+
+

दीर्घरोगीहरुलाई तीन महिनाको औषधि एकैपटक दिने स्वास्थ्य बीमा बोर्डको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते १३:२२

२९ मंसिर, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्व आएपछि अस्तव्यस्त बन्दै गएको कार्यक्रमलाई लयमा ल्याउने प्रयास भएको छ ।

गत आइतबारदेखि जिम्मेवारी समालेका बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुधबार बैठक राखेर केही महत्वपूर्ण निर्णय गरेका छन् ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले बुधबार स्वास्थ्य बीमा सुधार कार्यक्रमका लक्षित ८ वटा निर्णय भएको बताए ।

‘अहिले केही प्रक्रियागत कुरामा सुधार गर्ने निर्णय गरेका छौं । बीमा धेरै सुधारसँगै विस्तार गनुपर्ने छ,’ डा. लोहनीले अनलाइनखबरसँग भने ।

उनका अनुसार बैठकले दाबी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्नेदेखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य समायोजनको कार्यलाई अघि बढाउने निर्णय गरेको छ ।

यस्तै, नियमित औषधि खाने दीर्घ रोगीहरुलाई तीन महिनाको औषधि दिन मिल्ने, एउटै रोगका लागि फलोअपमा जानु पर्ने विरामीले पटक पटक रेफर बनाउन नपर्ने निर्णय गरेको छ ।

सेवा प्रदायक स्वास्थ्य संस्थाहरुबाट पेश भएका दाबीहरुलाई पुनरावलोकन गर्नका लागि सातै प्रदेशमा परिचालन भई अनुगमन गर्ने गरी पाँच सदस्यीय विज्ञ समूहको एक स्वतन्त्र दाबी पुनारावलोकन समिति गठन गर्ने र समितिको कार्यविवरण तयार गर्ने र एक महिना भित्र दाबी पुनरावलोकन गराउने व्यवस्थाका लागि जिम्मेवारी दिने निर्णय भएको छ ।

यस्तै,स्वास्थ्य बीमा ऐन २०७४ को दफा ७ मा भएको व्यवस्था बमोजिम सहभुक्तानी (पेमेन्ट) को प्रणाली लागू गर्नका लागि बनेको कार्यविधि–२०८० लाई परिमार्जन सहित स्विकृत गरी आगामी १ माघ देखि कार्यान्वयनमा ल्याउने, सेवा प्रदायक स्वास्थ्य संस्थाले दाबी गर्ने व्यवस्थालाई एपीआईको माध्यमबाट रियल टाइम गर्न सक्ने गर्ने व्यवस्था मिलाउन जोड दिने डा. लोहनीले बताए ।

उनले एक पटक रेफर भई आएका बिरामीलाई सोही रोग निक्र्योल नहुँदासम्म फलोअपका लागि आउँदा पुनः प्रेशण स्विकृत (रेफर) लिई रहन नपर्ने व्यवस्था मिलाउने, स्थायी संगठन संरचनाको स्वीकृतिका लागि पहल गर्ने निर्ण भएको पनि जानकारी दिए ।

यस्तै, स्वास्थ्य बीमा बोर्डको आवश्यक जनशक्तिको माग गरी २०८० वैशाख १४ गते प्रकाशित सूचना अनुसार २ असारमा लिइएको परीक्षाको नतिजा यथाशक्य छिटो प्रकाशित गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?