+
+

ललितपुर महानगरमा सुरु भयो स्वास्थ्य बीमा

अमृत चिमरिया अमृत चिमरिया
२०८० पुष २ गते २१:२५

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ ।

महानगरको १०५ औं स्थापना दिवसको अवसरमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपा‌ंगता भएका रवि श्रेष्ठ र अपेक्षा तिमल्सिनालाई स्वास्थ्य बीमाको विद्युतीय कार्ड हस्तान्तरण गरेर कार्यक्रम सुरु गरेका हुन् ।

७१ हजार घर परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने महानगरको लक्ष्य छ । यसका लागि नागरिकको घर–घरमा पुग्ने गरी अभियान चलाइनेछ । वडाले सिफारिस गरेकाहरुलाई बीमा बोर्डले अभिमुखीकरण तालिम दिने र उनीहरुमार्फत २९ वटै वडामा बीमा दर्ता सुरु गर्ने योजना छ ।

‘हामीसँग भएको सबै घर परिवारलाई स्वास्थ्य बीमाको सेवा दिन्छौं’, मेयर चिरिबाबु महर्जनले भने, ‘स्वास्थ्य बीमालाई प्रोत्साहन गर्न आगामी वर्षको बजेटमा पनि राख्छौं ।’

बीमा बोर्डकी सूचना अधिकारी कँडेलका अनुसार ५ जनाको परिवारले बार्षिक ३ हजार ५०० रुपैयाँ बुझाएपछि स्वास्थ्य बीमामा दर्ता हुन पाइनेछ । पाँच जना सदस्यलाई एक परिवार मानेर बीमा सेवा सुरु हुन्छ, त्यसपछि थप हुने हरेक सदस्य बराबर ७०० रुपैयाँ थप्नुपर्छ ।

मेयर महर्जनका अनुसार स्वास्थ्य बीमामा सहभागी हुँदा लाग्ने रकम बीमा गर्ने परिवारले नै तिर्नुपर्छ । बीमा कार्यक्रममा स्थायी बासिन्दासँगै अस्थायी बासिन्दा पनि सहभागी हुन सक्छन् ।

बीमितका लागि प्राथमिक अस्पतालका रुपमा छयाबहालमा रहेको समाज कल्याण परिषद् भवनमा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालनमा ल्याइएको छ । अहिले ओपिडी, ल्याब, फार्मेसी, एम्बुलेन्स लगायतको व्यवस्थापन गरेका छौं’, महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईंले भने, ‘१ फागुनदेखि पूण रुपमा सञ्चालनमा आउँछ ।’

स्वास्थ्य केन्द्रमा प्रत्येक दिन एक जना विशेषज्ञ डाक्टर हुनेछन् । बार अनुसार फरक फरक रोगका विशेषज्ञ डाक्टर उपलब्ध हुनेछन् । ‘बीमित सेवाग्राहीका लागि प्राथमिक उपचार सेवा स्वास्थ्य केन्द्रमा उपलब्ध हुन्छ’, उनले अगाडि भने, ‘यहाँ उपचार हुन नसके आवश्यकता अनुसार रिफर गरिन्छ ।’

स्वास्थ्य बीमा के–के पाइन्छ सुविधा ?

बीमा बोर्डकी सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमामा सहभागी हरेक परिवारले बर्षमा एक लाख रुपैयाँसम्म सरकारले तोकेको स्वास्थ्य उपचार सुविधा पाउँछ ।

५ जनाभन्दा बढी सदस्य भएमा प्रत्येक सदस्य थप हुँदा २० हजार सुविधा रकम थपिन्छ । र, बर्षमा अधिकतम २ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार सुविधा पाउने छ ।

बीमा बोर्डका अनुसार यो कार्यक्रममा साना किसिमका शल्यक्रिया समावेश हुन्छ । एक्स–रे, ईसीजी, अल्ट्रासाउण्ड, एमआरआई, सिटी स्क्यान, रगतको जाँच, लगायत ल्याब सेवाहरु उपलब्ध हुन्छन् । स्वास्थ्य बीमा बोर्डले तोकेको सूचीकृत औषधि निःशुल्क प्राप्त गर्न सकिन्छ भने, क्याबिन बाहेकको बेडका लागि शुल्क लाग्दैन ।

७५० स्थानीय तहमा पुग्यो, काठमाडौंमा बाँकी

ललितपुर महानगरपालिका थपिएसँगै स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने स्थानीय तहको संख्या ७५० पुगेको छ ।

काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, नागार्जुन नगरपालिका र बुढानिलकण्ठ नगरपालिका बाहेक सबै स्थानीय तहमा स्वास्थ्य बीमा सुरु भएको स्वास्थ्य बीमा बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिइन् ।

१ जेठ २०७३ बाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा हाल देशभरका ७४ लाख जना बीमित छन् । ‘स्वास्थ्य बीमाका सक्रिय लाभग्राही भने करिब ४७ लाख छन्’, उनले भनिन्, ‘पहिलो चरणमा बीमा गरेर नवीकरण नगर्ने धेरै हुँदा सक्रिय लाभग्राही बीमितको संख्याको तुलनामा निकै कम भएको हो ।’

उपत्यकामा स्वास्थ्य बीमा कार्यक्रम ढिलो सुरु हुनुमा स्थानीय तहकै समस्या बोर्डले देखाएको छ ।

‘स्वास्थ्य बीमा सुरु गर्नेको महत्वपूर्ण शर्तको रुपमा प्रथम सेवा बिन्दु एक हुन्छ । प्रथम सेवा बिन्दुलाई नै दिगो र भरपर्दो बनाउने जिम्मा स्थानीय तहकै हुन्छ’, कँडेलले भनिन्, ‘उपत्यकाका स्थानीय तहले प्रथम सेवा बिन्दु समयमै तोक्न नसक्दा स्वास्थ्य बीमा सुरु नभएको हो ।’

बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सुरुमा बीमालेख भर्ने बेला स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा विन्दु भनेर तोकिएका सेवा प्रदायक एउटा मात्र छनौट गर्नुपर्नेछ ।

उक्त सेवा प्रदायक स्थानीय तहले तोकेर र सम्बन्धित स्वास्थ्य केन्द्रले स्वीकार गरेको हुनुपर्छ । बोर्डका अनुसार विमितले अस्वस्थ हुँदा प्रथम सेवा विन्दुका रुपमा छनौट गरेको सेवा प्रदायकबाट पहिलो स्वास्थ्य सेवा लिनुपर्ने हुन्छ ।

आकस्मिकको हकमा सरकारले तोकेको अस्पतालहरुमा सुविधा लागु हुन्छ भने रिफर गरेको बिरामीका लागि प्रथम विन्दु तोकिएको केन्द्रले सिफारिस गर्नुपर्ने हुन्छ ।

ठूला शहरमा केन्द्रीय अस्पताल धेरै छन् । स्थानीय तहले पनि केन्द्रीय अस्पताललाई प्रथम विन्दु तोक्न चाहन्छन् । तर रिफरका बिरामीको चाप हुने भएकाले अस्पतालले मान्दैनन् । त्यही कारण ढिला भएको अधिकारीहरु बताउँछन् ।

ललितपुरका मेयर महर्जन पनि प्रथम विन्दुको सेवा केन्द्रको कारण ढिला भएको स्वीकार गर्छन् । ‘यहाँ निजी र केन्द्रीय अस्पतालमा सम्भव नभएपछि स्वास्थ्य प्रवद्र्धन केन्द्र बनाएर प्रथम विन्दु व्यवस्थापन गर्न लाग्दा समय लाग्यो’, उनले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?