+
+

सत्यवती एकेडमीले जित्यो एलपीएलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १९:३३

३० मंसिर, काठमाडौं । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ।

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गर्‍यो ।

रोमाञ्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९.२ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो।

धनगढी स्पोर्ट्सको ब्याटिङमा बसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमर सिंह रौटेलाले २७ रन योगदान दिए पनि जितको लागि पर्याप्त भएन ।

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो । छैठौं विकेटको लागि बसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे ।

भुवनको विकेट पछि सातौँ विकेटको लागि बसन्तले अमर सिंह रौटेलासंग ४३ रन जोडे । अठारौं ओभरमा अभिषेक कोइरालाले अमर सिंह रौटेलाको विकेट लिंदै सत्यवतीलाई खेलमा फर्काए । लगत्तै ओभरमा तृत राज दासले बसन्त कार्की र दिपक चन्दको विकेट लिए।

जितको लागि अन्तिम ओभरमा १० रन आवस्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसंग १ विकेट बाँकी रहेको थियो। अन्तिम ओभर बलिङ गरेका सन्दिप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा २ रन दिएपछि तेस्रो बलमा विकास आग्रीको रुपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो ।

सत्यवतीको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ४ ओभरमा १५ रन खर्चिए। तृत राज दासले २ तथा फिर्दोस अन्सारी, सन्तोष कार्की र रञ्‍जित कुमारले १/१ विकेट लिए।

टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेट क्षतिमा १२६ रन बनाएको थियो ।

सत्यवतीको ब्याटिङमा पाँचौ नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे । फिर्दोस अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले समान १० रन बनाए ।

पावरप्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दीप रजाली र फिर्दोस अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे । आठौँ विकेटको लागि तृत राज र समीर कार्कीले अविजित ३६ रनको साझेदारी गरे।

धनगढी स्पोर्ट्स क्लबको बलिङमा दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २/२ विकेट लिए ।

बिजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृस्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए। कार्कीले ५ खेलमा १२ विकेट लिए। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफांटा ब्ल्याकबक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए। प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए।

विजेता खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले पुरस्कृत गरे ।

प्रतियोगितामा काठमाडौँ, रौतहट,  दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?