+

गर्भावस्थाको नवौं महिनामा के-के कुरामा ध्यान दिनुपर्छ ?

२०८० असोज  ९ गते १५:११ २०८० असोज ९ गते १५:११
गर्भावस्थाको नवौं महिनामा के-के कुरामा ध्यान दिनुपर्छ ?

गर्भावस्थाको नवौं महिना शिशु जन्मिने महिना हो । त्यसैले नवौं महिनासम्म आइपुग्दा गर्भवती महिलाको शरीरमा धेरै परिवर्तन आइसकेको हुन्छ ।

यसबेला पेट दुख्ने, बेलाबेलामा पेट कडा ढुंगा जस्तो हुने, थोरै पानी खाए पनि छिनछिनमा पिसाब लाग्ने तर थोरै पिसाब आउने जस्ता स्वास्थ्य समस्या आउँछन् । त्यस्तै पेटभित्र शिशुको हलचल पहिलाको भन्दा अलि कम हुने हुन्छ ।

गर्भवती महिलामा यसबेला आउने समस्या फरक-फरक हुन सक्छ । तर सामान्यतया नवौं महिनामा पेट ठूलो भएर ढाड दुख्ने समस्या, शिशुको टाउको तल आउने भएर हिंड्न अप्ठ्यारो हुने, भोक नलाग्ने, थोरै खाए पनि पेट टन्न हुने हुन्छ ।

गर्भवती महिलाले ख्याल गर्नुपर्ने कुरा

विशेषगरी यसबेला यौनांगबाट भिज्ने गरी पानी बग्ने, पानीसँगै रगत देखिने र शिशु पेटभित्र हलचल धेरै कम भएमा तुरुन्तै चिकित्सकलाई देखाइहाल्नुपर्छ ।

यतिबेला कुनै औषधि खानुपर्ने हुन्छ कि हुँदैन ?

गर्भावस्थामा नियमित आइरन र क्याल्सियमको औषधि नियमित खानुपर्ने हुन्छ । यसबाहेक गर्भवती महिलाको अवस्था हेरेर चिकित्सकले अन्य औषधि दिने गरिन्छ ।

दीर्घरोगको औषधि खाइरहेका महिलाले ध्यान दिनुपर्ने कुरा

विशेषगरी यसबेला चिकित्सकको निगरानीमा औषधिको सेवन गर्नुपर्छ । आफूखुसी औषधि सेवन गर्नुहुँदैन । किनकि दीर्घरोगको औषधि गर्भवती महिलाको अवस्थाअनुसार डोज थपघट वा परिवर्तन गर्नुपर्ने हुन सक्छ ।

दीर्घरोग औषधि खाइरहँदा गर्भको शिशुलाई कुनै पनि नकारात्मक असर गर्दैन । किनकि चिकित्सकले गर्भवती महिलाको अवस्था र रोगअनुसार औषधिको ए, बी, सी, डी र ई गरी वर्गीकरण गरेको हुन्छ । त्यही अनुसार औषधि दिइएको हुन्छ । त्यस्तै उच्च रक्तचाप कसैलाई पहिलेदेखि हुन्छ भने कसैले गर्भवती भइसकेपछि हुने गर्छ ।

गर्भावस्थामा दीर्घरोगको औषधि खाँदा के कुरामा ध्यान दिनुपर्छ ?

दीर्घरोगको औषधि खाने गर्भवती महिनाले चिकित्सकका निगरानीमा औषधि खानुपर्छ । किनकि कतिपय दीर्घरोगको औषधिले धेरै साइड इफेक्ट गर्न हुन्छन् भने कतिपय औषधि कम साइड इफेक्ट गर्ने हुन्छन् । त्यस्तै यदि गर्भावस्था महिलामा मधुमेह छ भने औषधिको सेवनसँगै गुलियो, चिल्लो, पीरो खानेकुरा कम खाने, खानेकुरा थोरै-थोरै तर छिनछिनमा खाइरहने मधुमेहलाई सन्तुलनमा राख्न सकिन्छ ।

गर्भावस्थामा कस्तो औषधि खानै हुन्न ?

गर्भावस्थामा खानै नहुने भन्ने औषधि कुनै पनि हुँदैन । बरु कुन प्रयोजनको लागि कुन औषधि खाने, कति मात्रामा खाने भन्ने हुन्छ । तर औषधि खाँदा चिकित्सकको सल्लाह भने लिनुपर्छ । आफूखुसी औषधि सेवन गर्दा जोखिम हुन सक्छ ।

गर्भावस्थामा कब्जियत भएमा के गर्ने ?

गर्भावस्थामा खानपान, शरीरमा पानीको कमीलगायत कारणले कब्जियत हुन सक्छ । यसबेला शरीरमा हार्मोन परिवर्तन भइरहनुका साथै नियमित आइरन र क्याल्सियमको औषधि खानुपर्ने भएकाले कब्जियतको समस्याले सताउन सक्छ ।

यस्तो अवस्थामा दैनिक हरियो सागपात, तरकारी, फलफूल, दाल प्रशस्त खाने, प्रशस्त मात्रामा फाइबर खानेकुरा खाने, नियमित व्यायाम गर्ने, खानेकुरासँगै प्रत्येक दिन कम्तीमा दुई लिटर पानी पिउन सकिन्छ । यस्तै उत्तानो सुत्नुभन्दा पनि कोल्टे फर्केर सुत्ने, धेरैबेर उभिएर नबस्ने यति सावधानीले पनि कब्जियत निको नभएमा औषधि प्रयोग गर्न सकिन्छ ।

सकेसम्म गर्भावस्थामा कब्जियत हुनै नदिनु राम्रो हुन्छ । त्यसका लागि चिल्लो, पिरो, अमिलो खानेकुरा नखाने, जंकफुडको सेवन नगर्ने, पानी प्रशस्त मात्रामा पिउने, फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्न सकिन्छ ।

(प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शर्मा काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत छिन् । उनीसँग अनलाइनखबरकर्मी रेणु त्वानाबासुले गरेको कुराकानीमा आधारित)

गर्भावस्था डा. ज्योत्सना शर्मा
लेखक
डा. ज्योत्सना शर्मा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय