+

के मधुमेहबाट मुक्ति पाउन सकिन्छ ?

२०८२ कात्तिक  ३० गते १८:१४ २०८२ कात्तिक ३० गते १८:१४
के मधुमेहबाट मुक्ति पाउन सकिन्छ ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधुमेह रिमिशन भनेको रगतमा चिनीको स्तर ३ महिनासम्म औषधि नलिइकन सामान्य अवस्थामा रहनु हो, जुन टाइप–२ मधुमेहमा सम्भव छ।
  • टाइप–२ मधुमेहमा मुक्ति पाउन तौल घटाउनु मुख्य आधार हो र १०–१५ प्रतिशत तौल घटाउँदा मुक्ति सम्भावना बढ्छ।
  • मधुमेह रिमिशन स्थायी निको होइन, निरन्तर निगरानी र स्वस्थ जीवनशैली आवश्यक हुन्छ भने टाइप–१ मधुमेहमा मुक्ति सम्भव छैन।

आधुनिकरण, अस्तव्यस्त जीवनशैली र फास्टफुडको सजिलो पहुँचले मोटोपनको दर विश्वव्यापी रूपमै अत्यधिक बढ्दो छ । मोटोपनले शरीर भद्धा देखिने समस्या मात्र हुँदैन । यसले विस्तारै मधुमेह, उच्च रक्तचाप र अन्य दीर्घ रोगहरूलाई साथमा लिएर आउँछ ।

पहिले यो, टाइप–२ मधुमेहलाई मध्यम उमेरदेखि वृद्धावस्थाका व्यक्तिहरूको रोग हो भन्ने गरिन्थ्यो । तर अहिले यो भाष्य परिवर्तन हुँदै गएको देखिन्छ । अहिले क्लिनिकमा २५ वर्षका युवाहरू पनि मधुमेह लिएर आउँछन् । र, उनीहरूको पहिलो प्रश्न हुने गर्छ, यसबाट पूर्णरूपमा पाउन सकिँदैन ? दोस्रो प्रश्न, के जीवनभर औषधि खानुपर्छ ?

हालै विज्ञहरूले यी प्रश्नहरूलाई मध्यनजर गर्दै ‘मधुमेह रिमिशन’ भन्ने सिद्धान्त ल्याएका छन् ।

मधुमेह रिमिशन भनेको के हो ?

चिकित्सकीय भाषामा अहिले प्रचलनमा आएको शब्द हो, मधुमेह रिमिशन । रिमिशनको अर्थ हो, मुक्ति । कुनै रोग लागिसकेपछि केही समयका लागि त्यो सक्रिय नहुनु वा सामान्य अवस्थामा पुग्नु हो । मधुमेहमा मुक्ति भन्नाले रगतमा ग्लुकोजको मात्रा (ब्लड सुगर)को स्तर निश्चित समयसम्म मधुमेहको सीमाभन्दा तल झर्छ, र कम्तीमा ३ महिनासम्म कुनै पनि मधुमेह घटाउने औषधि नलिइकनै यो स्तर कायम रहनु नै ‘मधुमेह रिमिशन’ हो ।

टाइप–२ मधुमेह भएका केही व्यक्तिहरूका लागि यो सम्भव लक्ष्य बनेको छ । विशेषज्ञहरूले यसलाई प्रस्ट्याउन सावधानीपूर्वक प्रयोग गर्ने शब्द हो, मधुमेह ‘पूर्णनिको’ हुँदैन । बरु बिनाऔषधि लामो समयसम्म रगतमा चिनीको स्तर सामान्य स्तरमा राख्न सकिन्छ ।

तर, यसो भनिरहँदा दुई महत्त्वपूर्ण कुरा सम्झनुपर्छ । पहिलो, मुक्ति निको होइन । यो अवस्थामा पनि आधारभूत मेटाबोलिक कमजोरी कायमै रहन्छ, त्यसैले चिनीको स्तर फेरि बढ्न सक्छ । निरन्तर निगरानी र स्वस्थ जीवनशैली आवश्यक छ ।

दोस्रो, ३ महिना न्यूनतम समय हो । धेरै अध्ययनहरूले १ वर्ष, ३ वर्षसम्म ट्र्याक गर्छन् किनभने यो पूर्णजोखिम हुने सम्भावना हुन्छ । यसको नियन्त्रण गर्न ३ देखि ६ महिना महत्वपूर्ण हुन्छ ।

यसरी मुक्ति पाउन कस्तो अवस्थामा सम्भव हुन्छ ?

