+
+

एमाले नेताले १८ दिने मध्यपहाड यात्रामा बुझेका १२ कुरा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १९:१५

१ पुस, काठमाडौं । झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी लोकमार्ग हुँदै हिंडेको नेकपा एमालेका लागि १८ दिने यात्राले ऊर्जा सञ्चार गरेको बुझ्न सकिन्छ । जुनै नेतालाई सोधे पनि एकैनासको जवाफ दिन्छन्— ‘जनता सरकारसँग आजित भएका रहेछन् । उनीहरूले एमालेलाई नै खोजेका रहेछन् ।’

त्यसपछिको तेस्रो वाक्य हो, ‘केपी ओलीकै नेतृत्व चाहेका रहेछन् ।’

यी त भए, नेपालका राजनीतिक नेतृत्वले गर्ने सर्वकालीन दावीहरू । कांग्रेस, माओवादी केन्द्र या राप्रपाले नै यस्ता अभियान चलाए पनि ‘जनता’ का नाममा अनेक जिकिरहरू चलिरहन्छन् । खासमा यो यात्राले एमालेको पार्टीपंक्तिलाई सिकायो चाहिं के ? पक्कै एमाले नेतृत्वले काठमाडौं फर्केर विश्लेषण गर्ला ।

१८ दिने मध्यपहाड यात्रा अभियानको मैजारो गर्दै चिवाभञ्ज्याङबाट फिदिम झर्दै गरेका विभिन्न नेतालाई अनलाइनखबरले पालैपालो फोन ग¥यो । उनीहरूलाई सोधिएका विभिन्न प्रश्नको जवाफमा हामीले जे पायौं, त्यसलाई यी बुँदाहरूमा सूत्रीकृत गरेका छौं ः

एक– भुइँतहसम्म दोहोरो कुराकानी : एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पहाडी यात्रा क्रममा देखिन्, शुभेच्छुक जनता नेतालाई आफ्नो घरमा लगेर बास बसाउन होडबाजी गरेको । उनीहरूले जमेर आलोचना गरे, सुध्रिन दबाब पनि दिए ।  शाक्य मात्रै होइन, अरू एमाले नेताले पनि मध्यपहाड यात्रामा अझै पनि आफ्नो दल र अरू ठूला पार्टीप्रति आकर्षण कायम छ भन्ने पाएको सुनाए ।

चुनावको माहोलमा लहर र कित्ता स्पष्ट हुने भए पनि अहिले चुनावको समय नभएकाले एमालेको शक्ति जाँच्न सहज भएको उनीहरू दाबी गर्छन् । ‘सच्चिन दबाब छ, पुरानै तरिकाले हुँदैन भन्ने गुनासो छ’ शाक्य भन्छिन्, ‘पहाडका जनताको भावना सुन्दा दुःखकष्ट र चाहनाहरू अझै नजिकबाट बुझ्न पाइयो ।’

दुई– सांस्कृतिक विविधताको स्वीकारोक्ति : देशमा सय बढी भाषा, जाति–समुदाय छन् भन्ने यथार्थलाई एमाले नेतृत्वले एकैनास स्वीकार गरेको छैन भनी आलोचना हुँदै आएको छ । एमाले नेताहरू सयौं खालका कला–गलासँग साढे दुई साताको छोटो समयमा एकैपल्ट साक्षात्कार हुन पाएको भन्दै खुसी व्यक्त गरिरहेका छन् । विगतमा एमालेमाथि पहिचानको तिखो विरोध गर्ने गरेको आलोचनाबीच देशभित्रको विविधतालाई स्थानीय ठाउँमै पुगेर नेताहरूले अनुभूति गरेका छन् ।

तीन– गाउँमा विकास, तर गाउँ रित्ता : एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो यात्रामा एकसाथ अनुभव गरेको यथार्थ हो– विकास पूर्वाधारहरूले प्रत्येक पहाडी गाउँ बस्न लायक बन्दै गए पनि घरहरू रित्ता बन्दै गएका छन् । पहिले विकास निर्माणको अवस्था कमजोर थियो, मान्छेहरूले सुगमता र सुविधाका लागि थातथलो छाड्नु स्वाभाविक थियो ।

हिजोआज गाउँमै सुविधा पुग्दा पनि बस्तीहरू रित्तो बन्दै जाने अवस्थालाई उनले सामान्य मान्न सकेनन् । ‘गाउँ कसरी जोगाउने, केटाकेटी पढ्ने स्कुलहरूलाई कसरी जीवन्त राख्ने भन्ने चुनौती खडा भएको रहेछ’ उनले भने, ‘यस अवस्थालाई लक्ष्य गरेर छिटो नीतिहरू बनाउनु पर्यो‍ ।’

चार– जलवायु परिवर्तनको टड्कारो असर : पहाडमा प्राकृतिक स्रोतहरूमा देखा परेको क्षयीकरण एमाले नेतृत्वले नजिकबाट महसुस ग¥यो । पानीका मूलहरू सुक्दै गएको, पहिरोले ठाउँठाउँमा चिरा पारेको, खोला नै साविकको बाटो छाडेर अन्तबाट मसिनो गरी बग्दै गएको, कहीं त सुक्न नै थालेको आफूहरूले पाएको नेताले बताए । किसानको जीवनमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अझै सक्रिय भएर काम गर्ने उनीहरूको प्रतिबद्धता छ ।

पाँच– सुन्तला मार्ग : एमाले अध्यक्ष केपी ओलीले खोटाङ र भोजपुरमा झोलाबाट सुन्तला बाँड्दै गरेको दृश्य यसपालिको यात्राको रमाइलो मध्ये एउटा थियो । खासमा सुदूरपश्चिम, कर्णालीदेखि पूर्वसम्म जहाँतहीं लटरम्मै सुन्तला फल्ने मौसममा एमाले नेतृत्व यात्रामा निस्कनु समयको संजोग थियो ।

उचित मूल्य र बजारको अभावमा किसानले कतै सुन्तला, कतै स्याउ, जुनार फालेका समाचार बेलाबखत आउने गरेको भए पनि आफैं गाउँलेसँग साक्षात्कार गर्दा नेतृत्वले सुन्तलाको मिठो स्वाद, अनि किसानका तिता भोगाइ एकैपल्ट चाख्न पायो ।

May be an image of 2 people

छ– खेती, जलस्रोत र पर्यटनको मध्यपहाड : स्थानीय बारीमा फलेका खानेकुरालाई खाजा–खानाका रूपमा खाँदै हिंडेको टोलीले धेरैखाले समुदायसँग भलाकुसारी गर्दै अघि बढ्यो । पहाडको खेती र पानीको धारिलो बहावबारे एमाले नेतृत्वलाई थाहा नहुने कुरो भएन । तर खेतीपातीका लागि भइरहेका व्यवस्थित पहलहरू, अनि पर्यटन र जलस्रोतको विकासका लागि भइरहेको योजनाबद्ध प्रयासबारे आफैंले गएर शीर्ष नेतृत्वले निरीक्षण गरे । ‘स्रोत प्रशस्तै भएर पनि सदुपयोग गर्न सकिएको रहेनछ’, नेतृ शाक्यको मूल्यांकन थियो ।

सात– बेरोजगारीको कहर : गाउँमा विकास निर्माणका पूर्वाधार पुगे पनि त्यसको लाभ लिने वर्ग उपस्थित छैन । कारण, रोजगारी र अवसर नभएपछि युवा पुस्ता कमाइका लागि बाहिरियो । त्यससँगै भएको आर्थिक उन्नतिले निष्क्रिय श्रमशक्ति अर्थात् बुढापाका र केटाकेटी पनि मधेश र काठमाडौंतिर सरे । उपमहासचिव ज्ञवालीको भनाइमा अब रोजगारी सिर्जना आफ्नो पार्टीको प्रमुख चासो हुनुपर्छ भन्ने भावना मध्यपहाड यात्रा क्रममा अझै बढ्ता पैदा भएको छ ।

आठ– सुशासनको आवाज : सत्ता गठबन्धनको समीकरणबीच स्थानीय तहमा बढ्ता पालिका र वडा जित्नेमा एमाले अग्रपंक्तिमै पर्छ । यसर्थ भ्रष्टाचार, अपारदर्शिताका प्रश्न उठ्दा केन्द्र र प्रदेशमा अरू दलहरूमाथि औंला उठे पनि एमाले स्थानीय तहमा छँदैछ । शीर्ष नेतृत्वले भलाकुसारीका क्रममा स्थानीय परियोजना निर्माणदेखि सामाजिक सुविधाहरूमा भएका पक्षपात र अनियमितताबारे प्रत्यक्ष सुन्न पायो । ‘अध्यक्षज्यू सभा–समारोहमा बढ्ता केन्द्रित भए पनि हामी त गाउँलेसँग कुरा गर्दै हिंडेका हौं’ पार्टीका एक नेताले भने, ‘सुशासन सम्बन्धी गुनासोहरू आएका छन्, हामी काठमाडौं फर्केर तीमध्ये कतिपय गुनासोलाई संघीय सरकारसँग दबाबमूलक रूपमा राख्छौं, कति गुनासाहरू चाहिं स्थानीय तहसम्म पठाउनुपर्ने भएको छ ।’

नौ– विकासमा भेदभाव : एमाले नेताहरूले प्रादेशिक र स्थानीय तहमा विकास निर्माणमा शक्ति र पहुँचका आधारमा नजिक–टाढा पार्ने गरिएको जनगुनासो सुनेका छन् । एक एमाले नेताका अनुसार मध्यपहाडी लोकमार्गलाई नै समेत विकासको असमान वितरणको शिकार बनाइएको पाएको सुनाए । ‘रुकुमबाट फुर्कोट आउने बाटोमा मान्छे नै नभएका ठाउँ हुँदै ५८ किमीसम्म तन्काइएको रहेछ’ ती नेताले बताए, ‘गाउँका साना परियोजनाहरूमा प्रशस्तै गल्तीहरू भएका छन् । यो सच्चिनुपर्छ भन्ने धारणा पाइयो ।’

दश– योजना निर्माणमा समन्वय छैन : एमाले उपाध्यक्ष विष्णु पौडेलले यो यात्रामा प्रष्ट अनुभूति गरे, विकास योजना निर्माणहरूमा सरकारी निकायहरूबीच समन्वय नहुनाका कारण आम मानिस मर्कामा छन् । भायडक्ट प्रविधिमार्फत अझै बलियो पुल तथा दीर्घकालीन टिक्ने सडकखण्ड बनाउन सकिने सम्भावना रहे पनि पहाडका बाटाहरूमा खन्नुपर्ने सडक र पुल निर्माणमा निकायहरूबीच समन्वय नहुँदा नागरिकलाई असुविधा भएको उनको भनाइ छ । ‘बाटोको अलाइनमेन्ट मिलाएको भए, अनि पुल निर्माणमा ध्यान दिन सकेको भए साढे १८ सय किमीको मध्यपहाडी बाटोलाई १३ सय किमी जतिमा झार्न सकिनेथियो’, पौडेलले सुनाए ।

एघार– मध्यपहाडी बाटोकै पुनर्निर्माण : यसको समाधान पौडेल आफैंले सुझाए । आवश्यकता हेरेर सुरुङ मार्ग निर्माण गर्न सके पाँचथर इलामको मान्छे अझै सहज ढंगले बैतडी दार्चुला पुग्नसक्ने भन्दै पौडेल त्यसका लागि निकायहरूबीच समन्वयको खाँचो औंल्याउँछन् । ‘कतिपय ठाउँमा फेरि बनाएर डबल लेनमा लोकमार्ग स्तरोन्नति गर्न सकिन्छ । कतिपय ठाउँमा सुरुङमार्ग बनाऔं’ उनले भने, ‘त्यसो गर्न सक्दा मध्यपहाडी बाटो, जसका कतिपय भाग छुट्टाछुट्टै स्थानीय आवश्यकतामा बनेका छन्, तिनलाई समेत नयाँ र बलियो स्वरुपमा पुुनर्निर्माण गर्न सकिन्छ ।’

बाह्र– जनतासँग नटाढिन खबरदारी : जनताको बहुदलीय जनवादमार्फत संसदीय राजनीतिलाई नीतिगत रूपमै सकारेको एमाले चुनावदेखि चुनावसम्म केन्द्रित हुने गरेको कारण अरू समय मतदाता र नागरिकबाट टाढिएको गुनासो सुन्दै हिंड्यो । कतिपय गाउँलेले भनेछन्, ‘चुनाव नभए पनि तपाईंहरू आउनुहुँदोरहेछ ।’ यो भनाइलाई प्रशंसा माने पनि भयो, व्यंग्य माने पनि ।

एक नेताले भने, ‘अरू पार्टीको कुरा मात्रै भएन, एमालेकै प्रतिनिधि पनि चुनाव जितेर वा हारेरै पनि जनताको दैनिक जीवनसँग जोडिन अपेक्षा गरिए जति नसकेको गुनासो धेरै नै सुन्नुपर्‍यो । अब यसलाई समेत सम्बोधन गर्ने गरी पार्टीमा छलफल गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?