+
+

संसदीय समितिमा पनि हाटा, न्यायाधीशको सुनुवाइमा पाँच सांसद

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:५१

२९ मंसिर, काठमाडौं । ‘माननीय प्रस्तावित न्यायाधिशले छोटो गरी जवाफ दिनुहोला । अन्यथा यहाँ मात्रै रहने खतरा छ’ सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइका क्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका सांसद रमेश लेखकले भने । यति भनेर उनी सिंहदरबारस्थित बैठक कक्षबाट बाहिरिए ।

नेकपा एमालेका सचेतक समेत रहेका समितिका अर्का सदस्य महेश बर्तौलाले ब्यङ्ग्य गरे, ‘यहाँ पनि जाने ल शुभयात्रा हजुरलाई ।’

त्यतिबेला सुनुवाइ समितिमा ६ जना सांसद उपस्थित थिए । लेखक हिँडेपछि बैठक पाँच जनामा सीमित भयो । सुरुमा समितिका १५ मध्ये १४ जना सांसद उपस्थित थिए । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठ भने अनुपस्थित रहे ।

श्रेष्ठसहित सुनुवाइ समितिमा एमालेका पदम गिरी, महेश बर्तौला, देवेन्द्र दाहाल, इश्वरी घर्ती सदस्य छन् । कांग्रेसका रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, ईश्वरी देवी न्यौपाने, जीवन परियार र रमेश जंग रायमाझी छन् ।

माओवादी केन्द्रका जनार्दन शर्मा र जगप्रसाद शर्मा छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पशुपति शमशेर जबरा, जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रकाश अधिकारी सदस्य छन् ।

शुक्रबार उपस्थित १४ जना सांसदमध्ये अन्तिमसम्म पाँच जना सांसद मात्रै रहेका हुन् ।

सुनुवाइमा अन्तिमसम्म बस्ने सांसदहरु हुन– एमालेका बर्तौला र घर्ती, कांग्रेसकी न्यौपाने र रास्वपाका अर्याल, माओवादी केन्द्रका जगप्रसाद शर्मा । पाँच जनामा जेष्ठ रहेकी न्यौपानेले समितिको सभापतित्व गरेकी थिइन् ।

पाँच जना सांसदकै बीचमा प्रस्तावित न्यायाधीश मुसलमानले आफूमाथि लागेका आरोपहरुको प्रष्टीकरण दिए । सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिए ।

कतिपय सन्दर्भमा न्यायाधीश मुसलमानले सांसदहरु तिरै प्रश्न तेर्साए । ‘सर्वोच्च अदालतमा मुद्दा थन्किएका छन् कसरी छिटो गर्ने होला ?’ भन्ने सांसदहरुको प्रश्नमा उनले जवाफ दिए, ‘सबै जिम्मेवार हुनुपर्छ । सुनुवाइमा पनि एक महिना लागिसक्यो । १० दिन छिटो गर्न सकेको भए एक डेढ सय मुद्दा फैसला गरिसकिन्थ्यो होला ।’

न्याय परिषदले मंसिर ५ गते सर्वोच्च अदालतको न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये दुई जनाको सुनुवाइ शुक्रबार भएको हो । पुस १ गते र पुस २ गते दुई/दुई जनाको सुनुवाइ गरेर निर्णय लिने समितिको कार्यतालिका छ ।

‘कसरी काम गर्नुहुन्छ ?’ भन्ने सांसदहरुको प्रश्नमा न्यायाधीश मुसलमानले ‘यसैगरी गर्छु’ भनी जवाफ दिए । यसलाई पुष्टि गर्न अनुभव सुनाए ।

