+

गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

२०८० चैत  २२ गते १३:३० २०८० चैत २२ गते १३:३०
गर्भवती आमालाई कुनै दीर्घरोग भए गर्भको बच्चालाई सर्छ ?

गर्भावस्थामा कुनै दीर्घरोग लागेमा गर्भको बच्चामा सो रोग सर्न सक्छ ? स्वभाविक चासोको विषय हो यो । किनभने गर्भावस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड गडबडी जस्ता समस्या देखा पर्न सक्छन् ।

खासगरी गर्भवती आमालाई वंशाणुगत रोग भएमा त्यो बच्चामा सर्न सक्छ । थालासेमिया, हेमोफिलिया, एचआईभी एड्स, थाइराइड गडबडी जस्ता समस्या भएमा तिनका शिशुमा पनि उक्त समस्या आउन सक्छ । उच्च रक्तचाप, मधुमेह, हृदयघात, मुटुरोग र क्यान्सर पनि बच्चालाई सर्न सक्छ । तर गर्भवतीलाई कुनै किसिमको वंशाणुगत रोग छैन भने शिशुमा त्यस्तो कुनै खतरा हुँदैन ।

गर्भावस्थामा यी नौ किसिमको वंशाणुगत समस्या भएपछि जन्मिने शिशुमा सो रोग देखापर्न सक्छ ।

हेमोफिलिया

गर्भवती आमालाई हेमोफेलिया भएमा गर्भमा रहेको बच्चालाई हुनसक्छ । हेमोफिलिया रगत जम्ने प्रक्रियामा समस्या हुने वंशाणुगत समस्या हो । यसमा सामान्य चोटपटक लाग्दा पनि धेरै रक्तस्राव हुने समस्या हुन्छ ।

यसमा शरीरमा कतै पनि रक्तस्राव भएको बेला त्यसलाई रोक्ने आवश्यक तत्व (क्लटिङ फ्याक्टर)को कमी हुँदा हेमोफिलिया हुन्छ । यो रगतको माध्यमबाट बच्चालाई सर्छ ।

थालासेमिया

यो रोग गर्भवती आमालाई भएमा बच्चालाई सर्न सक्छ । किनभने यो रगतजन्य विकार पनि एक प्रकारको वंशाणुगत रोग हो । यस रोगमा रगतमा हेमोग्लोबिनको कमी हुन्छ । शरीरलाई आवश्यक रगत बन्न सक्दैन र शरीरमा रगतको कमी हुन्छ । जसकारण स्वास्थ्यसम्बन्धी थुप्रै समस्या देखिन्छन् ।

एचआभी एड्स

गर्भवती आमालाई एचआईभीबाट संक्रमित भएमा गर्भमा रहेको बच्चालाई पनि यो रोग सर्न सक्छ । नवजात शिशुमा जन्मिनासाथ एचआइभी संक्रमण छ कि छैन भन्ने रगत जाँचेर थाहा पाउनुपर्ने हुन्छ ।

यदि गर्भवती आमाले एचआईभीविरुद्धको औषधि गर्भ रहनु भन्दा पहिलेदेखि नै खाइरहेको अवस्थामा बच्चालाई एचआईभी सर्ने सम्भावना निकै कम हुन्छ । यी औषधिले रोगप्रतिरोधात्मक क्षमता कमी हुन दिंदैन ।

हेपाटाइटिस बी र सी

गर्भावस्थामा आमालाई हेपाटाइटिस बी र सी संक्रमण भएमा जन्मिने शिशुलाई पनि ती संक्रमण सर्न सक्छ । गर्भावस्थामा यसको संक्रमण भएमा आमा र बच्चाको मृत्युसमेत हुनसक्छ । यो पनि संक्रमित रगतको माध्यमबाट सर्ने गर्छ ।

थाइराइड गडबडी

आमा गर्भवती हुँदा थाइराइड हार्मोनको अपुग छ भने गर्भमा भएको शिशुलाई पनि थाइराइडको समस्या हुनसक्छ । र, हार्मोनको कमी भएमा शिशु जन्मिएको केही महिना वा वर्षमा नै लक्षण देखापर्छ । जस्तै, गर्भवती महिलामा थाइराइड हार्मोनको कमीले सुस्त मनस्थिति, वृद्धिविकासमा ढिलाइ हुने हुन्छ । तर गर्भावस्थामा थाइराइडको औषधि खाइराखेको अवस्थामा शिशुमा यो रोग सर्दैन ।

मधुमेह

आमालाई गर्भवती अवस्थामा मधुमेह भएकै कारण उसको जन्मिने शिशुमा तत्काल मधुमेह रोग देखिंदैन । तर वंशाणुगत रुपमा परिवारमा कसैलाई मधुमेहको समस्या छ भने गर्भवती आमालाई मधुमेहको समस्या नभएपनि बच्चालाई मधुमेह सर्ने सम्भावना बढी हुन्छ ।

तर जन्मिनेबित्तिकै तत्काल बच्चामा मधुमेह रोग हुँदैन । तर पछि हुने जोखिम बढी हुन्छ । जस्तै अरुलाई ३०-४० वर्षमा मधुमेह हुने जोखिम हुन्छ भने त्यो बच्चालाई जन्मिएको २०-२५ वर्षमा नै मधुमेह हुनसक्छ ।

उच्च रक्तचाप

कम उमेरमा उच्च रक्तचापको समस्या थियो र गर्भावस्थामा पनि उच्च रक्तचापको समस्या भएमा जन्मिने शिशुहरुमा पछि गएर उच्च रक्तचापको समस्या हुने जोखिम बढी हुन्छ । तर शिशु जन्मिने बित्तिकै तत्काल असर हुँदैन । दीर्घकालमा यस्तो समस्या हुनसक्छ ।

मुटुरोग

गर्भवती आमालाई जन्मजात मुटुरोग भएमा शिशुलाई मुटुरोग हुन्छ । तर आमालाई जन्मजात खालको नभई बाथरोग जस्ता संक्रमणको कारण पछि आएर मुटुको समस्या वा रोग भएको भए त्यस्तो खालको मुटुरोग सर्ने सम्भावना कम हुन्छ ।

त्यस्तै विगतमा परिवारमा कसैलाई हृदयघात भएको छ भने बच्चालाई पनि पछि त्यस्तै हुनसक्छ । हृदयघात रक्तनली खुम्चिने समस्याबाट हुन्छ, जुन वंशाणुगत समस्याभित्र पर्छ ।

क्यान्सर

कतिपय क्यान्सर परिवारमा वंशाणुगत तवरमा भएमा जन्मिने बच्चालाई पनि भविष्यमा क्यान्सरको जोखिम बढी हुन्छ । तर कतिपय क्यान्सरको समस्या आमालाई नभएपनि हुनसक्छ ।

गर्भवती डा. कीर्तिपाल सुवेदी दीर्घरोग शिशु
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय