+
+

कुपण्डोलमा ललितपुर १० नम्बर वडाको सुविधासम्पन्न भवन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १९:३७

१२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले कुपण्डोलस्थित यून पार्क नजिकै सुविधा सम्पन्न १० नम्बर वडा कार्यालय भवन निर्माण गरेको छ ।

महानगरपालिकाले दुई आर्थिक वर्षको बजेटबाट १० महिनाको अवधीमा साढे ३ तल्लाको भवन बनाएको हो । गत आर्थिक वर्ष २०७९/०८० को फागुनबाट सुरु भएको भवन निर्माणको काम गत मंसिर मसान्तमा पूरा भएको हो ।

ललितपुर महानगरपालिकाले आन्तरिक स्रोतबाट दुई आर्थिक वर्षमा उपभोक्ता समिति मार्फत १ करोड २५ लाख रुपैयाँ बजेटमा भवन निर्माण गरेको महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाईँले जानकारी दिए ।

वडाध्यक्ष रविनमान व्यञ्जनकारका अनुसार २८ मंसिरमा वडा कार्यालय सरिसकेको छ । ‘वडा कार्यालयले धार्मिक अनुष्ठान गरेर सरेको हो । १ पुसदेखि वडा कार्यालय अन्तर्गत रहनेगरी राजस्व शाखा पनि आएको छ । औपचारिक उद्घाटन भने गरेको छैन तर सेवा सुरु भइसक्यो,’ व्यञ्जनकारले भने ।

ललितपुर महानगरपालिकाले बहाल कर सहित अन्य राजस्व वडामार्फत नै उठाउने भएपछि वडा कार्यालयमा राजस्व शाखा पनि आएको हो । वडाध्यक्ष व्यञ्जनकारले भन्छन् ‘अहिले सबैभन्दा तल्लो तलामा सेवाग्राहीहरुले पाउनुपर्ने अत्यावश्यक सेवा पाउँछन । दोस्रो तल्लामा वडाध्यक्ष, वडा सदस्यहरुको कार्यकक्ष छ । तेस्रो तल्लामा हल र किचेन छ । साना कार्यक्रम गर्न, न्यायिक काम र मेलमिलापको काम गर्न आफ्नै हल भएको छ ।’

१० नम्बर वडा सदस्य बाबुराजा महर्जनका अनुसार अहिले सेवा प्रवाहमा निकै सजिलो भएको छ । ‘साढे ३ तल्लाको भवन सेवाग्राहीमैत्री, अपाङ्गता मैत्री छ । खानेपानी र शौचालयको राम्रो सुविधा छ,’ महर्जनले भने ।

यसअघि १० नम्बर वडा कार्यालय हनुमानस्थानको फ्रेन्च क्लबको २ वटा कोठामा सञ्चालनमा थियो । ‘२ वटा कोठाबाट सञ्चालन गर्नुपर्दा एउटा कोठामा प्रशासनिक काम हुने गर्दथ्यो भने अर्को कोठामा जनप्रतिनिधिहरु खुम्चिएर बस्नुपरेको स्थिति थियो । अहिले निकै सजिलो भएको छ,’ महर्जन भन्छन् ।

उनले सेवाग्राहीहरु पनि वडा कार्यालय बनेपछि खुशी भएको सुनाए, ‘पहिले भीडभाड, हो–हल्ला हुने, सानो विवाद मिलाउन दिनभरी लाग्ने थियो अब सजिलो भएको छ, ठाउँ पनि शान्त छ ।’

वडा कार्यालयले बागमती नदी किनारमा रहेको यूएन पार्क छेउको जग्गामा पार्किङ समेत उपलब्ध गराएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?