न्यायाधीश मुसलमानका अनुसार मकवानपुरको एक ठाउँमा सडक निर्माण गर्दा जग्गा परेको भनी मुआब्जा दाबी गर्दै १९ जनाले निवेदन दिएका थिए । उक्त मुद्दा उनै मुसलमानले हेरेका थिए । फैसला गर्नु अगाडि उनी सम्बन्धित क्षेत्रमा पुगे र स्थानीयसँग कुरा गरे । त्यसबेला उनले सडकमा जम्मा ८ जनाको जग्गा पर्ने थाहा पाए । जग्गा पर्नेलाई मुआब्जा दिने बागमती प्रदेश सरकारको निर्णय पनि थियो । त्यसआधारमा उनले फैसला गरे ।

‘सडकमा जम्मा ८ जनाको जग्गा पर्दछ । बागमती प्रदेश सरकारको फलानो मितिको निर्णय अनुसार मुआब्जा पाउने ठहर्छ’, आफूले गरेको फैसला मुसलमानले सुनाए । यो अनुभव सुनाउँदै उनले मुद्दा हेर्ने न्यायाधीशको विवेक र क्षमतामा समेत कतिपय विषयहरु निर्भर रहने उल्लेख गर्दै सर्वोच्च अदालतमा काम गर्न चाहेको बताए ।

‘काम गर्ने मान्छे हुँ । काम गर्न पाउँछु जस्तो लाग्छ, यहाँहरुको काम गर भन्नुभयो (अनुमोदन भयो) भने’ समिति बैठकमा न्यायाधीश मुसलमानले भने । उनको रमाइलो प्रस्तुतिमा सांसदहरु निरन्तर हाँसिरहे । तर, हाँस्नेमा केवल पाँच जना मात्रै सांसद थिए ।

बिहान ११ बजे बोलाइएको सुनुवाइ समिति बैठक केही ढिलो गरी सुरु भएको थियो । सुरुमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश सुवेदीले आफ्नो कार्ययोजना राखिन् । उक्त कार्ययोजनामाथि आफ्ना प्रश्न राखेपछि सांसदहरु बाहिरिने क्रम सुरु भएको थियो ।

अर्का न्यायाधीश मुसलमानको कार्ययोजना सुनेर प्रश्न गर्दै थप सांसदहरु बाहिरिए । परिणाममा अन्तिममा पाँच जना सांसद मात्रै समितिमा रहन पुगेका हुन् ।

संघीय संसदमा हाजिर गर्ने टाप कस्ने हाटा प्रवृति रहेको भनी कुरा उठिरहेका बेला संसदीय समितिमा पनि देखा परेको यो गम्भीर विषय भएको बताउँछन् एमाले सचेतक महेश बर्तौला । सांसदहरुले आफ्नो काम र जिम्मेवारी के हो भन्ने बुझ्न नसक्दा वा बुझेर पनि बुझ पचाउँदा यस्तो भएको उनलाई लाग्छ ।

‘हाम्रो (सांसद)को प्राथमिकताहरु फरक फरक भए । मान्छेहरु भेट्ने, पार्टीको काम गर्ने, विकास निमार्णको काम गर्ने, भ्रमण गर्ने, आफन्तहरु, कार्यकर्ताहकहाँ पुग्ने हुँदा मूल जिम्मेवारी ओझेलमा परेको छ’, उनले अनलाइनखबरसँग भने ।

सांसदहरुको काम संसद चल्दा संसद र समिति चल्दा समिति हुनुपर्ने र सबै सांसदले यो ख्याल गर्नुपर्ने उनको राय छ । उनी थप्छन्, ‘जिम्मेवारी पूरा गर्न नसक्ने भए सक्दिनँ भनेर पन्छिनुपर्छ ।’

यो विषय पार्टीमा पनि जोडदार रुपमा उठाउने उनको भनाइ छ । ‘म हाम्रो दलमा पनि सिरियसली कुरा राख्छु । आइन्दा उपस्थित हुने र भाग्ने कुरा नहोस् भनेर राख्छु’, बर्तौला भन्छन्, ‘हाजिर गरेर भाग्छन भने त्यसको रेकर्ड राख्ने गरी काम गर्छु । आवश्यक भन्न पर्ने ठाउँमा पनि भन्छु ।’

तस्वीरहरू : चन्द्रबहादुर आले/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?