१.मधुमेहको सुरुको अवस्था

मधुमेह भएको केही महिना वा थोरै समय मात्रै भएमा सम्भव हुन सक्छ । जति छिटो रोग पत्ता लाग्यो, इन्सुलिन बनाउने कोषहरूमा स्थायी क्षति कम हुन्छ । निदान भएको पहिलो ५ वर्षलाई ‘स्वर्णिम अवधि’ मानिन्छ किनभने यसमा कोषहरूले आंशिकरूपमा काम गर्छन् । र, नियन्त्रण राम्रोसँग भएमा उमेर बढेसँगै हुने जटिलता कम गर्छ ।

२.एचबीए १ सी धेरै नभएमा

एचबीए१सी कम भएमा सामान्य स्तरमा आउन सहज हुन्छ ।

३.तौल नियन्त्रण

थोरै तौल घटाइले पनि सम्भावना बढ्छ । तर, रुपान्तरण नै हुने गरी तौल घटाएमा सामान्यस्तरमा आउन सक्ने सम्भावना अझ बढी हुन्छ । तौल घटाउनु लडाइँ जित्नु बराबर नै हो । किनकी, सबैभन्दा गाह्रो तौल ठिक अवस्थामा राख्नु हो ।

सुरुमा तौल चाँडै घट्छ, पछि शरीर नयाँ तौल अनुसारको खानामा परिवर्तन, उपवासको अवधि बढाउने र व्यायामले धेरै मद्दत गर्छ । मेटाबोलिक शल्यक्रिया (बेरियाट्रिक सर्जरी) गरेका व्यक्तिहरूमा पनि यो सम्भव देखिन्छ । अहिले नेपालमै पनि यो शल्यक्रिया नियमित रूपमा भइरहेको छ । यो शल्यक्रियामा हर्मोनल उपचारले तौल घटाइन्छ ।

तर, टाइप–१ मधुमेह भएकोहरूमा मुक्ति सम्भव छैन । किनभने, इन्सुलिन बनाउने कोषहरू पूर्णरूपमा नष्ट भइसकेका हुन्छन् । नयाँ इम्यून थेरापी र सेल–रिप्लेसमेन्ट अनुसन्धान भइरहेको छ तर अहिले मानक उपचार होइन ।

त्यसैले, अहिलेसम्म मुक्ति व्यावहारिक रूपमा टाइप–२ मधुमेहका बिरामीमा मात्र सम्भव छ ।

कसरी मुक्ति हासिल गर्ने त ?

तौल घटाउनु नै मुख्य आधार

तौल घट्ने मुख्य आधार खाना र जीवनशैलीमा परिवर्तन नै हो । टाइप–२ मधुमेह भएका जो कोहीले तौल घटाउँदा कलेजो र प्यांक्रियाजको बोसो कम हुन्छ, इन्सुलिन संवेदनशीलता बढ्छ र रगतमा चिनी सामान्य हुन्छ ।

१०–१५ प्रतिशत तौल घटाउने यस्ता कार्यक्रमले क्लिनिकल ट्रायल र वास्तविक जीवनमा मुक्ति देखाएको छ । अमेरिकन विथ डिजाबिलिटी एक्ट (एडीएचए) २०२५ गाइडलाइनका अनुसार ५ प्रतिशत तौल घटाउन सके मुक्तिको सम्भावना बढ्छ ।

व्यवहारिक रूपमा तौल नियन्त्रण हुँदा के काम गर्छ ?

चिकित्सकको निगरानीमा कम क्यालोरी डाइट लिने हो भने कलेजो र प्यांक्रियाजको बोसो छिटो घटाउँछ । इन्टरमिटेन्ट फास्टिङले पनि मधुमेह र तौल नियन्त्रणमा सकारात्मक प्रभाव पर्छ । किटो+इन्टरमिटेन्ट वा लो–कार्ब+इन्टरमिटेन्ट मिक्स गर्ने धेरै गर्छन् । यसरी तौल नियन्त्रणका लागि आहारविदको सिफारिस र सल्लाह भने लिनु उचित हुन्छ। किनकी, सबैको शरीर, जीवनशैली र रुचि फरक हुन्छ, त्यसका लागि व्यक्तिगत योजना चाहिन्छ ।

तौल नियन्त्रणका लागि जिम गरेर मात्र हुँदैन । तौल घटाउनका लागि व्यायाम १० प्रतिशत र खाना ९० प्रतिशत जिम्मेवार हुन्छ । तर तौल आधारित व्यायामले बढी क्यालोरी नष्ट पार्छ । मांसपेशीले बोसोभन्दा १.५ गुणा बढी क्यालोरी खपत गर्छ । तौल कायम राख्न मद्दत गर्छ ।

केही सहयोगी औषधिहरू

नयाँ औषधि जीएलपी–१ रिसेप्टर एगोनिस्ट (सेमाग्लुटाइड आदि) र ड्यूल एगोनिस्टको प्रयोगले पनि तौल घटाउँछन् । यद्यपि, यी औषधिहरू कति प्रभावकारी छन् भन्ने सतप्रतिशत भन्न नसकिने हुँदा नलिँदा नै राम्रो हुन्छ ।

मधुमेहबाट मुक्त अवस्था कति समय टिक्छ ?

तौल घटाइ वा शल्यक्रिया गरेर मुक्ति पाउने धेरैले वर्षौंसम्म कायम राख्छन् । तर, तौल बढेमा वा मेटाबोलिज्म बिग्रिए फेरि उही स्तरमा आउन सक्छ । तौल र स्वस्थ बानी कायम राख्नेहरूमा दीर्घकालीन नतिजा राम्रो हुन्छ । त्यसैले मुक्तिलाई ‘व्यवस्थित अवस्था’ भनिन्छ, स्थायी निको भने पार्दैन । अनि, यसमा नियमित निगरानी अति आवश्यक छ।

मुक्ति चाहने बिरामीका लागि केही उपाय

– आफूले उपचार लिएको चिकित्सकसँग छलफल गर्ने ।

-अनुभवी एन्डोक्राइनोलोजिस्ट र आहारविद्सँग सल्लाह लिने ।

-हाइकिङ ग्रुप, जुम्बा वा फुटसल जस्ता समूहमा जोडिनु उपयोगी हुन्छ ।

– निदानपछि जति चाँडो तौल घटाउने प्रयास गरियो, मुक्तिको सम्भावना उति बढी हुन्छ ।

– वास्तविक तौल घटाउने लक्ष्य राख्नुपर्छ । सामान्य स्वास्थ्यका लागि ३–७ प्रतिशतको लक्ष्य राखे पनि १०–१५ प्रतिशत भने घटाउने प्रयास गर्न सकिन्छ ।

– गहन डाइट प्रोग्राम, व्यवहार थेरापी, नियमित फलो–अप जरुरी हुन्छ । चिकित्सकको निगरानीमा क्यालोरी डाइट योजना तय गर्नु प्रभावकारी हुन्छ ।

– शल्यक्रियाको सम्भावना मूल्यांकन गर्नुपर्छ । अत्यधिक मोटोपनमा बेरियाट्रिक सर्जरीले सबैभन्दा उच्च मुक्ति सम्भावना दिन्छ । तर पोषण र अन्य जोखिमका लागि जीवनभर फलो–अप चाहिन्छ ।

– केही तौल घटाउने औषधि सहयोगी हुन सक्छन् तर मुक्तिका लागि तोकिएको अवधिसम्म औषधि बन्द गर्नुपर्छ ।

– दैनिक दश हजार पाइला हिँड्न नसक्नेले ४ हजारबाट सुरु गर्नसक्छन् । हरेक हप्ता १,००० थप्दै लान सकिन्छ । तौल हप्तामा एकपटक मात्र जाँच्नु राम्रो हुन्छ । दैनिक जाँच्दा अनावश्यक तनाव हुन्छ ।

मधुमेह
लेखक
डा.सन्दिप चन्द्र श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

के मधुमेहबाट मुक्ति पाउन सकिन्छ ?

के मधुमेहबाट मुक्ति पाउन सकिन्छ ?

फिजियोथेरापी सम्मेलन : ज्ञान, पहिचान र नेतृत्व निर्माणको आधार

फिजियोथेरापी सम्मेलन : ज्ञान, पहिचान र नेतृत्व निर्माणको आधार

नेपाल न्युरोसर्जन सोसाइटीको अध्यक्षमा डा. राजीव झा

नेपाल न्युरोसर्जन सोसाइटीको अध्यक्षमा डा. राजीव झा

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

अहिले २०-३० वर्षका युवामा किन देखिँदैछ मधुमेह ?

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

दुई डाक्टरको प्रेम, जब चारतारे होटलबाटै बिहे गर्नुपर्ने दबाब आयो

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?

५ वर्षमुनिका बालबालिकामा निमोनिया किन बढी खतरनाक ?