+
+

ललितपुर घटना : रिसइबी र मदिरा सेवनका कारण हत्या

नारायण अधिकारी नारायण अधिकारी
२०८० चैत १२ गते २१:२०

१२ चैत, काठमाडौं। ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा दुई जनाको मृत्यु भएको घटना रिसइबी र मदिरा सेवनका कारण भएको खुलेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार मदिरा सेवनका क्रममा दुई समूहका युवाबीच सामान्य विषयमा विवाद सिर्जना हुँदा चक्कु हानाहान भएको र दुई जनाको मृत्यु भएको हो । हत्यामा संलग्नको आरोपमा प्रहरीले दुई समूहका गरी १८ जनालाई पक्राउ गरेको छ ।

ललितपुर परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले भने, ‘उनीहरुबीच ठूलो रिसइबी अहिलेसम्म केही देखिएको छैन । मात्रै एउटा समूहले अर्को समूहलाई हेप्ने र दबाउने गरेको भन्ने देखिएको छ, सामान्य रिसइबी भए पनि दुई समूह अत्यधिक मदिरा सेवनको गरेको अवस्थामा भेट भएपछि झडप भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

आइतबार राति दुई समूहका युवाहरु होलीमा रङ खेलेर राति खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेका थिए । सोही क्रममा उनीहरुले मदिरा सेवन गरेका थिए ।

राति १० बजेतिर भएको झडपमा पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको मृत्यु भएको थियो । मृतकहरु दुवै जना फरक फरुक समूहका रहेको एसपी सुवेदीको भनाइ छ ।

घटना भएको डी पोपिना खाजाघरका तीन सञ्चालकमध्ये एक विजय राई आइतबार घटना भएको बेला खाजाघरमै थिए । हत्यामा उनको  पनि संलग्नता देखिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले  बताए ।

‘अहिलेसम्मको अनुसन्धानबाट चक्कु प्रहार गर्ने मुख्य व्यक्ति नै होटल सञ्चालक विजय रहेको देखिएको छ’, एक अनुसन्धान अधिकृतले भने ।

कसरी सुरु भयो विवाद ?

रोबसको समूह राति मदिरा सेवन गर्न डी पोपिना खाजा घरमा पुगेको थियो । पुजन राईको अर्को समूह पहिल्यैदेखि मदिरा सेवन गरेर बसेको थियो । पुजनको समूहले रोबसको समूहलाई मदिरा सेवन गरेको बेला हेपेको र ‘घर जा’ भन्दै धकेल्न थालेपछि विवाद सुरु भएको देखिएको एसपी सुवेदीले बताए ।

विवाद भएपछि रोबसको समूहका युवाले ९ बजेर ५८ मिनेटमा रोबसलाई फोन गर्दै तत्कालै खाजा घरमा बोलाएका थिए । रोबस खाजाघरमा पुगेपछि दुई पक्षबीच झडप भएको प्रहरीको भनाइ छ ।

घाइतेलाई अस्पताल पुर्‍याएपछि खुल्यो घटना

छातीमा चोट लागेका रोबसलाई उपचारका लागि उनकै समूहले स्कुटरमा राखेर राति ११ बजेतिर पाटन अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएलगत्तै डाक्टरले उनलाई मृत घोषित गरेका थिए । त्यसपछि पाटन अस्पतालमै रहेका प्रहरीले रोबसलाई ल्याउने स्कुटर चालकलाई अस्पतालबाटै पक्राउ गरेर ललितपुर प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो । अर्का घाइते पुजनको भने तिघ्रामा चोट लागेको थियो र उनको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

उनी घरभित्रै ढलेको अवस्थामा ट्याक्सी बोलाएर सुमेरु अस्पताल पठाइएको थियो । अस्पताल पुर्‍याउनेबित्तिकै पुजनलाई लिएर जाने व्यक्ति भने फरार भएका थिए । पछि ट्याक्सी चालकको सहायतामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

रोबस घर बाहिर ढलेको र पुजन घरभित्रै ढलेको अवस्थामा आ-आफ्ना समूहको सहयोगीले अस्पताल लगेका थिए । दुवै जनाको शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

घटनाबारे जानकारी पाउनासाथ अनुसन्धानमा खटिएको टोलीले बिहानीपख साढे ४ बजेसम्म १८ जनालाई पक्राउ गरेको छ । उनीहरु सबैले मदिरा सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

स्थानीयसँग प्रहरीले सोधपुछ गर्दा कसैले पनि घटनाबारे जानकारी नभएको बताएका छन् । खाजाघर सँगैको अर्को सटरमा रहेका व्यक्तिले समेत घटनाबारे आफूहरुलाई केही जानकारी नभएको बताएका छन् ।

मोबाइल लोकेसन तथा कल डिटेल रिपोर्ट, सिसी टिभी फुटेज मार्फत प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

लेखकको बारेमा
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?