान प्रहरीले गर्‍यो ।

प्रहरीले वरपरका गाउँ/टोल र छिमेकी जिल्लामा महिलाको अनुहारको तस्वीर पठाएर पहिचान गर्न कोसिस गरे पनि अहिलेसम्म सफल भएको छैन । पोस्टमार्टम रिपोर्टबाट पनि मृत्युको कारण नखुलेको प्रहरी बताउँछ ।

‘पोस्टमार्टम रिपोर्टले ठ्याक्कै यो कारणले नै मृत्यु भएको भन्न सकेको छैन’ एसपी शर्मा भन्छन्, ‘हत्या नै गरेर कसैले फालेको हो कि भन्ने हाम्रो आशंका छ ।’

मृतक भारततिरका वा कसैले घटना खुल्छ भनेर लुकाउने प्रयास गर्ने गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

*****

गत भदौ १२ गते पर्साको जिराभवानी गाउँपालिकामा-४ स्थित इमृती खोलामा टाउको नभएको अवस्थामा महिलाको शव भेटियो ।

अहिलेसम्म त्यो शव कसको हो भन्ने खुलेको छैन ।

पर्साका प्रहरी प्रमुख एसपी कोमल शाहले खोजीनिती र अनुसन्धान जारी राखेको तर शवको पहिचान नखुलेको बताए ।

मधेशका जिल्लामा गत साउनयता भेटिएका चारवटा शवको प्रहरीले सनाखत गर्न सकेको छैन । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार पर्सामा दुई जना महिला तथा धनुषा र रौतहटमा १-१ जनाको हत्या भएको अवस्थामा शव भेटिएको छ ।

ती मृतकहरु कहाँका हुन् र कसले, किन हत्या गरेका हुन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

अपराधी पत्ता लगाउन सकस

शव सनाखत नहुँदा अनुसन्धान गरेर अपराधीसम्म पुग्न प्रहरीलाई सकस परेको छ । नेपाल-भारत सिमाना खुला भएकाले अपराधीहरु सहजै नेपाली भूमिमा प्रवेश गरेर हत्या गर्ने र भारत पसेर लुक्ने गरेको प्रहरीको अनुमान छ । त्यसले गर्दा मृतक र घटनामा संलग्नको पहिचान गर्न गाह्रो भएको प्रहरी अधिकृतले बताए ।

‘मृतकको पहिचान नखुल्दासम्म अनुसन्धान प्रक्रिया अगाडि बढाउनै मुश्किल हुन्छ’ एक प्रहरी अधिकारी भन्छन्, ‘खुला बोर्डरको कारण उताबाट (भारतबाट) आएर यता (नेपालमा) घटना गराउने र फेरि पारी भाग्ने कारणले मृतक र अपराधीको पहिचान हुन गाह्रो छ ।’

शवहरु बेवारिसेको सूचीमा

गत साउन १६ गते बिहान सिरहाको गोलबजार नगरपालिका-२ गागन खोलाको पश्चिम किनारमा बाँस झाडीमा फेला परेको अन्दाजी २५ वर्षीय युवकको शवलाई प्रहरीले बेवारिसेको सूचीमा राखेको छ ।

उनको टाउकोमा चोट र घाँटीमा गम्छा बाँधिएकाले हत्या भएको अनुमान प्रहरीले गरेको छ । तर उनको पहिचान नखुलेपछि बेवारिसे शव फेला परेको सामान्य घटनाको सूचिमा राखिएको छ ।

तत्कालिन समयमा घटनास्थलमा पुगेका सिरहाका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डे सुनाउँछन्, ‘शव झाडीमा फालेको थियो । टाउकोमा चोट थियो, घाँटीमा गम्छा बाँधिएको थियो । त्यसैले घटना शंकास्पदै थियो । तर पहिचान खुल्ने केही डकुमेन्ट वा मोबाइल पनि भेटिएन ।’

उनका अनुसार प्रहरीले देशैभरका प्रहरी युनिटमा पत्राचार गरेर शवको पहिचान गर्ने प्रयास गरे पनि सनाखत हुन सकेन ।

यस्तै शवको डीएनए परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाएकामा अहिलेसम्म रिपोर्ट आएको छैन ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले जिल्लाहरुबाट तथ्यांक मागेर विवरण राखिएको र त्यो घटना बेवारिसे शवको सूचीमा रहेको बताउँछन् ।

यसैगरी गत मंसिर १६ गते धनुषाको मिथिला नगरपालिका-५ स्थित श्रीपुर गाउँको पूर्वतर्फ औरही खोला किनारमा मृत फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पनि अहिलेसम्म पहिचान हुनसकेको छैन ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाका अनुसार विभिन्न माध्यमबाट शवको पहिचान गर्ने प्रयास भइरहेको छ ।

‘वरपरका गाउँघरको महिला जस्तो देखिँदैन । त्यसैले सनाखत भएन’, डीएसपी अवा भन्छन् । कर्तव्य गरेर ज्यान मारे जस्तो नदेखिएकाले ती महिलाको आफैं कुनै कारणले मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्ता बेवारिसे र पहिचान नखुलेका शवका संख्या मधेशमा बढ्दो छ ।

आर्थिक वर्ष २०७८/७९ देखि २०८० मंसिर महिनासम्म मधेशमा २०७ जनाको शव फेला परेको छ । १९५ जनाको आफैं मृत्यु भएको देखिएको र ७ जनाको हत्या भएको देखिएको तथ्यांकमा उल्लेख छ ।

यी मृतकको हालसम्म सनाखत नभएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतो बताउँछन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षमा साउनदेखि यता मधेश प्रदेशमा बेवारिसे अवस्थामा ४१ जनाको शव फेला परेको छ । जसमा २६ जना पुरुष, ८ जना महिला, ४ जना बालक र ३ बालिका छन् ।

सबभन्दा बढी धनुषामा ९ जनाको बेवारिसे शव फेला परेको छ । सिरहा, सप्तरी, सर्लाही र पर्सामा ६-६ जना, रौतहटमा ४, बारामा ३ र महोत्तरीमा १ जनाको शवको सनाखत नभएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महतो बताउँछन् ।

गत आर्थिक वर्ष २०७९/८० मा पहिचान हुन नसकेका ७८ जनाको शव फेला परेका थिए । सबभन्दा बढी पुरुष ६५ जना, महिला ११ र बालबालिका २ जना थिए ।

धनुषामा सबभन्दा बढी १९ जना, पर्सामा १७ जना, बारामा १३ जना, सप्तरीमा ९ जना, महोत्तरीमा ८ जना, रौतहटमा ६ जना, सर्लाहीमा ५ जना र सिरहामा १ जनाको शव सो अवधिमा फेला परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यसअघि २०७८/७९ मा पहिचान नखुलेका ७६ शव फेला परेका थिए । जसमा पुरुष ५१ जना, महिला २० जना, बालबालिका ४ जना र बालक १ जना थिए ।

भेटिएका कतिपय मृतकहरुको पहिचान नहुनुलाई प्रहरी विभिन्न कारण देखाउँछन् । प्रदेश प्रहरी कार्यालय जनकपुरका एसएसपी प्रविन पोखरेल खुला सीमाको कारण मानसिक सन्तुलन ठीक नभएका कतिपय मान्छे मधेशको भूमिमा आइपुग्ने र यतै विभिन्न कारणले मृत्यु हुने गरेको बताउँछन् ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?