+

गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

२०८० पुष  ८ गते १५:०१ २०८० पुष ८ गते १५:०१
गर्भावस्था : वाकवाक लाग्छ, खाना रुच्दैन, के गरौं ?

गर्भावस्थाको तीन महिनामा धेरैजसो वाकवाकी लाग्ने गर्छ । कसैलाई केही दिन लाग्छ भने केहीलाई महिनौंसम्म निरन्तर वाकवाकी लाग्न सक्छ ।

गर्भावस्थामा वाकवाकी लाग्नु, खानेकुरा दिगमिग लाग्नु, वान्ता हुनु सामान्य मानिन्छ । कतिपय अवस्थामा यसलाई गर्भधारणको पहिलो लक्षणको रुपमा पनि बुझ्ने गरिन्छ ।

गर्भावस्थामा वाकवाकी लाग्नुको कारण हर्मोनमा हुने परिवर्तन हो । त्यसबेला गर्भाशयमा भ्रुण विकास गर्न एक किसिमको हर्मोन जरुरी हुन्छ, जसलाई ह्युमन कोरियोनिक गोनाडोट्रोफिन (एचसीजी) भनिन्छ । गर्भावस्थामा यो हर्मोनको स्तर अचानक बढ्न थाल्छ ।

यो हर्मोनले महिलाको पेट र आन्द्रामा सोझो प्रभाव पार्छ, जसले गर्दा मर्निङ सिकनेस (बिहान उठ्नसाथ वाकवाकी लाग्ने) वा खाना खानसाथ वाकवाकी लाग्ने हुन्छ । यो क्रम तीन महिनासम्म बढी हुन्छ र त्यसपछि क्रमस सबै ठीक हुँदै जान्छ । किनभने तीन महिनापछि  शरीरमा उक्त हर्मोनको स्तर कम हुँदै जान्छ ।

वाकवाकी कसरी रोक्ने ?

कहिले काहीँ गर्भावस्थामा अरु कारणले पनि वाकवाकी लागेको हुनसक्छ । गर्भावस्थाको कारण वाकवाकी लागेको छ र त्यसैले असहज बनाएको छ भने त्यसलाई रोक्ने औषधि खान सकिन्छ । यद्यपि औषधि आफुखुसी खानु हुँदैन, चिकित्सकको परामर्श लिनुपर्छ ।

कतिपयलाई के लाग्छ भने गर्भावस्थामा वाकवाकी रोक्ने औषधि खान हुँदैन यसले गर्भमा हुर्कदै गरेको भ्रुणलाई असर गर्छ भन्ने मानसिकता छ । यो गलत हो । वाकवाकी रोक्ने औषधि सुरक्षित छ । चिकित्सकको सल्लाह अनुसार दुई वा तीन चोटीसम्म खान सकिन्छ ।

औषधिले पनि वाकवाकी रोकिएन भने अस्पतालमा गएर सुई पनि लगाउन सकिने विकल्प छ ।

के खानाको कारणले वाकवाकी लाग्छ ?

गर्भावस्थामा कतिपयलाई खानेकुरा खाइरहन मन लाग्छ भने कतिलाई अरुची हुन्छ । त्यसैले खानेकुराकै कारण पो वाकवाकी लागेको हो कि भन्ने लाग्न सक्छ । यस्ता महिलाहरु पनि हुन्छन्, जो वाकवाकी लाग्छ भनेर खानपान बार्ने गर्छन् ।

तर, गर्भावस्थामा वाकवाकी लाग्नुको कारण खानपान होइन । त्यसैले खानेकुरा बार्नुपर्दैन । रक्सी, चुरोटबाहेक अरु खानेकुरा खाए हुन्छ । यतिबेला शरीरलाई खानेकुरा अरु जरुरी हुन्छ । भरपुर पोषण चाहिन्छ । त्यसैले खानेकुरा नखाँदा ग्लुकोज, प्रोटिन जस्ता पोषकतत्वको कमी हुनसक्छ ।

यद्यपि रुची नै नभएपछि राम्ररी खान सकिदैन । माछामासु देख्नसाथ दिगमिग लाग्ने, दही दूध खानै मन नलाग्ने हुनसक्छ । यस्तो अवस्थामा के गर्ने त ?

यस्तो अवस्थामा के गर्ने ?

हामीकहाँ बिहान–बेलुकी भरपेट खाना खाने चलन छ । यसरी खानुभन्दा पनि दुई घण्टाको अन्तरालमा थोरै थोरै खानेकुरा खाइरहनुपर्छ । एकै खालको खानेकुरा भन्दा पनि फरक फरक खानेकुरा खान सकिन्छ ।

आफुलाई मनपर्ने खानेकुरा नै खाने । यदि कुनै खानेकुरामा अरुची छ भने जबरजस्ती नखाने । यद्यपि, फलफूल, सागपात आदि चाहि थोरै थोरै भएपनि खाइरहने । यसैगरी ड्राइफ्रुट्स पनि थोरै थोरै खाइरहने । यसले वाकवाकी लाग्न कम पनि हुन्छ ।

जंकफुड, तारेको भुटेको आदि खानेकुरा संभव भएसम्म नखाने ।

खानाको कारणले वाकवाकी लाग्छ वाकवाकी कसरी रोक्ने ?
डा. कीर्तिपाल सुवेदी
लेखक
डा. कीर्तिपाल सुवेदी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ७८२२ एमबीबीएस, एमडी, स्त्रीरोग ओन्कोलोजीमा फेलोसिप ल्याप्रोस्कोपिक सर्जन, हाल भेरी अस्पताल नेपालगञ्जमा प्रसूति तथा  स्त्रीरोग वरिष्ठ  कन्सल्टेन्टको रुपम कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय